काठमाडौँ- भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको उद्घाटन समारोहमा उपस्थित हुने भएका छन्।
निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थितिमा नेपाल आउन लागेका हुन्। निफमा निर्देशक सिप्पीको भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जनाए।
‘यसपटक हामीले निर्देशक रमेश सिप्पीलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौं। उहाँले स्वीकार गर्नुभयो,’ पाठकले भने, ‘यसले नेपाली-भारतीय निर्माताहरूको सम्बन्ध विस्तार र जिग्गज व्यक्तित्वको अनुभवले नेपाली मेकरहरूलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्नेछ।’
रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन्। बलिउडमा काशेढुंगाका रुपमा साबित भएको फिल्म ‘शोले’उनकै निर्देशनमा बनेको हो ।
पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘सिम्ला मिर्ची’ सन् २०२० मा प्रदर्शनमा आएको थियो। उनी दर्जनौं फिल्मको निर्माता र केही फिल्ममा कलाकार बनेकासमेत छन्।
नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौँ हुँदैछ। आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक-फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रम गरिनेछ।




