खुल्यो १ लाख ३३ हजार म्यादी प्रहरीको भर्ना, जागिर खान यस्तो छ मापदण्ड

हिमाल प्रेस २४ पुष २०८२ ७:१३
60
SHARES
खुल्यो १ लाख ३३ हजार म्यादी प्रहरीको भर्ना, जागिर खान यस्तो छ मापदण्ड

काठमाडौँ- नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार बढी ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)का लागि भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो ।

दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ।

निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, नेपाली नागरिकता, सामान्य लेखपढ गर्न सक्ने क्षमता, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ भएको हुनुपर्ने योग्यता तोकिएको छ।

नेपाल प्रहरीका अनुसार निर्वाचन प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन रहनेछ। सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिनेछ ।

साथै, खाना खर्च, तयारी खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइने जनाइएको छ। निर्वाचनको क्रममा ड्युटीमा आउजाउका लागि एकपटक तयारी खर्चसमेत दिइनेछ।

छनोट प्रक्रिया माघ १४ गते सम्बन्धित प्रहरी कार्यालयमै सञ्चालन हुनेछ। छनोटको अन्तिम नतिजा माघ १७ गते प्रकाशन गरिने र प्रशिक्षण माघ १८ गतेदेखि शुरू हुने सूचनामा उल्लेख छ।

प्रकाशित: २४ पुष २०८२ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast