काठमाडौँ- हेल्प नेपाल स्पोर्टस क्लबले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको हो।
खेलमा हेल्प नेपालले आमीलाई २५–२१, २५–२१, २५–२१ को सेटमा पराजित गरेको हो। पराजित आर्मीले दोश्रो स्थानमा चित्त बुझाउँदा पुलिस क्लब तेश्रो भएको छ। तेश्रो स्थानका लागि शनिबार भएको खेलमा पुलिसले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३–२ सेटले पराजित गरेको हो।
त्यस्तै च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि न्यु डायमण्ड एकेडेमीले हात पार्न सफल भयो। फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जितेको हो।
डायमण्डले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले पुलिसलाई पराजित गर्यो। महिलातर्फ पुलिस क्लबले दोश्रो स्थान हात पार्दा एपीएफ क्लब तेश्रो भयो। तेश्रो स्थानका लागि शनिबार नै भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो।



