काठमाडौँ- जेनजी प्रतिनिधिहरूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दर्ता गराएका छन्।
आज जेनजी अगुवा अमित खनालाले आयोगको प्रतिवेदन फागुन २२ भित्र सार्वजनिक गर्नुपर्ने माग राख्दै सरकारलाई औपचारिक रूपमा ध्यानाकर्षण गराइएको जानकारी दिए। उनका अनुसार न्याय सुनिश्चितता, दण्डहीनताको अन्त्य र पीडितलाई न्याय दिलाउन दबाबस्वरूप निवेदन दर्ता गरिएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ७६ जनाको गैरन्यायिक हत्या तथा २ हजार २ सय १३ जना घाइते भएको घटनाको छानबिन गर्न उक्त आयोग गठन गरिएको थियो। तर आयोगको कार्यकाल पटकपटक थपिँदै जाँदा प्रतिवेदन सार्वजनिक हुन ढिलाइ भएको भन्दै आन्दोलनरत पक्षले असन्तुष्टि जनाएको छ।
भ्रष्टाचार निवारण र डिजिटल स्वतन्त्रताको मागसहित भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचन लगत्तै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनीहरूले सो प्रतिबद्धता कार्यान्वयन गर्न माग गरेका छन्।
यसअघि गठन भएका मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदन ओझेलमा परेको उदाहरण दिँदै जेनजी प्रतिनिधिहरूले कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरे पुनः आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।





