इटलीसँग नेपालको हार, दबाबमा इंग्ल्यान्ड

हिमाल प्रेस २९ माघ २०८२ २०:०५ | Thursday, February 12, 2026
26
SHARES
इटलीसँग नेपालको हार, दबाबमा इंग्ल्यान्ड

काठमाडौँ- आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डविरूद्ध सानदार प्रदर्शन गरेर प्रशंसा बटुलेको नेपाली टोली इटलीविरूद्ध नराम्रो हार बेहोर्नुपर्‍यो। बिहीबार मुम्बईको बानखेडे स्टेडियममा इटलीले नेपाली टोलीलाई १० विकेटले पराजित गर्‍यो। इटलीलाई रोक्ने क्रममा नेपालका कुनै पनि बलरले विकेट निकाल्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका ब्याटरहरूको प्रदर्शन पनि निराशाजनक रह्यो। इंग्ल्यान्डविरूद्ध आक्रमक देखिएका नेपाली टोलीका ब्याटरहरू इटलीविरूद्ध निरीह देखिए। निर्धारित २० ओभरसमेत खेल्न नसकेको नेपालले जम्मा १२३ रनको योगफल खडा गर्‍यो। १९.३ ओभर खेलेको नेपालका तर्फबाट आरिफ सेखले सर्वाधिक २७ रन बनाए।

त्यस्तै आसिफ सेख २०, कप्तान रोहित पौडेल २३, दीपेन्द्रसिंह ऐरी १७ र करन केसीले १८ रन बनाए। नेपालले प्रस्तुत गरेको १२४ रनको झिनो लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गर्‍यो।

यो कीर्तिमानी जित इटलीका लागि अत्यन्तै महत्वपूर्ण सावित भएको छ। यसबाट उनीहरूको नेट रन रेटमा ठूलो सुधार आएको छ र समूह ‘सी’ को अंकतालिकाको स्थिति रोचक बनेको छ।

समूह ‘सी’ मा वेस्टइन्डिज दुई खेलमा दुई जितका साथ चार अंक जोडेर शीर्ष स्थानमा रहेको छ। उनीहरूको नेट रन रेट पनि बलियो छ। अहिले वेस्टइन्डिजको नेट रन रेट + १.६२५ रहेको छ। दुई खेल जितेर रन रेट बलियो बनाएको वेस्टइन्डिजले सुपर ८ मा स्थान लगभग पक्का गरिसकेको छ।

दोस्रो स्थानका लागि भने यो समूहमा कडा प्रतिस्पर्धा देखिएको छ। दोस्रो स्थानको दौडमा इंग्ल्यान्ड, स्कटल्यान्ड र इटली सामेल छन्। इटलीले नेपालमाथि फराकिलो जित निकाल्दै जारी विश्वकपमा आफ्नो खाता खोलेको छ। अब उसको दुई खेलमा २ अंक भएको छ र नेट रन रेट +०.३५२ पुगेको छ। यो प्रदर्शनसँगै इटलीले इंग्ल्यान्डलाई उछिन्दै तेस्रो स्थानमा कब्जा जमाएको छ।

स्कटल्यान्ड वेस्टइन्डिजसँग ३५ रनले पराजित भएको छ, तर इटलीलाई ७३ रनको फराकिलो अन्तरले हराएको छ। उनीहरूको पनि दुई खेलमा २–२ अंक छ। स्कटल्यान्डको नेट रन रेट +०.९५० रहेको छ। स्कटल्यान्ड अंकतालिकाको दोस्रो स्थानमा छ।

इंग्ल्यान्डले नेपाललाई मात्र ४ रनले हराएको थियो। तर, वेस्टइन्डिजसँग ३० रनको हार बेहोर्नुपरेको थियो। उनीहरूको पनि दुई खेलमा २ अंक छ। तर, इंग्ल्यान्डको नेट रन रेट –०.६५० मात्र छ। इंग्ल्यान्ड अंकतालिकाको चौथौँ स्थानमा रहेको छ। अंकतालिकाको पाँचौँ तथा अन्तिम स्थानमा नेपाल छ। उसको नेट रन रेट –१.८५४ रहेको छ।

सुपर ८ मा पुग्न इंग्ल्यान्डका सामु अब ठूलो चुनौती छ। उसले बाँकी खेलहरूमा इटली र स्कटल्यान्ड दुवैलाई हराउनैपर्नेछ। यदि यीमध्ये कुनै पनि एक टोलीले इंग्ल्यान्डलाई पराजित गरे, इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिन सक्छ।

प्रकाशित: २९ माघ २०८२ २०:०५ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast