बेसहारालाई सहारा दिन महायज्ञ

हिमाल प्रेस ७ माघ २०७९ ७:५१ | Saturday, January 21, 2023
बेसहारालाई सहारा दिन महायज्ञ

कास्की- मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ। आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ।

बागमती प्रदेशको राजधानी हेटौँडामा विसं २०६९ भदौ १३ गतेबाट स्थापित मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गरेको छ। अहिले देशभरका १९ जिल्लाको २३ सेवा केन्द्रबाट सहयोगापेक्षीहरुको उद्धार गरी पालनपोषण गरिदै आएको छ।

विसं २०७४ चैत १७ गतेदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा मानवसेवाले सेवा विस्तार गरेको हो। यहाँ छोरेपाटन र हेम्जामा सेवा केन्द्र स्थापना गरी सेवा दिन थालेको मानव सेवा आश्रमका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए।

‘हामीले दुई सेवा केन्द्रमा अहिले एक सय ६३ जनालाई सेवा दिइरहेका छौँ’, उनले भने। पोखरामा सेवा विस्तारका लागि नौ करोड लागतमा आफ्नै सुविधा सम्पन्न भवन बनाउँदै गरेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए।

आश्रमले पोखरा २५ हेम्जा बबियातरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएको ६३ रोपनी जग्गामा दुई सय ५० जना अट्ने भवन बनाउँदैछ। ‘प्रदेशभरका सहयोगापेक्षी मानवहरुलाई एकै ठाँउमा राख्नेगरी बबियातरामा भवन बनाउन लागिएको हो,’ उनले भने।

त्यसमा गण्डकी प्रदेश सरकारले अहिलेसम्म एक करोड ४० लाख सहयोग गरेको मानव सेवा आश्रमका कोषाध्यक्ष तथा गण्डकी संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए। राज्यसँगै अन्य दाताको सहयोगमा करिब रु पाँच करोड बराबरको काम सकिसकेको उनको भनाइ छ।

भवन सम्पन्न गर्न अझै चार करोड रुपैयाँको काम बाँकी छ। यसका लागि मानवसेवा आश्रमले सबै क्षेत्रसँग सहयोगको अपिल गरिहेको छ। रकम जुटाउन आश्रम आफैँले पनि विविध कार्यक्रम गरिरहेको छ। केही दिन अघि मानवताका लागि साङ्गीतिक अभियान गरेको आश्रमले महायज्ञको तयारी गरिरहेको छ।

भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ माघ २० गतेदेखि २७ गतेसम्म आश्रमको भवन निर्माणस्थल हेमजामा महायज्ञ हुने भएको महायज्ञ संयोजक मोतिबहादुर थापाले जानकारी दिए।

महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथावाचन गर्दैछन्। महायज्ञमा नियमित रूपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजेदेखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साढे ४ बजे प्रसाद ग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने भागवत भाष्कर कमलनयन गौतमले बताए।

महायज्ञअन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने जनाइएको छ।

प्रकाशित: ७ माघ २०७९ ७:५१ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast