काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा नेताहरूको जिल्ला र निर्वाचन क्षेत्र परिवर्तन गर्ने क्रम बढेको छ। यसरी क्षेत्र परिवर्तन गर्नेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बढी छन्।
केही एमाले नेताले पनि आफ्नो पुरानो क्षेत्र परिवर्तन गर्न चाहेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता माघ ६ गते हुनेछ।
निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि छन्। प्रचण्ड पहिलोपटक २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन चुनाव लडेका थिए। त्यति बेला उनी काठमाडौँ निर्वाचन क्षेत्र १० र रोल्पाा २ बाट निर्वाचित भएका थिए।
२०७० मा पनि उनी दुई ठाउँबाट चुनाव लडे। २०६४ मा निर्वाचित भएको काठमाडौँ १० भने उनलाई फापेन। कांगेसका राजन केसीसँग पराजित भए। यद्यपि उनी उक्त वर्ष सिरहा ५ बाट निर्वाचित भए। उनीमाथि त्यति बेला सिरहा ५ मा धाँधली गरेर चुनाव जितेको आरोप लागेको थियो।
प्रचण्ड २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ मा पुगे। चितवन उनको गृहजिल्ला हो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा २ बाट निर्वाचित भएका थिए। उनले दोहो¥याएको निर्वाचन क्षेत्र काठमाडौँ-१० मात्रै हो।
प्रचण्डले यसपालि पनि नयाँ जिल्ला रोजेका छन्। उनले अघिल्लो शनिबार आफू रुकुम पूर्वबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्। ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुम चुनाव लड्ने निश्चित भएको छ। पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला,’ उनले भनेका थिए।
यसअघि पनि हरेक निर्वाचन क्षेत्रमा आश्वासन बाँडेका प्रचण्डले पूर्वी रुकुमका मतदातालाई पनि अनेक आश्वासन बाँडे। पश्चिम रुकुमका जनताको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।
उनले भने, ‘विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउनेछु। रुकुमका जनताका दुःखसुखामा एकाकार हुनका निम्ति आउनेछु।’ यसपटक प्रचण्ड चुनाव लड्न रुकुम पुग्नुपर्ने विभिन्न कारण छन्। तर उनका लागि यो ठाउँ नयाँ हो। माओवादी नेताहरू प्रचण्ड राष्ट्रियस्तरका नेता रहेकाले नयाँनयाँ ठाउँमा चुनाव लड्ने गरेको दाबी गर्छन्। तर उनका आलोचकहरू भने ‘सेफ’ ठाउँको खोजीमा प्रचण्ड नयाँ गन्तव्यमा पुग्ने गरेको टिप्पणी गर्छन्।
रुकुमपूर्व देशकै ‘कान्छो जिल्ला’का रुपमा चिनिन्छ। प्रदेश विभाजन गर्दा रुकुम विभाजन भयो। रुकुम पूर्व लुम्बिनी र रुकुम पश्चिम कर्णाली जिल्लामा पर्छ। भौगोलिक र स्थानीय तहका आधारमा यो नेपालकै सानो जिल्ला हो।
जिल्लामा तीन स्थनीय तह (पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिका) छन्। जिल्लाको क्षेत्रफल ५६० वर्ग किमि छ। यो जिल्लाभन्दा ठूला त स्थानीय तह छन्। नेताहरूका अनुसार सानो र माओवादी द्वन्द्वरत क्षेत्र रहेकाले पनि प्रचण्ड रुकुम पूर्व तानिएका हुन्।
पत्रकार उजिर मगरका अनुसार द्वन्द्वको प्रभावका कारण यो जिल्लामा माओवादीको साख अझै बाँकी छ। उनले भने, ‘यसैले पनि प्रचण्ड रुकुम पूर्व पुगेका हुन्। प्रचण्ड रुकुम पूर्व तानिनुको अर्को कारण यसअघि स्थानीय तहमा समेत माओवादीको राम्रो मत आएको थियो। २०७९ को चुनावमा तीनैवटा स्थानीय तहमा तत्कालीन माओवादी केन्द्रले जितेको थियो।’
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती मगर १२ हजार २६२ मत सहित निर्वाचित भएका थिए। यो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर लडेका थिए। एमाले एक्लै लडेको थियो। एक्लै लडेको एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरेका थिए।
द्वन्द्वकालको उदय भएको क्षेत्र समेत रुकुम पूर्व हो। ‘रुकुम पूर्व द्वन्द्वको प्रभाव परेको क्षेत्र हो। अझै पनि जनता माओवादी आउनुपर्छ पनि भन्छन्। त्यही कारण प्रचण्ड रुकुम जान लागेका हुन्’, मगर भन्छन्।
प्रचण्ड कञ्चनपुर, रूकुम पूर्व, रोल्पा, गोरखादेखि सिन्धुलीसम्म प्रचण्ड उम्मेदवार सिफारिस भएका थिए। तर रूकुम पूर्व रोजे। पत्रकार मगर पत्रकार सुरक्षित रहन निर्वाचन क्षेत्र फेरिरहेको बताउँछन्। ‘राष्ट्रको नेता भनिए पनि सुरक्षित हुनकै लागि उहाँ (प्रचण्ड) फेरिरहनुपरेको छ। यसपटक पनि नयाँ दलको प्रभाव कम परेकाले रुकुम रोजेको हो’, मगर भन्छन्।
स्थानीय माओवादी नेता भने प्रचण्डले क्षेत्र फेर्नुको कारण जनताको माग रहेको दाबी गर्छन्। ‘यहाँका जनताको माग नै एकपटक जिल्लाले देशको प्रतिनिधित्व गरोस् भन्ने हो’, रुकुमपूर्वका नेकपा नेता केशव रावल हिमाल प्रेससँग भन्छन्, ‘क्रान्तिको भूमिबाट एकपटक देशको नेतृत्व गरौँ भन्ने चाहना पनि अध्यक्षज्यूमा भएको हो।’
रावलले भने प्रचण्ड सुरक्षित क्षेत्रको खोजीमा रुकुम नपुगेको बताउँछन्। ‘उहाँका लागि रुकुमभन्दा जाजरकोट सुरक्षित थियो। तर जनताका लागि उहाँ यतै आउनुभयो’, रावल भन्छन्, ‘द्वन्द्वमा प्रचण्डको अनुहार हेर्नसमेत जनता चाहन्थे। अहिले पनि बेपत्ता र द्वन्द्वरत जनताले प्रचण्डको माग गर्छन्।’




