नारायणकाजी झरे सर्लाही-३, पूरा होला त प्रत्यक्ष चुनाव जित्ने धोको?

हिमाल प्रेस ४ माघ २०८२ ११:३४
20
SHARES
नारायणकाजी झरे सर्लाही-३, पूरा होला त प्रत्यक्ष चुनाव जित्ने धोको? फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ उम्मेदवारका रूपमा फेरि चर्चामा आएका छन्। राष्ट्रिय राजनीतिमा लामो समय सक्रिय रहँदै आएका श्रेष्ठ अहिलेसम्म जनताबाट प्रत्यक्ष निर्वाचित हुन नसकेका कारण चर्चामा आएका हुन्।

गोरखा जौबारीका स्थायी बासिन्दा श्रेष्ठको निश्चित निर्वाचन क्षेत्र छैन। गोरखा-२ लाई आफ्नो आधार क्षेत्र बनाउने प्रयास गरे पनि उनी सफल हुन सकेनन्। सो क्षेत्रमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले तीनपटक चुनाव जित्दा श्रेष्ठ भने निर्वाचित हुन सकेका छैनन्। २०७४ सालको आमचुनावमा पनि उनी भट्टराईसँग पराजित भएका थिए।

२०६४ मा समानुपातिकबाट सांसद बनेका श्रेष्ठ २०७० मा मकवानपुर ४ बाट पराजित भएका थिए।

गोरखाकै भएर पनि श्रेष्ठको जिल्लामा सक्रिय उपस्थिति देखिँदैन। जिल्लावासीका अनुसार उनी विकास-निर्माणमा खासै अग्रसर देखिएका छैनन्। यद्यपि राजनीतिक रूपमा उनी सरल र शान्त स्वभावका नेताका रूपमा परिचित छन् र पार्टीको निर्णय तहमा प्रभावशाली भूमिकामा छन्।

श्रेष्ठ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर-२ बाट चुनाव लडे पनि एमालेका सुभासचन्द्र ठकुरीसँग पराजित भए। निर्वाचनमा एमाले-माओवादी गठबन्धन बलियो अवस्थामा रहे पनि उनी निर्वाचित हुन सकेनन्।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता भएपछि श्रेष्ठ तत्कालीन नेकपाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भए। गण्डकी प्रदेशबाट ३ हजार ४६२ मतभार प्राप्त गर्दै उनी राष्ट्रियसभामा पुगेका थिए।

पार्टी अध्यक्ष प्रचण्डको विश्वासमा राष्ट्रियसभा सदस्य बनेका श्रेष्ठ त्यसपछि गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री र परराष्ट्रमन्त्री बने। मन्त्रीका रूपमा उनले गरेका केही कामको प्रशंसा भए पनि राष्ट्रिय स्तरको नेताको हैसियत हुँदाहुँदै स्थायी निर्वाचन क्षेत्र बनाएर चुनाव जित्न नसक्नुले उनीमाथि प्रश्न उठ्ने गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बनेका छन्। पहाडबाट मधेश झरेका उनका लागि यो क्षेत्र सहज मानिँदैन। २०७९ को आमचुनावमा सो क्षेत्रबाट एमालेका हरि उप्रेती निर्वाचित भएका थिए भने माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार नरेन्द्र साह पराजित भएका थिए। एमालेले उक्त क्षेत्रमा हरि उप्रेतीलाई अघि सार्ने निर्णय गरेको छ। उक्त क्षेत्रमा उप्रेती यसअघिको चुनावमा निर्वाचित भएका थिए। अन्य दलले भने उक्त क्षेत्रमा उम्मेदवारी घोषणा गरिएको छैन।

श्रेष्ठ यसअघि पनि प्रत्यक्ष निर्वाचित नभई तीनपटक सत्तामा पुगेका छन्। श्रेष्ठ पहिलोपटक २०६७ साउन १६ गते झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए। त्यसपछि २०६८ भदौदेखि २०६९ चैतसम्म डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री भए। २०७९ पुस ११ गते पुनः उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री बनेका उनी चैत १७ गते गृहमन्त्री भएका हुन्।

२०६२/६३ को जनआन्दोलनसम्म १८ वर्ष भूमिगत जीवन बिताएका श्रेष्ठले २०३८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। २०४८ सालमा नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य बनेका उनी २०५१ सालमा महासचिव भए। माओवादी हिंसात्मक राजनीतिमा जाँदा श्रेष्ठ भने भूमिगत रूपमा पार्टी गतिविधि सञ्चालनमै रहे।

२०६५ सालमा माओवादीसँग पार्टी एकीकरणपछि उनी निरन्तर माओवादी धारमै सक्रिय छन्। एमाले-माओवादी एकतापछि बनेको नेकपामा प्रवक्ता तथा सचिवालय सदस्य बनेका श्रेष्ठ हाल नेपाली कम्युनिस्ट पार्टीमा छन्। पार्टीभित्रका यी पदमा पुग्न पनि उनले आन्तरिक निर्वाचन लड्नुपरेको छैन।

प्रकाशित: ४ माघ २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast