काठमाडौँ- संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण तथा सभाका प्रारम्भिक बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
मंगलबार सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको हालसम्मको तयारीबारे जानकारी दिँदै सचिवालयले शपथ तथा प्रारम्भिक बैठकहरू बहुउद्देश्यीय हलमा सञ्चालन गरिने जनाएको हो।
सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल अझै निर्माण सम्पन्न नभएकाले प्रारम्भिक चरणका सबै बैठकहरू बहुउद्देश्यीय हलमै बस्नेछन्।
त्यसका लागि सिट व्यवस्था, रोष्ट्रम, सभामुखको आसन, महासचिव, सचिव तथा सचिवालयका लागि आवश्यक स्थानको व्यवस्थापन भइरहेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनले बहुउद्देश्यीय हल नजिकै रहेको नयाँ भवनमा कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल तथा सभामुख बस्ने कोठाको समेत व्यवस्था गरिएको बताए।
प्रवक्ता गिरीका अनुसार नयाँ संसद् भवनको निर्माण प्रगतिलाई हेर्दा शपथपछि बस्ने पहिलो अधिवेशनका सबै बैठकहरू पनि बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको छ।
उनले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्दा केही प्राविधिक तथा व्यवस्थापकीय जटिलता देखिने भएकाले संसद् भवन निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निरन्तर अनुरोध गरिँदै आएको बताए।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते बहुउद्देश्यीय हलमै हुने संसद् सचिवालयले जनाएको छ।




