पूर्वराजाको स्वागत गर्ने तयारीकै बेला त्रिभुवन विमानस्थलमा सरकारले लगायो निषेधाज्ञा

हिमाल प्रेस २९ माघ २०८२ ११:५९ | Thursday, February 12, 2026
12
SHARES
पूर्वराजाको स्वागत गर्ने तयारीकै बेला त्रिभुवन विमानस्थलमा सरकारले लगायो निषेधाज्ञा त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यन्त जरुरी सूचना जारी गरेर आगामी फागुन १ गते शुक्रबारबाट विमानस्थल र आसपासको क्षेत्रमा सभा, भेला, प्रदर्शनजस्ता गतिविधि गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार (फागुन १) गते झापाबाट फर्किंदै छन्। उनलाई र्‍यालीसहिन विमानस्थलबाट भव्य स्वागत गर्ने राप्रपाले तयारी गरेका बेला स्थानीय प्रशासनले विमानस्थल र आसपासका क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो। राजावादी समूहहरूले शाहलाई स्वागत गर्न तयारी गरिरहेका छन्।

निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।

बुधबार प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको निषेधाज्ञा आदेशमा भनिएको छ, ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ।’

निषेधाज्ञाको पूर्णपाठ :

मिति २०८२ भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलन पश्चात शान्ति सुरक्षाको अवस्थालाई सवल तुल्याउदै मुलुकमा प्रतिनिधि सभा सदस्यको निर्वाचनको वातावरण बनाउने कार्य भएको छ । भयरहित तवरबाट निर्वाचन सम्पन्न गर्न, नागरिकले निर्धक्क सँग स्वतन्त्रताको उपयोग गर्दै अभिमत प्रकट गर्ने अधिकार सुनिश्चित गर्ने ध्येयका साथ नेपाल सरकारका सम्वद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा मिति २०८२ फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र –यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवम् सूचनाहरू र सामाजिक सञ्जालका विषयवस्तुहरू प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस प्रकारका प्रदर्शन, –याली, भेलाजम्मा जस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्व स्वीकृति लिने कार्य नगरेको, निर्वाचन आचार संहिता लागु भईसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवम् साँस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रुपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवम् सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, यली, भेलाजम्मा हुने जस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न, नगराउन जानकारी गराइएको छ । निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिएको छ ।

ईश्वरराज पौडेल
प्रमुख जिल्ला अधिकारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast