काठमाडौँ- अभिनेता आकाश श्रेष्ठ फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा व्यस्त देखिन्छन्। विगत केही समययता उनी फिल्ममा केमियो भूमिकामा मात्र देखिन थालेका छन्।
पछिल्लो समय उनी फिल्म ‘हर्ष’ मा देखिएका थिए। यसअघि उनले ‘हिँड्दा हिँड्दै’, ‘तिमी सँग’, ‘सम्झना बिर्सना’, ‘राम कहानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘ड्रिम गर्ल’ लगायत फिल्मको मुख्य भूमिकामा अभिनय गरेका छन्।
अहिले भने उनको सातापिच्छे एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ। यसैबीच आकाश अभिनीत ‘तिम्रो स्पर्श’ बोलको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ।
भिडियोमा आकाश र अभिनेत्री करुणा श्रेष्ठ प्रेमिल जोडी बनेका छन्। भिडियो ‘भिमफेदी गाइज’ का निर्मल कुमार लामाले निर्देशन गरेका हुन्। भिडियो पवन सुस्लिङले छायांकन गरेका छन्।
रोमान्टिक गीत सुरज राज खत्रीले लेखेका हुन्। सुरजकै संगीत रहेको गीत उनले नै गाएका छन्।आरोह रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका निर्माता किरण आले मगर हुन्।
यस्तो छ गीत



