काठमाडौँ- नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्। संविधानसभा सदस्यसमेत रहेका मल्ललाई प्रहरीले शनिबार ललितपुरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले मल्ललाई ललितपुर महानगरपालिका वडा नम्बर १४ बाट पक्राउ गरिएको जानकारी दिए।
उनलाई बलात्कारसम्बन्धी मुद्दामा छानबिन गर्न पक्राउ गरिएको मिश्रले बताए। ‘जबजरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो, उहाँ फरार हुनुहुन्थ्यो। शनिबार चापागाउँ दोबाटो सडकबाट नियन्त्रणमा लिएका हौँ।’
उनीविरूद्ध एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा मल्ललाई प्रहरीले पक्राउ गरेको हो। उनीविरूद्ध फागुन ५ मा उजुरी परेको थियो।
मुगुको सोरु गाउँपालिका–१० घर भई ५२ वर्षीय मल्ल हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका थिए।




