काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट बेइमानी भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभा निर्वाचन सप्तरी क्षेत्र नम्बर ३ का उम्मेवारको रूपमा चुनावी अभियानमा रहेका यादवले विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन केवल सत्ताका लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यका लागि हुने बताए।
उनले देश र जनताको चाहनाअनुसार संविधान संशोधन वा पुनर्लेखन गरेर नयाँ पुस्ताको भविष्य सुरक्षित हुनुपर्ने उल्लेख गरे।
‘आजको नेपाल पुरानै संवैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय। राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानकोे अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ,’ उनले भने,‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समस्याहरूको समाधान गर्न संविधान संशोधन वा पुनर्लेखन गरेर देशलाई निकास दिनपर्छ।’
अध्यक्ष यादवले संघीयता र नयाँ पुस्ताको परिवर्तनको मागविरूद्ध कुनै सम्झौता नहुने बताए।



