यी हुन् चुनावी परिवेश समेटिएका ५ नेपाली फिल्म

सुस्मिता बजगाईं १२ फागुन २०८२ १३:१९ | Tuesday, February 24, 2026
20
SHARES
यी हुन् चुनावी परिवेश समेटिएका ५ नेपाली फिल्म

काठमाडौँ- यतिबेला देश चुनावमय भएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार घरदैलोमा पुगेर जनतासँग मत मागिरहेका छन्। मतदाताहरूबीच पनि चुनावमा कसलाई जिताउने, किन भोट हाल्ने भन्ने विषयमा छलफल भइरहेको छ।

यही मौकामा नेपाली फिल्मकर्मीहरूले चुनावलक्षित राजनीतिक परिवेशमा बनेका फिल्म युट्युबमा धमाधम सार्वजनिक गरिरहेका छन्। यतिसम्म कि चुनावकै लागि भनेर हलमा लागेको दुई महिनामै फिल्म युट्युबमा अपलोड गरिएकाे छ।

हालै सामाजिक कथावस्तु र राजनीतिक परिवेशमा बनेको तीन फिल्म युट्युबमा आयो, ‘दिमाग खराब’, ‘झरीपछिको इन्द्रेणी’ र ‘सेन्टी भाइरस’। तीनवटै फिल्मले राजनीतिक विषय र चुनावको सन्दर्भ समेटेका छन्।  फिल्म हेरेर आम दर्शकले सही उम्मेदवार चयन गरून् भन्ने हेतुले फिल्म युट्युबमा सार्वजनिक गरेको निर्माण टिमले बताएका छन्।

फिल्मले दर्शकमा कस्तो असर पार्छ भन्ने कुरा  निर्वाचनपछि पक्कै थाहा पाइनेछ। यहाँ भने केही चुनावी परिवेश समेटिएकाे पाँच फिल्मबारे चर्चा गरिएकाे छ।

दिमाग खराब : निश्चल बस्नेतले निर्देशन गरेको फिल्म हो, ‘दिमाग खराब’। फिल्ममा एकातिर आर्थिक अवस्था न्यून भएका एक नागरिकको विदेश जाने सपनाको कथा जोडिएको छ भने अर्कोतिर राजनीतिक दलहरूको गतिविधि प्रस्तुत गरेको छ। समग्रमा एक सामान्य युवाको जीवन कथामा राजनीतिक प्रभावलाई देखाइएको छ। उक्त व्यक्तिको विदेश जाने सपनामा जब स्थानीय तहका मेयरसँगको ठगी प्रकरण अगाडि आउँछ, त्यसले उसको जीवनमा ल्याउने उतारचढाव पर्दामा प्रस्तुत गरिएको छ।

फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन्। निर्देशक बस्नेतसहित फिल्ममा अन्य कलाकार विजय बराल, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्कीलगायतले अभिनय गरेका छन्।

हलमा पनि फिल्मलाई दर्शकले रुचाएका थिए। माघ २३ गते युट्युबमा सार्वजनिक गरिएको फिल्मले ५६ लाख भ्युज बटुलिसकेको छ। दर्शकले कमेन्टमार्फत भोट हाल्नुअघि यो फिल्म हेर्न सिफारिस गरिरहेका छन्। आकाश बरालकाे कथा लेखन रहेकाे फिल्म २०८० सालमा हलमा लागेको थियो।

सेन्टी भाइरस : हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणमा सहयोगका लागि भन्दै बनाएको फिल्म हो ‘सेन्टी भाइरस’। फिल्मले हलमा राम्रो व्यापार गर्न सकेन। युट्युबमा रिलिज भएपछि दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। फिल्ममा चुनावले एक परिवारमा ल्याउने राजनीतिक प्रतिस्पर्धा देखाइएको छ। पतिपत्नीमध्ये एक जना एउटा दल र अर्काे अर्को दलको पक्षमा उभिँदा पारिवारिक सम्बन्धमा आउने उतारचढाव र सामाजिक परिवेशलाई फिल्ममा चित्रण गरिएको छ।

यही कथालाई फिल्ममा हास्यशैलीमा प्रस्तुत गर्दै राजनीतिमा हुने चलखेल र सामाजिक दायित्वलाई बुझाउन खोजेको देखिन्छ। साथै निर्वाचनअघि घोषणा गरिएका गाउँ विकासका आश्वासन चुनाव जितेपछि नेताहरू कसरी बदलिन्छन् भन्ने पनि देखाइएको छ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ मुख्य भूमिकामा छन्। साथै दयाहाङ राई, विल्सन विक्रम राई, वसन्त भट्ट, बुद्धि तामाङ, सन्दीप क्षेत्रीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्म २०७६ सालमा हलमा प्रदर्शन भएको थियो। फिल्मकाे कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।

छ माया छपक्कै : यो फिल्म पनि राजनीतिकसँगै सामाजिक विषयवस्तुमा केन्द्रित छ। फिल्ममा पानी अभाव भएको गाउँको कथा पर्दामा देखाइएको छ। कञ्चनपुरको घडेरीगाउँमा पानीको अभाव छ। पानी अभावकै कारण उक्त गाउँमा छोरी नदिने अर्को सामाजिक समस्यालाई पनि फिल्मले समेटेको छ। उक्त गाउँमा पानीको सुविधा दिने एजेन्डा बनाएर विभिन्न दलका उम्मेदवारहरू कसरी सत्तामा पुग्छन् भन्ने देखाउन खोजिएको छ।

कमेडी शैलीमा प्रस्तुत गरिएको फिल्ममा प्रेम प्रसँग पनि उपकथाका रूपमा जोडिएको छ। साथै फिल्ममा चुनावका लागि कार्यकर्ता भेला गर्ने, उम्मेदवार बन्नको टिकट बाँडफाँडको प्रक्रिया, चुनावको समयमा पार्टी परिवर्तनलगायतका विविध विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। साथै फिल्ममार्फत नेताहरूले जनताको कुरा र अभावका कुरा सुन्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ।

फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन्। फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, सुपुष्पा भट्ट, विष्णु सापकोटा, केकी अधिकारी, शिशिर बाङ्देललगायत कलाकारले अभिनय गरेका छन्।  फिल्म २०७६ सालमा प्रदर्शन भएको थियो।

नांगो गाउँ : शिक्षक नियुक्तिमा राजनीतिक चलखेलका विषयमा बनेको फिल्म हो ‘नांगो गाउँ’। फिल्मले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई मुख्य विषय बनाएको छ। फिल्मले विद्यालय स्तरमा हुने राजनीतिक विकृतिविरुद्ध एक शिक्षक कसरी राजनीतिमा प्रवेश गर्न बाध्य बन्छ भन्ने देखाउन खोजेको छ। जुन बेथिति अन्तिममा चुनाव लड्ने स्थितिसम्म पुग्छ।

फिल्ममा अभिनेता दयाहाङ राई (पासाङ) र शिशिर वाङ्देल (जरी लामा) बीचको चुनावी प्रतिस्पर्धा देखाइएको छ।  चुनाव जित्न विभिन्न सर्तहरू राखिँदै कथा अगाडि बढेको छ।  दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार मिरुना मगर, कर्मा शाक्य, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङलगायतले अभिनय गरेका छन्। फिल्म २०८० सालमा हलमा प्रदर्शन भएको थियो।

झरीपछिको इन्द्रेणी : अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म हो ‘झरीपछिको इन्द्रेणी’। फिल्मले चुनावी विषयवस्तुलाई प्रत्यक्ष रूपमा छोएको छैन। तर हालै युट्युबमा आएकाले चर्चामा छ। फिल्मले भ्रष्टाचार र सरकारी कार्यालयमा हुने गरेको बेथितिविरुद्ध आवाज उठाइएको छ।

फिल्ममा महानगरपालिकाका कर्मचारीले भ्रष्टाचार गर्न नपाएपछि मेयरलाई कसरी फसाउँछन् भन्ने मुख्य विषय छ। साथै फिल्मले युवा पुस्ताको विदेश मोह, देशमै केही गर्नुपर्ने सन्देश, बाबुछोराको सम्बन्धलगायतका कुरा समेटेको छ। फिल्मले भ्रष्टाचार र सरकारी कार्यालयमा हुने विकृतिविरुद्ध आवाज उठाएको छ।

फिल्ममा मेयरको भूमिकामा कलाकार गणेश उप्रेती छन्। कार्यालय सहयोगीदेखि अन्य कर्मचारीको भूमिकामा अर्जुन घिमिरे, रमेश उप्रेती, निर्मल शर्मा, विमोचन दवाडी, दीपाश्री निरौला, सरिता गिरी, जेसिका पोखरेललगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक घिमिरेले हलमा प्रदर्शन भएको दुई महिनामै फिल्म युट्युबमा रिलिज गरे। कथा समय सान्दर्भिक रहेको भन्दै निर्देशक घिमिरेले अहिले नै उपयुक्त समय लागेर युट्युबमा सार्वजनिक गरेको बताएका छन्।

फिल्म गत पुस ४ गते हलमा लागेको थियो। ५१ दिन मनाएको फिल्मले १ करोड २९ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको चलचित्र विकास बोर्डको बक्स अफिस विवरणमा उल्लेख छ।

कतिपयले यो फिल्म अहिलेका झापा ५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ को समर्थन गर्न युट्युबमा ल्याएको प्रतिक्रिया पनि दिइरहेका छन्। फिल्म पनि बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। फिल्मलाई दर्शकले देशको वास्तविक कथा र समय सान्दर्भिक विषयमा बनेको भन्दै सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

यसअघि पनि निर्वाचनको प्रसंगमा थुप्रै फिल्म बनेका छन्, जसले नेपाली बक्स अफिसमा राम्रो सफलता हासिल गरेका छन्। युट्युबमा पनि लाखौं भ्युज कमाएका छन्। ती फिल्महरूले शिक्षा, स्वास्थ्य, गरिबी र सामाजिक विकासको नाममा राजनीतिक दलहरूले कसरी जनतालाई झुक्याइरहेका हुन्छन् र त्यसकै अभावका कारण आम नेपाली विभिन्न अवसरबाट वञ्चित भइरहेका छन् भन्ने देखाउने प्रयास गरेका छन्। यस्ता फिल्महरू चुनावको समयमा झन् सान्दर्भिक लाग्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast