बाह्य शक्तिको प्रतिस्पर्धाले नेपाल भूराजनीतिक चक्रव्युहमा फसेको छ : लिङ्देन

हिमाल प्रेस २६ पुष २०८२ १८:४१ | Saturday, January 10, 2026
14
SHARES
बाह्य शक्तिको प्रतिस्पर्धाले नेपाल भूराजनीतिक चक्रव्युहमा फसेको छ : लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णायकत्व मुलुकभित्रकै राजनीतिक दलहरूको हातमा ल्याउन नयाँ समझदारी जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौँमा राप्रपा टोखा नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नेपालमा मन्त्री बनाउनेदेखि चूनावमा जित्ने दल र गठबन्धनसमेतको योजना विदेशीहरुले बनाउन थालेको भन्दै नेपालको निर्णायकत्व मुलुकभित्रकै राजनीतिक दलहरूको हातमा ल्याउन नयाँ समझदारी जरुरी रहेको बताएका हुन्।

भाद्र २३ र २४ गतेको घटनाले नेपालको निर्णायकत्व मुलुकको राजनीतिक दलको हातमा नरहेको प्रमाणित भएको उनको भनाइ छ।

उनले बाह्य शक्तिको अस्वस्थ प्रतिस्पर्धाले नेपाल गम्भीर भूराजनीतिक चक्रव्युहमा फसेको र यसबाट देशलाई नजोगाए नेपालको अस्तित्वमा समेत खतरा पैदा हुने संकेतहरू देखिन थालेको धारणा राखे। अध्यक्ष लिङ्देनले चुनावअगाडि नै राजा, राजनीतिक दल र जेन्जीहरूका बीचमा अथवा नयाँ पुस्ताका बीचमा नभए युवाहरूका बीचमा एउटा नयाँ समझदारी कायम हुनुपर्नेमा जोड दिए।

कुनै पनि शक्ति पाखा नपर्ने, कसैले जित्ने–हार्ने नभइ देशले जित्ने नयाँ र मौलिक व्यवस्था निर्माण गरेरमात्रै चुनावमा जानुपर्ने उनको भनाइ छ।

अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको जीवनमा सबभन्दा उर्वर समय आएको भन्दै उनले परिवर्तित ढङ्गले नै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे। उनले समान विचार बोकेका अन्य समूहहरुबीच एकताका लागि छलफल भइरहेको जानकारी दिए।

प्रकाशित: २६ पुष २०८२ १८:४१ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast