काठमाडौँ- पश्चिम एसियाली मुलुक साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी दूतावास बन्द भएको छ। क्षेत्रीय तनावका कारण अर्को सूचना जारी नभएसम्मका लागि दूतावास सेवा बन्द गरिएको हो।
‘हामीले सबै नियमित र आपतकालीन कन्सुलर भेटघाटहरू रद्द गरेका छौँ,’ कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘दूतावास सामान्य सञ्चालनमा फर्किएपछि हामी सम्पर्क गर्नेछौँ।’
कुवेतको एक बन्दरगाहमा दुई दिन अघि इरानले आक्रमण गर्दा एक अमेरिकी कामदारको मृत्यु भएको थियो। अमेरिकी सेनाको सेन्टकमले सोमबार दिउँसो मृत्यु हुनेको संख्या बढेर ६ पुगेको घोषणा गरेलगत्तै उनीहरूले यस्तो निर्णयमा पुगेका हुन्।
साउदी अरेबियास्थित अमेरिकी दूतावासमा पनि इरानले ड्रोन आक्रमण गरेकाले अर्को सूचना जारी नभएसम्म दूतावास बन्द रहने जानकारी दिइएको छ। त्यहाँबाट पनि कुनै सेवा उपलब्ध नहुने भनिएको छ। भेटघाट र अन्य कुनै कन्सुलर सेवाहरू अमेरिकी दूतावासले उपलब्ध गराएको छैन।
अमेरिका र इजरायलले इरानमा हमला गरेपछि इरानले इजरायल र खाडीमा रहेका अमेरिकी दूतावास र हवाई शिविरमा आक्रमण थालेको छ। इरानले आक्रमण गरिरहँदा अन्तर्राष्ट्रिय विमानस्थल, होटल र वस्तीमा समेत बम खसिरहेका छन्। माानवीय क्षति न्यून रहेको भनिए पनि यो प्रकारको आक्रमणले खाडी मुलुकमा एक प्रकारको त्रास भने उत्पन्न भएको छ।
यो युद्धको असर विश्वका अन्य मुलुकमा पनि परिरहेको छ। उडान स्थगन, रोजगारी गुम्ने डर लगायत अधिक समस्याहरू देखिन थालेको छ। कैयन् अन्तर्राष्ट्रिय यात्रुहरू त्यही रोकिएका छन्।





