काठमाडौँ- नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णय गरेका छन्।
कांग्रेससम्बन्धी निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन र पार्टी विधानविपरीत रहेको दाबी गर्दै खड्कासहितले माघ ४ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।
खड्काले भने,‘अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुन्छ भन्ने मेरो स्पष्ट दाबी छ। यस्तो कार्यसमितिको निर्णय र हस्ताक्षरबाट जारी हुने टिकट लिएर उम्मेदवार बन्नु मेरो जीवनभरको राजनीतिक मूल्यमान्यता र नैतिक अडानको प्रतिकूल हुन्छ।’
उनले पार्टीका नेताहरू र आम मतदाताको माया, भरोसा र विश्वास हुँदाहुँदै पनि उम्मेदवार नउठ्ने निर्णय गर्नुपरेको बताएका छन्। ‘पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु,’ उनले भने।
यस निर्णयबाट पार्टी पंक्ति र मतदाताको भावनामा चोट पुग्न सक्ने स्वीकार गर्दै उनले क्षमायाचना समेत गरेका छन्। ‘यस निर्णयले पार्टीका साथीहरू र आम मतदाताको भावनामा प्रतिकूल असर पर्न सक्ने भएकाले सबैसँग क्षमा माग्न चाहन्छु,’ खड्काको भनाइ छ।
उनले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न अपिल पनि गरेका छन्।



