काठमाडौँ- बागलुङ क्षेत्र नम्बर-२ लाई आफ्नो स्थायी चुनावी किल्ला बनाउँदै आएका नेपाली कम्युनिस्ट पार्टी नेता तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यस पटकको निर्वाचनमा भने क्षेत्र परिवर्तन गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि उनले नवलपरासी पश्चिम-२ बाट उम्मेदवारी दिएका हुन्। २०६४ यता लगातार जित्दै आएको क्षेत्रमा असुरक्षित भएपछि उनले नयाँ क्षेत्र रोजेका हुन्।
पौडेल २०६४ सालमा बागलुङ क्षेत्र नम्बर-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। त्यसपछि २०७० को दोस्रो संविधानसभा, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका उनी निरन्तर सांसदका रूपमा स्थापित नेता हुन्। २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी प्रमुख राजनीतिक सल्लाहकारसमेत बनेका थिए। त्यो समय पौडेललाई बाबुरामको ‘दायाँहात’ मानिन्थ्यो।
२०७२ असोज १७ गते बाबुरामले तत्कालीन एकीकृत माओवादी पार्टी परित्याग गरी ‘नयाँ शक्ति अभियान’ सुरु गर्दा पौडेल पनि केही समय बाबुरामसँगै लागे। त्यतिबेला नयाँ शक्तिबाट चुनाव जित्न सक्ने सीमित नेतामध्ये पौडेललाई एक भरपर्दो अनुहारका रूपमा हेरिएको थियो। बाबुराम र पौडेलबीचको सम्बन्ध लामो समय टिक्न सकेन। अन्ततः पौडेल माओवादी केन्द्रमै फर्किए।
पछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा बनेपछि पौडेल २०७४ सालको निर्वाचनमा बागलुङ-२ बाट पुनः निर्वाचित भए। पार्टी विभाजनपछि माओवादी केन्द्रमै फर्किएका उनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सचिवको जिम्मेवारी दिए। प्रचण्डसँग नजिकिँदै जाँदा पौडेलले आफ्नो राजनीतिक भविष्य सुरक्षित भएको ठान्दै आएका थिए।
माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन बनेपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि पौडेल बागलुङ-२ बाटै विजयी भए। सोही निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाइयो। बाबुरामसँग सम्बन्ध चिसिएका बेला बाबुरामलाई छाडेर आएका नेताहरूलाई मन्त्री पदको आश्वासन दिने प्रचण्डको रणनीतिबाट पौडेल पनि लाभान्वित भएको राजनीतिक वृत्तमा चर्चा थियो।
तर शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पौडेलको कार्यकाल विवादरहित रहन सकेन। नेपाल शिक्षक महासंघसँग भएको ५१ बुँदे सहमतिलगायत विभिन्न सम्झौता कार्यान्वयन गर्न नसकेको आरोप उनीमाथि लाग्यो। शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षक संगठन र मन्त्रालयका कर्मचारी तहबाट समेत उनी आलोचित भए। शिक्षा सुधारका ठूला नीतिगत पहल गर्न नसकेको भन्दै उनलाई ‘अवसर पाए पनि काम गर्न नसक्ने मन्त्री’ को रूपमा चित्रण गरियो।
पटकपटक सांसद, मन्त्री र पार्टी नेतृत्वमा रहे पनि बागलुङ-२ मा दीर्घकालीन विकास, रोजगारी सिर्जना वा ठोस परिवर्तन देखाउन नसकेको आरोप स्थानीयस्तरमै उठ्दै आएको थियो। यही पृष्ठभूमिमा अहिले फेरिएको राजनीतिक माहोलले पौडेललाई नयाँ र सुरक्षित क्षेत्र खोज्न बाध्य बनाएको विश्लेषण हुन थालेको छ।
विशेषतः जेनजी मतदाता, वैकल्पिक राजनीतिक शक्तिहरूको उदय र स्थापित दलहरूप्रति बढ्दो असन्तुष्टिका कारण आगामी चुनाव परम्परागत नेताहरूका लागि चुनौतीपूर्ण हुने आकलन गरिएको छ। यही कारण आफ्नो बलियो मानिएको बागलुङ-२ असुरक्षित ठानेर पौडेल नवलपरासी पश्चिम-२ पुगेको बुझाइ राजनीतिक वृत्तमा छ।
निरन्तर अवसर, सत्ता पहुँच र राजनीतिक संरक्षण पाउँदै आएका पौडेलको क्षेत्र परिवर्तनलाई कतिपयले स्वाभाविक राजनीतिक रणनीति मानेका छन् भने कतिपयले यसलाई जनतामाझ कमजोर हुँदै गएको विश्वासको संकेत का रूपमा व्याख्या गरेका छन्।
पटकपटक सांसद बने पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने काम गर्न नसकेको आरोपले पछ्याइरहेका पौडेलका लागि नवलपरासी पश्चिम-२ को चुनाव सहज हुने वा नहुने भन्ने प्रश्न आगामी निर्वाचनले नै उत्तर दिनेछ।



