काठमाडौँ- राजधानी उपत्यकाकै भाग भए पनि विकासमा पछि परेको काँठ क्षेत्र हो काठमाडौँ निर्वाचन क्षेत्र नं १०। काठमाडौँ महानगरपालिकाले नछुने एकमात्र निर्वाचन क्षेत्र पनि यही हो। त्यसैले यसपटकको निर्वाचनमा स्थानीय ‘एजेन्डा’ बोकेर यस क्षेत्रको विकासका लागि स्थानीय नेता नै आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्।
पहिलाको निर्वाचनमा प्रायः सबै राजनीतिक दलहरुले आफ्नो दलका केन्द्रीय नेतालाई यस निर्वाचन क्षेत्रमा प्रतिनिधित्वका लागि पठाउने गरेकामा यसपटक भने त्यो प्रचलन तोडिएको छ। कीर्तिपुर नगरपालिका-५ मा जन्मी हुर्केर त्यहीँको स्थानीय जनप्रतिनिधिको अनुभव लिएका नेपाली कांग्रेसका हिमाल कार्की हुन् वा मजदुर आन्दोलनमा दशकौँदेखि सक्रिय चन्द्रागिरि इमाखेलका रैथाने एमाले नेता विनोद श्रेष्ठ वा नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपा जस्ता दलहरु सबैले स्थानीय नेतालाई रोजेका छन् आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा।
केही वर्षयता रास्वपाको ब्यानरमा आफ्नो राजनीतिक ‘करिअर’ अघि बढाइरहेका कीर्तिपुर-४ का स्थानीय प्रदीप बिष्ट, दक्षिणकालीका स्थानीय नेता राप्रपाका बलराम थापा र कीर्तिपुर नगरपालिका माइती र चन्द्रागिरी नगरपालिकामा घर भएकी नेपाली कम्युनिस्ट पार्टीकी रूपा महर्जन स्थानीय स्तरको राजनीति गर्दै यसपटक संघीय संसद् सदस्यको प्रतिस्पर्धामा उत्रिएका छन्। विनोद श्रेष्ठ र रूपा महर्जनसँग यसअघि संविधानसभामा समानुपातिकतर्फबाट सदस्य भएको अनुभव पनि छ।
क्षेत्र नं १० नेपालमा राजनीतिक आन्दोलनमा उल्लेखनीय योगदान गर्ने क्षेत्र भए पनि केन्द्रीय राजनीतिक वृत्तमा यसको प्रतिनिधित्व र चर्चामा भने अहिले पनि कमी नै रहिआएको छ। यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि विगतमा तीनपटकसम्म निर्वाचित कांग्रेसका राजेन्द्रकुमार केसी यसपटक उम्मेदवार बनेका छैनन्। उनी अहिले पार्टीका केन्द्रीय सदस्य छन्।
यसैगरी एमालेका उम्मेदवार विनोद श्रेष्ठलगायत यस क्षेत्रका नेताहरु केन्द्रीय सदस्यभन्दा माथि अर्थात् पार्टी पदाधिकारी तहमा पुग्न सकिरहेका छैनन्। त्यसैले पनि यहाँ स्थानीय उम्मेदवारी दिनुपर्ने माग पार्टीहरुभित्र उठेको थियो।
झन्डै चार दशकयता कीर्तिपुरमा बसेर राजनीतिशास्त्र प्राध्यापन गरिरहेका प्राध्यापक डा. प्रेमनारायण अर्याल परिणाम जे भए पनि स्थानीय नेताहरुको पहुँच केन्द्रतर्फ बढाउँदै जाने आकांक्षाले स्थानीय कार्यकर्ताहरुले टिकटका लागि दौडधुप गरेको बताउँछन्।
‘केन्द्रीय नेताका तुलनामा मतदातासम्म पुग्न र अन्तरक्रिया गर्न सहज हुने बुझाइका कारण पनि सबैजसो पार्टीमा स्थानीय उम्मेदवारको माग बढेको छ,’ उनको भनाइ छ।
भूगोल र जनसंख्याका दृष्टिले १० नम्बर क्षेत्र काठमाडौँकै सर्वाधिक ठूलो निर्वाचन क्षेत्र हो। यहाँ ९८ मतदान केन्द्र र मतदाता संख्या ८३ हजार ३०१ छ। यसमध्ये महिला मतदाताको संख्या ४२ हजार ७१६ अर्थात् ५१.२८ रहेको छ। यद्यपि, महिला उम्मेदवारको संख्या भने पाँच जनामात्र रहेको छ।
स्थानीय राजनीति गरेर अहिले संघीय संसद्का लागि उम्मेदवारी दिनेमा राप्रपाबाट बलराम थापा, नेमकिपाबाट विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाबाट अम्बरबहादुर पौडेल र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल पनि छन्। यसबाहेक श्रम संस्कृति पार्टीका धनबहादुर श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट भागरित साह र उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने पनि यस निर्वाचन क्षेत्रका लागि उम्मेदवार छन्।
स्वतन्त्र उम्मेदवारहरूमा पूर्णचन्द्र पौडेल, अनुज प्रधान, कविता पुडासैनी (अधिकारी), कुमार खाकी श्रेष्ठ, कृष्णकुमारी नेपाली, दीपकराज पाण्डे, देवकुमार श्रेष्ठ, विनोद बुढाथोकी, मीनबहादुर बुढाथोकी, राजकुमार गिरी र सुलोचना परियार रहेका छन्। उनीहरुमध्ये अधिकांश स्थानीय नै हुन्। उम्मेदवारहरु ५० वर्ष उमेर आसपासका नै बढी छन्।
यसपटक स्थानीयले मौका पाउनुको मुख्य कारण प्रायः सबै पार्टीभित्र स्थानीयलाई नै उम्मेदवारी दिनुपर्ने माग नै हो। यो क्षेत्रमा विसं २०४८ देखिका चुनावमा प्रायः केन्द्रीय नेताहरुलाई उठाइने प्रचलन जस्तै बनेको थियो। यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र पहिलो संविधानसभामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि निर्वाचित भएका छन्। भण्डारी उम्मेदवार बनेको तत्कालीन निर्वाचन क्षेत्र नं ५ अहिलेको कीर्तिपुर र चन्द्रागिरि क्षेत्र हो।
२०७०, २०७४ र २०७९ चुनाव लडेर नेपाली कांग्रेसका राजेन्द्र केसीले यो क्षेत्रमा ह्याट्रिक जित निकालेका छन्। संघीयता र गणतन्त्र कार्यान्वयनमा आइसकेपछि २०७४ सालमा भएको निर्वाचनमा केसीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित गरेर चर्चामा आएका थिए। माओवादीले अघिल्लो चुनावमा यो क्षेत्रबाट हितमान शाक्यलाई उठाएको थियो।
स्थानीय नेताहरु चुनावमा होमिएकाले हुनसक्छ चुनावी अभियानमा पनि स्थानीय विकासका आकांक्षाकै कुरा बढी उठेका छन्। जसमा तीनवटै नगरपालिका दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरिका प्राकृतिक र सांस्कृतिक संरक्षणसहितका विकासका एजेन्डा मुख्य छन्।
कांग्रेसका हिमाल कार्की समग्र क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन्। उनले संघीय संसद्मा क्षेत्र नं १० को जनभावनाअनुरुप नीतिनिर्माण गराउन भूमिका खेल्ने आफ्नो योजना रहेको बताए।
एमाले उम्मेदवार विनोद श्रेष्ठ क्षेत्र नं १० का सम्पदालाई संसारभर चिनाउने, विकसित पूर्वाधारमा श्रमजीवी वर्गको प्रतिनिधित्व र योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रत्येक नागरिकसम्म पुर्याउने प्रतिबद्धता बोकेर चुनावी मैदानमा होमिएको बताउँछन्।
रास्वपाका उम्मेदवार प्रदीप बिष्ट जेनजी आन्दोलनको मर्मअनुरुप सामाजिक र आर्थिक परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको बताए। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीकी रूपा महर्जन पनि जेनजी आन्दोलनकै मर्मअनुसार नीतिनिर्माण तहमा युवा नेतृत्वको आवश्यकतालाई पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउँछन्।
योपटक अधिकांश राजनीतिक दलहरुले अघिल्ला निर्वाचनहरुमा उम्मेदवार बन्ने मौका नपाएकालाई अघि सारेका छन्। रास्वपाका प्रदीप बिष्ट भने विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए।
कुनै समय वामपन्थी राजनीतिको बलियो स्थान मानिने यो क्षेत्रमा पछिल्ला तीनवटा आमनिर्वाचनमा कांग्रेसले विजय प्राप्त गरेको थियो। यस निर्वाचन क्षेत्रमा पर्ने तीनवटै नगरपालिका र वडामा पनि कांग्रेसकै बाहुल्यता भेटिन्छ।
यसअघिको अर्थात् विसं २०७९ को प्रतिनिधिसमा सदस्य निर्वाचनमा कांग्रेसका केसी १४ हजार ४६३ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेश केसीले ११ हजार ७९१ मत पाएका थिए।



