सिरहा : उखुबारीमा आगलागी, एक करोड बढीको क्षति

हिमाल प्रेस ४ फागुन २०८२ २०:२६ | Monday, February 16, 2026
8
SHARES
सिरहा : उखुबारीमा आगलागी, एक करोड बढीको क्षति प्रतिनिधिमुलक तस्बिर

सिरहा- लहान नगरपालिका-१३, घलेटोलमा आज (सोमबार) दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ।

प्रारम्भिक विवरणअनुसार आगलागीबाट स्थानीय २५ किसानको करिब एक करोड १६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार दिउँसो उखुबारीको मध्यभागबाट आगो सल्किएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन नदिइएको उनले बताए।

गोलबजार नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा करिब ४ घन्टापछि आगो पूर्ण रूपमा निभाइएको थियो। लहान नगरपालिकाबाट गएको बारुणयन्त्रको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजारबाट सहयोग मगाइएको थियो।

प्रहरीका अनुसार उखुबारीको मध्यभागबाट आगो सल्किएकाले कसैले चुरोट वा बिँडी पिएर ठुटो फालेको वा नियतवश आगो लगाएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

पीडित किसान रामलखन मण्डलले उखु बेचेर घरायसी खर्च र ऋण तिर्ने योजना रहेको दुःखेसो पोख्दै भने, ‘लागतसमेत डुब्यो, दोषी पत्ता लगाएर क्षतिपूर्तिसहित कारबाही हुनुपर्छ।’ अर्का किसान कपिलदेव यादवले उखुमा आगो लगाउने जोसुकै भए पनि किसानमाथि अपराध गरेको भन्दै कानुनी कारबाहीको माग गरे।

उनका अनुसार, उखु रोप्नुअघि र रोपेपछि मलखाद र सिँचाइ उपलब्ध हुँदा प्रतिकट्ठा औसत ३० देखि ३५ क्विन्टल उत्पादन हुन्छ। चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल ६२० र सरकारी अनुदान ७० गरी ६९० रूपैयाँ आम्दानी हुने गर्छ। यस आधारमा ३० बिघा क्षेत्रफलमा करिब १८ हजार क्विन्टल उखु जलेको अनुमान गर्दा क्षति एक करोड २४ लाख २० हजारसम्म पुग्ने देखिएको उनले बताए। रासस

प्रकाशित: ४ फागुन २०८२ २०:२६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast