जनकपुरधामलाई व्यवस्थित बनाउन प्रदेश सरकारको चासो

हिमाल प्रेस ३ माघ २०८२ ११:५७
4
SHARES
जनकपुरधामलाई व्यवस्थित बनाउन प्रदेश सरकारको चासो

जनकपुरधाम- मधेश प्रदेशका राजधानी जनकपुरधामलाई चुस्त, दुरुस्तसहित व्यवस्थित र सुरक्षित बनाउन मधेश प्रदेश सरकारले चासो देखाएका छन्। गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले प्रदेशका राजधानी जनकपुरधामप्रति चासो देखाउंदै शुक्रवार सरोकारवाला निकायहरुसँग एक उच्चस्तरीय बैठक गरी केही महत्वपूर्ण निर्णयहरु गरेका छन्।

प्रदेश तथा जिल्ला सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुसँगको उच्चस्तरीय बैठकमा राजधानी जनकपुरधामको अव्यवस्थितता बारे चर्चा गर्दै आवश्यक बजेट र अन्य सहयोग गर्ने प्रतिबद्धता मन्त्री महतोले गरेका छन्।

बैठकमा सम्बन्धित निकायबीच समन्वय गरी जनकपुरधाममा वृहत् सरसफाइ अभियान सञ्चालन, जानकी मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनका लागि जानकी मन्दिरसँग सम्बन्धित गुठी व्यवस्थापनका पदाधिकारीहरूसँग छलफल गरी दीर्घकालीन समाधान निकाल्ने निर्णय गर्दै फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्धारण तथा व्यवस्थापनको जिम्मेवारी जनकपुरधाम उपमहानगरपालिकालाई दिइएको छ।

जानकी मन्दिरको गर्भगृहभित्र सामाजिक सञ्जालका लागि फोटो तथा भिडियो खिच्न रोक लगाउने व्यवस्था तत्काल लागू गर्न जानकी मन्दिर व्यवस्थापनसँग समन्वय गर्न प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको गृहमन्त्री महतोले जानकारी दिए।

राजधानी सहरमा बढ्दो भीड व्यवस्थापनका लागि पार्किङका निश्चित स्थान तोक्ने, अत्यधिक भीड हुने क्षेत्रमा ‘नो–पार्किङ जोन’ निर्धारण गर्ने तथा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय पनि बैठकबाट गरिएको मन्त्रालयका प्रवक्ता राधेश्वरप्रसा पालले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

यसका साथै जनकपुरधाममा सन्चालित ई–रिक्सा व्यवस्थापन, रामानन्द चौकदेखि जनक चोकसम्म वन–वे प्रणाली लागू गर्ने तथा मुख्य बजार र पैठिया बजार क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेश निषेध गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीसँग समन्वय गर्ने निर्णय पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षा व्यवस्थाअन्तर्गत मुख्य मठ–मन्दिर तथा संवेदनशील स्थानहरूमा सीसीटीभी क्यामेरा जडान तथा मर्मत, रंगरोगन, वृहत सरसफाई सहितको कार्यका लागि बजेट लगायतका आवश्यक सहयोग गृह, सञ्चार तथा कानुन मन्त्रालयबाट गरिने मन्त्री महतोले बैठकमा प्रतिबद्धता जनाएको छ ।

सो उच्चस्तरीय बैठकमा प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलिया, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुग्मबहादुर कुँवर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्ला ट्राफिक कार्यालयका प्रमुखलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ३ माघ २०८२ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast