सैन्य शासन झुकाउने खालिदा : पतिको हत्यापछि सम्हालेकी थिइन् सत्ताको बागडोर

हिमाल प्रेस १५ पुष २०८२ २१:१८
22
SHARES
सैन्य शासन झुकाउने खालिदा : पतिको हत्यापछि सम्हालेकी थिइन् सत्ताको बागडोर तस्बिरः रोयर्टस।

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधनसँगै दक्षिण एसियाली राजनीतिमा एक युगको अन्त्य भएको छ। ८० वर्षको उमेरमा ढाकाको एभरकेयर अस्पतालमा लामो समयसम्म विविध रोगसँग संघर्ष गर्दै आएकी उनले आज (३० डिसेम्बर २०२५) बिहान उज्यालो हुँदा अन्तिम सास फेरिन्।

बीएनपीले नै उनको निधनको औपचारिक घोषणा गरेको थियो। खालिदा जिया तीन दशकभन्दा बढी समयसम्म बंगलादेशको राजनीतिक केन्द्रबिन्दुमा रहेकी महिला हुन्। उनको जीवन गृहणी, राजनीति, सत्ता, प्रतिपक्ष, जेल, स्वास्थ्य संघर्ष र कटु प्रतिद्वन्द्विताबीच घुमिरह्यो।

राजनीतिक यात्रापछिको उनको संघर्षले बंगलादेशको लोकतन्त्र कति जटिल, व्यक्ति-केन्द्रित र द्वन्द्वपूर्ण छ भन्ने गहिरो चित्रण गर्छ। यसले बंगलादेशको मात्र होइन हाम्रो यो क्षेत्र किन एक हुन नसकेको भन्ने पनि पुष्टि गर्छ।

पाकिस्तानबाट बंगलादेश स्वतन्त्र नहुँदै क्याप्टेन जिआउर रहमानसँग १९६० मा विवाह गरेपछि खालिदा खनाम मुजिम्दारबाट खालिदा जिया बनेकी हुन्, उनी। तर, खालिदा जिया भनेर राजनीतिमा प्रवेशपछि मात्र उनी चिनिएकी हुन्। त्यसअघि उनी आफ्ना दुई सन्तानको रेखदेखमै रमेकी थिइन्।

बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको मृत्यु भएको अस्पताल बाहिर जियाको तस्बिर बोकेर उभिएका समर्थकहरू। तस्बिर: एपी/रासस

युवावस्थामै विधुवा हुन पुगेकी खालिदा जिया पुरुषहरूको वर्चस्व रहेको मुस्लिम समाजमा राम्रै संघर्ष गरेर स्थापित भएकी हुन् भन्ने आकलन गर्न त्यति गाह्रो हुँदैन। अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्नेहरूलाई यसबारे जानकारी नहुने कुरा पनि भएन।

उनलाई राजनीतिमा आउनु अघिसम्म पनि उनलाई घरमा माया गरेर ‘पुतुल’ अर्थात् ‘पुतली’ भनिन्थ्यो। उनै पुतली पछि बंगलादेशको पहिलो महिला प्रधानमन्त्री मात्र भइनन् यस क्षेत्रको कुशल राजनीतिज्ञको छविसमेत बनाइन्। उनीसँग पारिवारिकरूपमा नै शत्रुता साँध्दै आएकी अवामी लिगकी शेख हसिना पनि यतिबेला भारतमा निर्वासित जीवन बिताइरहेकी छन्।

खालिदाको निधन र अर्का वेगम निर्वासनले यतिबेला बंगलादेश दुई हस्ति वेगमविहीन बनेको छ। अब हुने निर्वाचनमा उनी तीन स्थानबाट उठ्ने तयारीमा थिइन्। यद्यपि उनी अस्वस्थ भएका कारण हस्ताक्षर समेत गर्न नसकेकाले उनको ल्याप्चे लगाएर उम्मेदवारी दर्ता गराइएको बंगलादेशी सञ्चारमाध्यमहरूले लेखेका थिए।

उनको निधनले एउटा युगको पटाक्षेप गरेको छ, तर उनको विरासतले दक्षिण एसियाली लोकतन्त्रलाई लामो समय प्रभावित गर्नेछ।

गृहणीबाट सत्ताको शिखरसम्म

१५ अगस्ट १९४५ मा तत्कालीन अविभाजित भारतको दिनाजपुरमा जन्मिएकी खालिदा खनाम मजुम्दार। विवाहपछि खालिदा जिया हुँदै लामो समय घरेलु जीवनमा सीमित थिइन्। यद्यपि उनको जन्ममितिबारे लामै विवाद छ। उनी परिवारमा दुई दिदीपछि जन्मिएकी हुन्। उनी पछि पनि दुई भाइ भए।

उनका पति जियाउर रहमान १९७१ को मुक्ति संग्रामका एक नायक थिए। उनी पछि सेना प्रमुख हुँदै राष्ट्रपति समेत भए। दुःखद् घटनाको रूपमा लिनुपर्छ १९८१ मा चट्टग्राममा सैनिक विद्रोहका क्रममा जियाउर रहमानको हत्या भयो। त्यसपछि मात्र खालिदा राजनीतिमा प्रवेश गरिन्।

उनी राजनीतिमा आउनुको कारण थियो। श्रीमान‍्ले नेतृत्व गरेको दल बचाउनु। रहमानको मृत्युपछि बीएनपीमा आन्तरिक कलहमा फस्यो। अधिक नेताहरू पदको कारण सैन्य शासक जेनरल एर्शादतिर गए। उनको श्रीमान‍्को दल संकटमा पर्‍यो।

यस्तो अवस्थामा खालिदाले सन १९८३ सुरु भएसँगै पार्टीमा उपाध्यक्षको रूपमा प्रवेश गरिन्। १९८४ को मे तिर उनी अध्यक्ष निर्वाचित भइन्। पतिको शोकबाट बाहिर निस्कँदै उनी बीएनपीको नेतृत्वमा आइन्। यो प्रवेश केवल भावनात्मक मात्र थिएन।

यो बंगलादेशको शक्ति सन्तुलन बदल्ने ऐतिहासिक क्षण बन्यो। एक साधारण गृहिणीबाट ‘आइरन लेडी’ बन्ने उनको यात्रा संघर्ष र साहसको प्रतीक बन्यो। पुरुष बहुल समाजमा उनको संघर्ष सामान्य भने थिएन।

उनको पतिमाथि शेख हसिनाको पिताको हत्याको षड्यन्त्रको आरोप छ भने हसिनामाथि खालिदाको पतिको हत्याको षड्यन्त्र गरेको आरोप पारिवारिकरूपमै छ। यद्यपि उनी बंगलादेशको राजनीतिमा आएपछि बांग्लादेशमा संसदीय शासन प्रणालीको पुनर्स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

उनी १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई कार्यकाल प्रधानमन्त्री र पार्टी प्रमुख रहिन्, जहाँ शिक्षा, सामाजिक कल्याण र युवा सशक्तीकरण जस्ता कार्यक्रमहरू अघि बढाइन्। साथै उनले रोजगार, ग्रामीण विकास र राष्ट्रिय सुरक्षा नीति जस्ता विषयहरूलाई पनि प्राथमिकता दिइन्।

हुन त उनको सत्ता यात्रा कहिल्यै सहज थिएन। १९९६ को विवादित चुनावपछि जनआन्दोलन चर्कियो र उनले राजीनामा दिन बाध्य भइन्। त्यसबेला उनी अत्यधिक बहुमतले जिते पनि कैयनले मत दिन नपाएको आरोपसहित आन्दोलन भयो। उनले राजीनामा दिइन्। तर त्यसले उनलाई रोकेन। २००१ मा उनी फेरि सत्तामा फर्किइन्। यो कार्यकाल भ्रष्टाचारका आरोप, इस्लामी उग्रवादको चुनौती र गहिरो राजनीतिक ध्रुवीकरणले विवादास्पद बन्यो। यद्यपि उनको ग्रामीण आधार र पार्टी संरचना बलियो रह्यो।

२००६ पछि सत्ता गुमाए पनि उनको प्रभाव कम भएन। तर यस यात्रामा धेरै विवादहरू पनि जोडिए। बीएनपीका आलोचकहरू उनलाई अत्यन्त कडा नेतृत्व र सत्ता केन्द्रित चालहरूका लागि आलोचना गर्दथे।

तस्बिरः रोयटर्स।

सैन्य शासनविरुद्धको आन्दोलन र सत्तारोहण

सन् १९८० को दशकमा हुसैन मोहम्मद एर्शादको सैन्य शासनविरुद्ध खालिदा जिया प्रमुख विपक्षी नेतृका रूपमा उदाइन्। बारम्बार गिरफ्तारी, दमन र सडक आन्दोलनबीच उनले आफूलाई ‘लोकतन्त्रकी योद्धा’ का रूपमा स्थापित गरिन्। यो संघर्षको फलस्वरूप सन् १९९१ को आम चुनावमा बीएनपी विजयी भयो र उनी बंगालादेशकी पहिलो महिला प्रधानमन्त्री बनिन्।

उनको पहिलो कार्यकालको सबैभन्दा ठूलो योगदान राष्ट्रपतीय प्रणाली हटाएर संसदीय व्यवस्था पुन:स्थापना गर्नु थियो। त्यो गरिन्। जुन बंगलादेशको लोकतान्त्रिक इतिहासमा स्थायी उपलब्धि मानिन्छ। बीएनपीका पूर्वनेता ओली अहमद उनको परिवारसँग निकट थिए। जियाउर रहमान राष्ट्रपति हुँदा अहमद उनका स्वकीय सचिव थिए। उनकै आग्रहमा उनी दलमा आएकी बंगलादेशी पत्रकारहरू सुनाउँछन्।

सन् १९८२ मा बंगलादेशको सत्ता जेनरल एर्शादको हातमा थियो। उनी दलमा प्रवेश गरेसँगै सन् १९८३ मा एर्शादविरुद्ध आन्दोलन गर्न सातदलीय गठबन्धन बनाइन्। जबकि शेख हसिनाको अवामी लिग भने एर्शादको सरकारमा गएका थिए। तर खालिदाले त्यसको बहिष्कार गरिन्।

लगतार ९ वर्षको सडक संघर्षका क्रममा उनले कुनै त्यस्तो अप्रिय सम्झौता गरिनन्। आफ्नो मुद्दामा अडिग र सम्झौता नगर्ने नेताको छवि पनि बनाइन्। सैन्य शासनको विरोधमा ९ वर्ष बिताउने क्रममा उनी पार्टीभित्र स्थापित भएकी र उनले नै पार्टीलाई बलियो बनाएको बीएनपीका नेताहरू ठान्छन्।

एर्शाद सरकारको पतनसँगै बीएनपी खालिदाको नेतृत्वमा सन् १९९१ मा चुनावमा सहभागिता जनायो। र, अत्यधिक बहुमतसहित पार्टी सत्तामा पुग्यो। खालिदा जिया बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री बनिन्। त्यतिबेला उनले पाँच फरक-फरक निर्वाचन क्षेत्रबाट जित हासिल गरेकी थिइन्।

‘ब्याटल अफ द बेगम्स’को अन्त्य!

खालिदा जिया र शेख हसिनाबीचको प्रतिद्वन्द्विता बंगलादेशको आधुनिक राजनीतिको सबैभन्दा लामो र कटु अध्याय हो। यो ‘ब्याटल अफ द बेगम्स’का नामले प्रसिद्ध छ। यो द्वन्द्व नीतिगतभन्दा बढी व्यक्तिगत र प्रतिशोधपूर्ण बन्यो।

दुवै नेतृले एकअर्कालाई वैधानिक प्रतिस्पर्धीभन्दा ‘राजनीतिक खतरा’ ठाने। चुनाव बहिष्कार, सडक हिंसा र प्रतिशोधी कारबाही सामान्य बने। यसले संस्थागत लोकतन्त्रलाई कमजोर बनायो र राजनीतिलाई व्यक्ति-केन्द्रित बनाइदियो।

बंगलादेशको आधुनिक राजनीतिक इतिहासलाई परिभाषित गर्ने सबैभन्दा लामो र कटु प्रतिद्वन्द्विता शेख हसिना (अवामी लिग) र खालिदा जिया (बीएनपी) बीचको हो। यो खासमा वैचारिक भन्दा पनि पारिवारिक स्तरको गहिरो शत्रुताको रूपमा बुझ्न कठिन हुँदैन।

यही द्वन्द्वले दशकौंसम्म बंगलादेशको आन्तरिक राजनीतिलाई ध्रुवीकृत बनायो, सडक हिंसा भड्कायो र लोकतन्त्रलाई कमजोर पार्ने काम भयो। आज खालिदाको निधन भयो भने एक वर्ष देखि भारत निर्वासनमा रहेकी हसिना र उनलाई बंगलादेशको अदालतले सुनाएको मृत्युदण्डले यो टकराव सकिने अवस्थमा पुगेको भनिएको छ। एकको निधन र अर्को निर्वासनमा भए पनि यो जड रहिरहनेछ।

उनीहरूबीचको शत्रुताको मूल १९७० को दशकको रक्तपातपूर्ण घटनामा आधारित छ। १९७१ मा बंगलादेश पाकिस्तानबाट छुट्टिएपछि शेख हसिनाका पिता, बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानले सत्ता सम्हाल्दै आएका थिए। तर उनी सन् १९७५ मा सैनिक कू द्वारा हत्या भयो। हसिना र उनकी बहिनीबाहेक परिवारका अधिकांश सदस्य मारिए। हसिना निर्वासित भइन्।

त्यसको केही महिनापछि खालिदा जियाका पति जियाउर रहमान (सेना उपप्रमुख) ले सत्ता सम्हाले र १९७७ मा रहमान राष्ट्रपति बने। १९८१ जियाउर रहमानको पनि सैनिक विद्रोहमा हत्या भयो। त्यसपछि खालिदा राजनीतिमा प्रवेश गरिन्।

दुवै नेतृले एकअर्काको परिवारलाई अप्रत्यक्ष रूपमा विरोधीको हत्यामा जोडे। हसिनाले जियाउरलाई मुजीब हत्याको षड्यन्त्रकारी ठानिन्, जबकि खालिदाले अवामी लिगलाई आफ्ना पतिको हत्यामा संलग्न माने। यो व्यक्तिगत शोक राजनीतिक वैमनस्यमा बदलियो।

जेल, जीवन र स्वास्थ्य

२००७ पछि सुरु भएका भ्रष्टाचारसम्बन्धी मुद्दाहरूले खालिदा जियाको राजनीतिक यात्रालाई निर्णायक मोडमा पुर्‍यायो। लामो समयसम्म सत्ता र विपक्षको केन्द्रमा रहेकी नेतृ क्रमश: अदालत र कारागारको घेराभित्र पुगिन्।

सन् २०१८ मा उनलाई जेल सजाय सुनाइएपछि खालिदा जिया केवल सक्रिय राजनीतिबाट अलगिइनन्, बंगलादेशमा न्यायिक प्रक्रिया र राजनीतिक शक्ति प्रयोगको सीमारेखाबारे गम्भीर बहस पनि सुरु भयो।

बीएनपी र उनका समर्थकहरूले यी मुद्दाहरूलाई सत्तारूढ दलद्वारा प्रयोग गरिएको राजनीतिक प्रतिशोधको निरन्तरता भने। उनीहरूको तर्क थियो- राजनीतिक प्रतिस्पर्धालाई कमजोर बनाउन कानुनी संयन्त्र प्रयोग गरियो। अर्कोतर्फ तत्कालीन सरकारले यी कारबाहीलाई कानुनी शासन, भ्रष्टाचारविरुद्धको अभियान र संस्थागत अनुशासनको अभ्यासका रूपमा व्याख्या गर्‍यो। यही द्वन्द्वले बंगलादेशको लोकतन्त्रमा एक स्थायी प्रश्न उब्जायोस् के न्याय स्वतन्त्र थियो वा सत्ता राजनीतिबाट निर्देशित?

कारागार जीवनसँगै खालिदा जियाको स्वास्थ्य द्रुत रूपमा कमजोर हुँदै गयो। अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै सन् २०२० मा उनलाई स्वास्थ्यका आधारमा घरमै नजरबन्दमा रहने सर्तसहित रिहा गरियो। कानुनी रूपमा उनी स्वतन्त्र थिइनन्, तर व्यावहारिक रूपमा जेलभन्दा बाहिर थिइन्। यो अवस्था आफैंमा बंगलादेशी न्याय प्रणालीको एक असहज सम्झौता जस्तै बन्यो।

समयसँगै कलेजो, मधुमेह, मुटु र फोक्सोसम्बन्धी समस्याले उनको जीवन झन् कठिन बनायो। यद्यपि २०२४ मा शेख हसिनाको सत्ता पतनपछि खालिदा जिया कानुनी प्रतिबन्धबाट पूर्ण रूपमा मुक्त भइन्। २०२५ को सुरुवातमा भ्रष्टाचारका सबै मुद्दामा सफाइ पाउनु केवल व्यक्तिगत राहत थिएन, यसलाई धेरैले बंगलादेशको राजनीतिक संक्रमणसँग जोडेर हेरे। सत्ता परिवर्तनसँगै न्यायिक निष्कर्ष बदलिनु आलोचकहरूका अनुसार न्याय र राजनीतिबीचको गहिरो अन्तरसम्बन्धको अर्को उदाहरण थियो।

सफाइपछि बीएनपीभित्र खालिदा जियालाई पुन: राजनीतिक मैदानमा फर्काउने तयारी सुरु भयो। फेब्रुअरी २०२६ को आम चुनावमा उनको सम्भावित उम्मेदवारीलाई विपक्षी राजनीतिमा ठूलो पुनरागमनका रूपमा हेरिन थालिएको थियो। तर राजनीति फर्कने त्यो सम्भावना स्वास्थ्यले साथ दिन सकेन।

नोभेम्बर २०२५ देखि उनको अवस्था अचानक गम्भीर बन्यो। उनलाई सघन उपचार कक्षमा राखेर अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकको निरन्तर निगरानीमा उपचार गरियो। सत्ता, अदालत र कारागारका सबै संघर्ष पार गरेकी खालिदा जियाले अन्तत: जीवनसँगको संघर्ष भने हारिन्।

तस्बिरः एपी।

नेपाल-बंगलादेश नेतृत्व, द्वन्द्व र लोकतन्त्र

खालिदा जियाको राजनीतिक यात्राले नेपाल र बंगलादेशबीच गहिरा समानता र केही निर्णायक भिन्नताहरू उजागर गर्छ। दुवै मुलुकमा लोकतान्त्रिक अभ्यासभन्दा नेतृत्व व्यक्तिकेन्द्रित रह्यो।

नेपालमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, केपी शर्मा ओली र पुष्पकमल दाहालजस्ता नेताहरू निर्णायक बने। बंगलादेशमा यही स्थान खालिदा जिया र शेख हसिनाले ओगटे। संस्थाभन्दा व्यक्तिको प्रभाव हाबी हुँदा राजनीति स्थायित्वभन्दा द्वन्द्वतर्फ ढल्कियो।

तर सत्ता व्यवस्थापनको तरिकामा महत्त्वपूर्ण भिन्नता देखिन्छ। नेपालमा सत्तान्तरण प्राय: सम्झौता, संक्रमणकालीन व्यवस्था र वार्ताबाट अघि बढ्यो। आन्दोलन र दबाब भए पनि अन्तत: राजनीतिक दलहरू संवादको टेबलमा फर्किए। बंगलादेशमा भने सत्ता संघर्ष अधिक टकरावपूर्ण रह्यो- चुनाव बहिष्कार, सडक हिंसा, प्रतिशोधी मुद्दा र विपक्षी नेताहरूको जेल यात्रा सामान्य अभ्यास बन्यो। खालिदा जियाको लामो जेल जीवन यसै प्रवृत्तिको ज्वलन्त उदाहरण हो।

नेपालका शीर्ष नेताहरू बारम्बार वार्ता र सहमतिमा पुगे, चाहे त्यो अपूरो किन नहोस्। बंगलादेशमा भने राजनीतिक प्रतिस्पर्धा शून्य-योग खेलजस्तै बन्यो। एक पक्ष सत्तामा हुँदा अर्को पक्ष राज्यशक्तिबाट बहिष्कृत वा कारागारमा सीमित हुने। यसले लोकतान्त्रिक सहअस्तित्वको सम्भावनालाई क्रमश: कमजोर बनायो।

दुवै देशको साझा कमजोरी भने एउटै रह्यो- व्यक्ति र गुटको तुलनामा संस्थाहरू कमजोर रहनु। जब संस्था कमजोर हुन्छन्, लोकतन्त्र व्यक्तिको मनोदशा र द्वन्द्वको बन्धक बन्छ। खालिदा जियाको जीवन र राजनीतिक अवसानले दक्षिण एसियाली लोकतन्त्रलाई यही गहिरो चेतावनी दिन्छ- व्यक्ति होइन, संस्था बलियो नभएसम्म लोकतन्त्र सुरक्षित हुँदैन।

निष्कर्ष

बंगलादेशको आधुनिक राजनीति खालिदा जिया र शेख हसिनाको द्वन्द्वबिनाका रूपमा बुझ्न सकिँदैन। झन्डै तीन दशकसम्म सत्ता र विपक्षबीचको प्रतिस्पर्धा लोकतान्त्रिक बहसभन्दा बढी व्यक्तिगत शत्रुतामा रूपान्तरण भयो।

चुनाव बहिष्कार, सडक हिंसा, हड्ताल र प्रतिशोधी मुद्दा अपवाद रहेनन्। ती राज्य सञ्चालनका नियमित औजार बने। देश क्रमश: दुई ध्रुवमा विभाजित भयो र लोकतन्त्र बीचमै थिचियो।

यो द्वन्द्व संस्थागत होइन, व्यक्तिकेन्द्रित रह्यो। संसद् संवादको थलो बन्न सकेन, अदालतहरू निष्पक्षताको प्रतीकभन्दा बढी राजनीतिक संघर्षको अखडा जस्तै देखिएको बंगलादेशी पत्रकारहरू नै सुनाउँछन्। सत्ता जित्ने र जोगाउने होडमा दुवै पक्षले राज्यका संस्थाहरूलाई कमजोर बनाए। आर्थिक वृद्धि देखिए पनि राजनीतिक प्रणाली झन् अस्थिर र अविश्वसनीय बन्दै गयो।

खालिदा जियाको जेल जीवन र शेख हसिनाको लामो सत्तारोहण एउटै राजनीतिक संस्कृतिको दुई अनुहार थिए। एक जना पूर्वप्रधानमन्त्री कारागार र स्वास्थ्य संघर्षमा सीमित भइन्, अर्की राज्यशक्तिको शिखरमा। आज चित्र उल्टिएको छ- खालिदा जियाको निधन भइसकेको छ, शेख हसिना मृत्युदण्डसम्बन्धी फैसलासँग जोडिएका मुद्दामा फस्दै भारतमा नै थप शरण खोजिरहेकी छन्। एकको अन्त्य जीवनले ग‍र्‍यो, अर्कीको राजनीतिक भविष्य अदालतले तय गर्दै लगेको छ।

खालिदा जियाको निधनसँगै ‘बेगमहरूको युद्ध’ को एउटा युग समाप्त भएको छ। तर यसले स्वत: लोकतन्त्रलाई मुक्त बनाएको छैन। बंगलादेश अझै पनि त्यही प्रश्नसँग जुधिरहेको छ- के शक्ति व्यक्तिको हातमा रहने कि संस्थाको?

दक्षिण एसियाली लोकतन्त्रका लागि यो कठोर चेतावनी हो। जब व्यक्तिगत प्रतिशोध राज्य नीतिमा रूपान्तरण हुन्छ, लोकतन्त्र बन्दी बन्छ। सहमति र संयम बिना सत्ताको जित अस्थायी हुन्छ, तर संस्थाको क्षति दीर्घकालीन। खालिदा जियाको निधनले एउटा जटिल युगको पर्दा झारेको छ। अब प्रश्न यति मात्र हो- बंगलादेशले इतिहासबाट पाठ सिक्छ, कि द्वन्द्वलाई नयाँ अनुहारमा दोहोर्‍याउँछ? अलविदा नेतृ।

प्रकाशित: १५ पुष २०८२ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast