‘घाइते’ जोकोभिच र ‘भाग्यमानी’ रुब्लेभ अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

हिमाल प्रेस ९ माघ २०७९ १९:४२ | Monday, January 23, 2023
‘घाइते’ जोकोभिच र ‘भाग्यमानी’ रुब्लेभ अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

काठमाडौँ- चोट सहेर खेलेका नोभाक जोकोभिच चौथो चरणमा एलेक्स डे मिनाउरलाई पन्छाउँदै अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। सोमबार रोड लेभरमा जित दर्ता गरेपछि जोकोभिचको सुरुवाती प्रतिक्रिया दियो, ‘यो मेरा लागि सबैभन्दा राम्रो दिन हो।’

अस्ट्रेलियन ओपनको इतिहासमा सबैभन्दा सफल खेलाडी जोकोभिचले मिनाउरमाथि ६–२, ६–१, ६–२ को विजय हासिल गरेका हुन्। ३५ वर्षिय सर्बियन स्टारलाई खेल दौरान ‘ह्यामस्ट्रिङ’ को चोटले सताएको थियो। २२ औँ पटक ग्रान्डस्लाम जित्ने अभियानमा रहेका जोकोभिचले सेमिफाइनल प्रवेशका लागि अब आन्द्रे रुब्लेभको सामना गर्नेछन्।

रुसका रुब्लेभले आन्तिम आठमा स्थान पक्का गर्न डेनमार्ककका किशोर खेलाडी होल्गर रुनमाथि ६–३, ३–६, ६–३, ४–६, ७–६ (११/९) को संघर्षपूण जित दर्ता गरे।

‘आजको दिन असाध्यै सुन्दर रह्यो। यो जितको हकदार मेडिकल टिम पनि हो। फिजियो, भगवान सबैले साथ दिएका छन्। क्वार्टरफाइनल प्रवेश गर्नु केही जित्नु होइन। यसकारण अहिल्यै खुसीयाली मनाउन चाहन्न,’ जोकोभिचले भने।

यो ग्रान्डस्लाम जिते जोकोभिच विश्व वरीयताको शीर्षस्थानमा फर्कनेछन्। उनी पछिल्लो जुनयता शीर्षस्थानमा पुग्न सकेका छैन। १० औँ पटक अस्टे«लियन ओपन जित्ने दाउमा रहेका जोकोभिच ‘पेनकिलर’ खाँदै खेलिरहेका छन्। ‘जसरी भए पनि खेल्नुछ। दुखाइ कसरी कम गर्न सकिन्छ भनेर मेडिकल टिमसँग सल्लाह गर्नेछु,’ जोकोभिचले भने।

जोकोभिच १३ औँ पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेका हुन्। उनीभन्दा धेरै पटक क्वार्टरफाइनलमा पुग्ने खेलाडी तीन जना मात्र छन्। ती रोजर फेडेरर, राफाएल नाडाल र जोन न्युकोम्बे हुन्।

चारै ग्रान्डस्लाममा गरेर सर्वाधिक पटक क्वार्टरफाइनलमा पुग्ने खेलाडीको सूचीमा भने जोकोभिच दोस्रो स्थानमा छन्। जोकोभिच ५४ र फेडेररले ५८ पटक क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

रुनलाई परास्त गर्न पाँच सेटसम्म पर्खनु परेपछि रुब्लेभले आफू भाग्यमानी साबित भएको प्रतिक्रिया दिए। ‘आज म मानसिक रुपमा थकित भएँ। जित्न सजिलो भएन। पाँचौँ सेटको सुरुवातमा पछडि परे पनि पुनरागमन गर्न सफल भएँ। हुनसक्छ मलाई भाग्यले पनि साथ दियो। जसरी त्यसरी जितियो, अब रमाइलो गर्न क्यासिनो जान्छु,’ रुब्लेभले ठट्टा गर्दै भने।

रोड लेभर एरिनामा पूर्वजुनियर वल्र्ड च्याम्पियनलाई पराजित गरेका रुब्लेभ दोस्रो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्। १३ पटक एटीपी उपाधि जिते पनि उनी कुनै ग्रान्डस्लामको सेमिफाइनलमा पुग्न सकेका छैन।

प्रकाशित: ९ माघ २०७९ १९:४२ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast