विचार

जेनजी विद्रोह : युवाले रोज्नुपर्ने अबको बाटो

रितु खड्का १४ पुष २०८२ १५:१४
142
SHARES
जेनजी विद्रोह : युवाले रोज्नुपर्ने अबको बाटो

नेपालको राजनीतिक इतिहास नियाल्ने हो भने व्यवस्थाहरूको फेरबदलको शृंखलामात्रै देखिन्छ। चाहे त्यो २००७ सालको क्रान्ति होस् वा २०४६ र २०६२/६३ को जनआन्दोलन। यी ठूला जनआन्दोलनबाट ऐतिहासिक परिवर्तन भए। प्रजातन्त्र स्थापनादेखि बहुदलीय व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली जनताले धेरै ठूला सपना देखे, देखाइए। विडम्बना! व्यवस्था त बदलियो तर जनताको अवस्था र शासक प्रवृत्ति बदलिएन।

यही प्रवृत्तिको चरम रूप र युवा पुस्तामा बढ्दो निराशाले अहिले राजनीतिको परम्परागत जग हल्लिएको छ। भदौ २३ र २४ मा भएको ‘जेनजी’ पुस्ताको आन्दोलनले दुई दिनमै देशको राजनीतिलाई उथलपुथल बनाइदियो।

निराशाले जन्माएको विद्रोह

नेपालमा लोकतन्त्रको अभ्यास भरपूर भएको जस्तो देखिए पनि आमजनताको जीवनमा भने गुणात्मक परिवर्तन ल्याउन सकेन। अस्थिर राजनीति, सत्ताको खिचातानी र कमजोर नेतृत्वले देशको समग्र विकासलाई दशकौँदेखि बन्धक बनायो। सरकारमै पुग्न गरिएको लुछाचुँडीले नीतिगत स्पष्टतालाई ध्वस्त बनायो। सरकारहरू बारम्बार परिवर्तन भए। एउटा सरकारले ल्याएको योजना अर्को सरकारले खारेज गर्ने वा अलपत्र छाड्ने संस्कारले विकासको गति अवरुद्ध बनाइदियो। संस्थागत भ्रष्टाचार मौलायो। सत्ताकै खेलमा लाग्दा जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितामा नेताहरूले ध्यान दिएनन्।

ठूला भ्रष्टाचारका काण्डमा ठूला भनिएका नेताहरू जोडिनु र उन्मुक्ति पाउनुले जनतामा निराशा छाएको थियो। साथै नागरिकमा राज्यप्रतिको विश्वास पनि गुम्यो। यही चरम वितृष्णाको बीचबाट नेपाली ‘जेनजी’ पुस्ता जागेको हो। यो जागरण कुनै राजनीतिक दलको झण्डा बोकेर होइन, बरु आफ्नो भविष्य सुरक्षित गर्ने सपना बोकेर सडकमा उत्रिएको थियो।

फेरिएको विद्रोहको स्वरूप

जेनजी पुस्ताको आन्दोलन विगतका आन्दोलनभन्दा पूर्णत: भिन्न छ। विगतमा आन्दोलनहरू राजनीतिक दलहरूले नेतृत्व गरेको हुन्थ्यो। तर यसपटक आन्दोलनको कमान्ड कसैको हातमा थिएन। थियो त ‘सामूहिक चेतना’ र ‘डिजिटल सञ्जाल’ सँग थियो। ‘जेनजी’ पुस्ता, जो इन्टरनेट र प्रविधिको युगमा जन्मिए र हुर्किए, उनीहरूले संसार बुझेका छन्। अन्य देशहरूले गरिरहेको विकास र प्रगतिबारे उनीहरू जानकार छन्। अनि तुलना गर्न थाले ती देशहरू किन विकसित भए र नेपाल किन पछाडि पर्‍यो?

जब शिक्षित युवा जनशक्तिले स्वदेशमा सम्भावना देख्न छाडे र दैनिक हजारौँको संख्यामा विदेशिन बाध्य भए, तब यो पुस्ताको धैर्यको बाँध टुटेको हो। भ्रष्टाचारले थलिएको देश र अकर्मण्य नेतृत्वविरुद्ध युवाहरूले गरेको त्यो विद्रोह विरोध मात्र थिएन, त्यो एउटा नयाँ युगको थालनी थियो।

उक्त आन्दोलनले कतिपय स्थापित नेताहरूलाई आफ्नो पद त्याग्न मात्र बाध्य बनाएन, उनीहरूलाई भाग्नसमेत बाध्य बनायो। यसले के स्पष्ट हुन्छ भने जब युवा शक्ति जाग्छ, तब संसारकै शक्तिशाली शासकहरू पनि काँप्न बाध्य हुन्छन्।

हरेक ठूलो परिवर्तन हुँदा त्यसको मूल्य देशले चुकाइरहेको हुन्छ। यो आन्दोलनमा पनि देशले ठूलो भौतिक एवं आर्थिक क्षति व्यहोर्नुपर्‍यो। सरकारी संरचनाहरूमा भएको क्षति र अर्थतन्त्रमा परेको प्रभावले देशलाई केही कमजोर बनाएको भने अवश्य नै हो। सायद भदौ २३ को आन्दोलनमा निर्दोषहरू नमारिएका भए भदौ २४ को घटना हुने थिएन। यद्यपि घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र निर्दोषहरूको हत्या गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनैपर्छ।

विवेक प्रयोग गरौँ

अहिलेको संक्रमणकालीन अवस्थामा आगामी निर्वाचन देशको इतिहासकै सबैभन्दा महत्त्वपूर्ण मोड हो। यो निर्वाचन  प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो ‘पुरानो प्रवृत्ति’ र ‘नयाँ सोच’ बीचको लडाइँ पनि हो। यहाँ युवाको भूमिका झनै निर्णायक हुनुपर्छ।

विगतमा युवाहरूलाई ‘लाठी बोक्ने’ र ‘नारा लगाउने’ माध्यमका रूपमा प्रयोग गरियो। तर अब युवा वर्ग परिवर्तनको प्रतीक मात्र होइन, परिवर्तनको वास्तविक संवाहक बन्न आवश्यक छ। मतदान मात्र गर्नु नागरिकको कर्तव्य होइन, सही विचार र सक्षम नेतृत्वको पहिचान गर्नु आजको आवश्यकता हो। युवा पुस्ताले यसपटक भावनामा बगेर होइन, विवेक, तथ्य र राष्ट्रहितलाई आधार बनाएर निर्णय लिनुपर्छ।

युवा पुस्तासँग सूचनाको शक्ति छ। सामाजिक सञ्जाल, नागरिक अभियान र नीतिगत बहसहरूमा युवाको सक्रियता बढेको छ। हरेक युवाले अब राजनीतिक निगरानीकर्ताको भूमिका खेल्नुपर्छ। कुन नेताले के प्रतिबद्धता जनाएको थियो र उसले कति काम गर्‍यो? यसको हिसाबकिताब राख्ने र प्रश्न गर्ने हिम्मत अबको पुस्तामा हुनुपर्छ।

‘पोलिटिक्स इज अ डर्टी गेम’ भनेर टाढै बस्नु भनेको खराब मान्छेलाई शासन गर्ने अनुमति दिनु हो। त्यसैले नेतृत्व छान्दा विवेक पुर्‍याउनुपर्छ वा स्वयं पनि नेतृत्वदायी भूमिकामा अघि बढ्ने साहस गर्नुपर्छ।

नेपालको सबैभन्दा ठूलो चुनौती भनेकै ‘ब्रेन ड्रेन’ हो। देश बनाउने युवा शक्ति खाडीको तातो भूमिका रगतपसिना बगाउन बाध्य छन्। देशमै रोजगारी र सम्मानजनक जीवन जिउन पाउने भए सायद धेरै युवाहरू पलायन हुने थिएनन्। आगामी नेतृत्वले गफ मात्र गरेर हुँदैन, युवाहरूलाई उद्यमशीलतामा जोड्ने ठोस योजना ल्याउनुपर्छ। जबसम्म युवाहरूले आफ्नो श्रम र सीपको मूल्य आफ्नै माटोमा पाउँदैनन्, तबसम्म यस्ता आन्दोलनले पूर्णता पाउँदैनन्।

अबको बाटो

नेपालको भविष्य आजको युवा पुस्ताको हातमा छ। हामीसँग जलविद्युत्, पर्यटन र कृषि जस्ता प्रचुर सम्भावना छन्। अभाव केवल एउटा ‘इमानदार नेतृत्व’ र ‘स्पष्ट दृष्टिकोण’ को मात्र हो। आगामी निर्वाचन युवाका लागि एउटा अधिकार मात्र होइन, यो एक ऐतिहासिक जिम्मेवारी पनि हो।

त्यसैले युवाले आफ्नो शक्तिलाई सही दिशामा प्रयोग गर्नुपर्छ। एक मतको शक्ति कति हुन्छ भन्ने देखाउनुपर्नेछ। त्यसपछि मात्रै नेपालमा सकारात्मक राजनीतिक परिवर्तन  सम्भावना मात्र होइन, एक सुखद यथार्थ बन्नेछ। अबको नेपाल ‘रेमिट्यान्स’ ले मात्र चल्ने देश होइन भन्ने देखाउनुपर्नेछ। अब पनि हामी चुक्यौँ भने इतिहासले हामीलाई कहिल्यै माफी दिने छैन। त्यसैले उठौँ, जागौँ र देश निर्माणमा युवा पुस्ता एक होऔँ। जय देश, जय युवा!

प्रकाशित: १४ पुष २०८२ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast