काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काे नवौं संस्करणमा पाँच रसियन फिल्म देखाइने भएको छ। नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको अवसरमा निफले रसियन फिल्म देखाउन लागेको हो।
निफले आठाैं सस्करणदेखि नै रसियन फिल्म डेज कार्यक्रमकाे सुरुवात गरेकाे थियाे। त्यसैको निरन्तरता स्वरुप ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रमअन्तर्गत यसपटक पाँच फिल्म प्रदर्शन गरिनेछ।
नेपाल र रुसबीच सांस्कृतिक आदानप्रदान र नेपाली फिल्मकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले ‘रसियन फिल्म डेज’ कार्यक्रम राखिएको निफका अध्यक्ष केपी पाठकले बताए।
उनले भने, ‘नेपाली दर्शक र फिल्मकर्मीले रिसियन चलचित्र, कला, प्रविधिबारे ज्ञान तथा त्यहाँका मेकरहरूसँग सम्बन्ध विस्तार गर्ने अवसर पाउनेछन् भनेर यो कार्यक्रम समावेश गरिएको हो।’
अध्यक्ष केपी पाठककाअनुसार निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रिसियन हाउसमा फिल्म ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द डिनो फ्यामिली’ र ‘अल रङ गर्ल’ प्रदर्शन हुनेछ।
अर्को एक रसियन फिल्म ‘द पोएट’ निफको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छ। याे सहित पाँच फिल्म भनिएकाे हाे। यो चैत २३ गते बिहान ११ बजे छाया सेन्टरमा प्रदर्शन हुनेछ। फिल्म लोकप्रिय रुसी कवि अलेक्जेन्डर पुश्किनको जीवनीमा आधारित छ। फिल्म फेलिक्स उमारोभले निर्देशन गरेका हुन्।
अन्य चार फिल्मकाे कथावस्तु कस्ताे छ ?
अगस्टः थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ। शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटना समेटिएको छ। फिल्मका निर्देशक इल्या लेबेदेव र निकिता वैसोत्स्की हुन्।
द च्यालेन्जः अन्तरिक्षको घटनामा बनेको फिल्म हो ‘द च्यालेन्ज’। फिल्म क्लिम शिपेन्कोले निर्देशन गरेका छन्। यो अन्तरिक्षमा छायांकन भएको पहिलो फिल्म हो। फिल्ममा एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहासिक कथामा समेटिएको छ। शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रिया फिल्मलाई रोचक बनाएको टिमको दाबी छ।
द डिनो प्यामिलीः एडभेन्चर र पारिवारिक जनरामा बनेको हो फिल्म ‘द डिनो प्यामिली’। फिल्ममा एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भिमकाय जनावरसँग गरेको द्वन्द्वको कथा प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक म्याक्सिम भोल्कोभ हुन्।
अल रङ गर्लः इभानोभा लेक्जान्ड्राले निर्देशन गरेको फिल्म हो ‘अल रङ गर्ल’। ‘बुलिङ’को मुद्दा उठाएको छ। १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ।
निफको नवौं संस्करण यही १९ चैतदेखि २३ सम्म हुनेछ। आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक १० विषयमा अन्तक्रिया कार्यक्रम रहेकाे छ।




