‘सरकारले जनताको विश्वास जित्न सकेन’

हिमाल प्रेस १४ माघ २०८२ १७:४५ | Wednesday, January 28, 2026
30
SHARES
‘सरकारले जनताको विश्वास जित्न सकेन’ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न नसकेको बताएका छन्।

बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा उनीहरुले युवाहरुको भावनाअनुसार सरकार चल्न नसकेको र जनताको विश्वास समेत जित्न नसकेको बताएका हुन्। साथै उनीहरुले नागरिक सरकारमा गएका मन्त्रीहरुले निर्वाचनअगावै राजीनामा दिएर सुशासनको एजेण्डलाई लत्याएको आरोप समेत लगाएका छन्।

विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले अहिलेको सरकारलाई नागरिक सरकार भनिए पनि सरकारमा सहभागी मन्त्रीहरुले अपेक्षाअनुसार काम गर्न नसकेको बताए। उनले अर्कालाई नैतिक प्रश्न सोध्नेहरु जिम्मेवारीबाट भागेर जनताको विश्वासलाई तोड्ने काम भएको उल्लेख गरे।

त्यस्तै राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भन्ने सरकारका मन्त्रीहरुले बीचैमा सरकार छाडेर निर्वाचनको दायित्वबाट भागेको आरोप लगाए। यस्ता मान्छेहरु निर्वाचित भएर आए सुशासनको अपेक्षा गर्न नसकिने उनको भनाइ छ।

त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले संविधानलाई जोगाउनका लागि निर्वाचन गराउन सरकार प्रतिवद्ध देखिएको भन्दै धन्यवाद दिए। उनले जेनजी आन्दोलनको अपेक्षाअनुसार वर्तमान सरकारसमेत अघि बढ्न नसकेको उल्लेख गरे।

त्यस्तै अन्य सदस्यहरुले निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारलाई सुझाव दिएका थिए। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्त र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक माघ १९ गते सोमबार बोलाइएको छ।

प्रकाशित: १४ माघ २०८२ १७:४५ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast