चाइना जर्नल

नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष : समीक्षा र सम्भावना

अजय अलौकिक ९ पुष २०८२ १८:०३
56
SHARES
नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्ष : समीक्षा र सम्भावना

चालु वर्ष, नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव हो। यसै अवसर पारेर दुई देशबीच विभिन्न सहर र स्थानहरूमा घनीभूत रूपमा विविध गतिविधिका साथै समीक्षात्मक कार्यक्रमको आयोजना भइरहेका छन्।

बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले पनि चाइना इन्स्टिच्यूट अफ इन्टरनेशनल स्टडिजसँग मिलेर पुस ८ गते, मंगलबार बेइजिङमा नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष, समीक्षा र सम्भावनाहरू विषयक कार्यक्रमको आयोजना गरेको छ।

तीन सत्रमा बाँडिएको कार्यक्रममा सहभागी नेपाल चीन सम्बन्धका ज्ञाता, अनुसन्धाता एवम् विश्लेषकहरूले राजनीतिक, ऐतिहासिक, आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विभिन्न तरिका र उपायहरू तथा विविध आयामबारे प्रकाश पारेका थिए। तीन सत्रलाई चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र चाइना इन्स्टिच्यूट अफ इन्टरनेशनल स्टडिज (सीआईआईएस) का उपाध्यक्ष लिऊ छिङले पालैपालो अध्यक्षता गरेका थिए।

सीआईआईएसका उपाध्यक्ष लिऊ छिङले अध्यक्षता गरेको कूटनीतिक सम्बन्धका ७० वर्षहरू विषयमा चिन्तन: नेपाल चीन सम्बन्धका ऐतिहासिक दृष्टिकोण र दृष्टान्तहरू शीर्षकीय पहिलो सत्रमा हपै युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजनेस मातहतको नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुपिन, अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन विभागका एसोसिएट रिसर्चर याङ छाओयुए तथा भर्च्वल रूपबाट नेपालको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईले दुई देशबीचको सम्बन्धलाई घनिष्ट र घनीभूत बनाएका विषयहरूबारे चर्चा गरेका थिए।

यद्यपि हपै युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजनेस मातहतको नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुपिनको स्वरमा विगतमा दुई देशले चाहे जति फाइदा लिन नसकेको र नेपालले समुन्नत राष्ट्र बन्ने मौका बारम्बार गुमाएको बताउन चाहे। उनले ७ बुँदामा व्याख्या गर्दै उच्च्स्तरीय भ्रमण र चिनियाँ अनुदानको विषयलाई जोड दिएका थिए। कुनै समय चीनले नेपाललाई पाकिस्तानलाई भन्दा झण्डै दोब्बर आर्थिक सहयोग गरेको पनि सम्झे। नेपाल र चीन बीच सम्झौताहरू धेरै भएका छन् तर कार्यान्वयन भएका छैनन् भन्दै दुःख पनि माने। ‘सम्झौताहरू धेरै भएका छन् तर कार्यान्वयन भएका छैनन्। सम्झौता सूचीका ५० प्रतिशत होइन, मात्र १० प्रतिशत सम्झौताहरू मात्र सम्पन्न भए पनि नेपालमा कायापलट हुनेछ,’ उनले जोड दिए।

सन् २००७ मा कन्फ्युशियस इन्स्टिच्यूटको स्थापनाको क्रममा नेपालसमेत बसेका उनले नेपाललाई स्विजरल्याण्ड र सार्कको प्रधान कार्यालय भएकाले ब्रसेल्स समेत बन्न सक्ने पनि औँल्याए। उनले वर्तमान सरकारले समयमा चुनाव गराउने र स्थिर सरकार बन्ने आशा पनि व्यक्त गरे। यसै गरी, तेस्रो सत्रमा आफ्नो धारणा राखेकी चाइनिज एकेडेमी अफ सोस्यल साइन्सेज, नेशनल इन्स्टिच्यूट अफ इन्टरनेशनल स्ट्राटेजीकी एसोसिएट रिसर्चर याङ स्याओफिङले नेपालको वर्तमान परिप्रेक्ष्यलाई नियाल्दै जेनजीको मागहरूलाई सम्बोधन गर्नुपर्ने औँल्याइन्। याङले दक्षिण दक्षिण सहयोगसँगै हाइड्रोपावर तथा विज्ञान प्रविधिमा सहयोगको कुरा गरिन्। साथै सहकार्य र विकासका लागि खाका बनाएर अघि बढ्नुपर्ने पनि बताइन्।

दोस्रो सत्रमा, अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन विभागकी सिनियर रिसर्च फेलो थाङ छिफाङले नेपालको पर्यटन क्षेत्रमा प्रचुरता रहेको व्यक्त गर्दै एउटा ब्राण्डको रूपमा चीनमा प्रवर्द्धनको आवश्यकता रहेको औँल्याइन्। नेपाल-चीनबीच जनस्तरमा धेरै आदानप्रदान बढिरहेको भन्दै यही डिसेम्बरको सात/दश दिनमा मात्रै अनेकन् गतिविधिहरू भएको सुनाइन्। यसै गरी, इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको नेपाल अध्ययन केन्द्रका रिसर्चर सरोज गौतमले स्लाइडमार्फत् प्रस्तुति दिँदै नेपालको प्राकृतिक वातावरण र शान्तिपूर्ण वातावरण लगानीका लागि उपयुक्त भएको र दुई देशबीच थप निकटता ल्याउन जनस्तरमा आदानप्रदानलाई अझै बढाउनुपर्ने बताए।

भर्च्वल उपस्थिति जनाएका नेपालको नीति अनुसन्धान संस्था (पीआरआई) का वरिष्ठ अनुसन्धानविद् डा. खगनाथ अधिकारीले व्यापार तथा लगानी क्षेत्रको प्रवर्द्धनप्रति जोड दिए। नेपाल चीन व्यवहारिक सहयोगमा नयाँ आयामको खोजी: अर्थतन्त्र, व्यापार, लगानी र जनस्तर बीच आदानप्रदान शीर्षकीय दोस्रो सत्रलाई कार्यवाहक राजदूत रोशन खनालले अध्यक्षता गरेकी थिइन्। विकास र समृद्धिका लागि अमर मित्रताबीच सहयोगको रणनीतिक साझेदारीलाई अघि बढाउने र संयुक्त रूपमा साझा भविष्यसहितको नेपाल चीन समुदायको निर्माण गर्ने विषयक तेस्रो सत्रमा, नेपाली वक्ताको रूपमा त्रिभुवन विश्वविद्यालयका रेक्टर डा. खड्ग केसी भर्च्वल रूपमा जोडिएका थिए। डा. खड्ग केसीले दुई देश बीचको सम्बन्धको विकासक्रमका बहुआयाम र बहुक्षेत्रीय विषयमा समीक्षा गर्दै सम्भावनाका कुराहरू औँल्याए।

समग्रमा, अन्तर्राष्ट्रिय मामिलाविद् नेपाली वक्ताहरूले विगत सात दशकमा नेपाल-चीन सम्बन्धको विकास क्रमका बहुआयाम र बहुक्षेत्रीय विषयमा समीक्षा गर्दै एक चीन सिद्धान्तमा नेपालको दृढ प्रतिबद्धता र नेपालका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको नीतिको उच्च मूल्याङ्कन गरे। नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा मात्र नभएर चिनियाँ सहायताका साथै संयुक्त प्रयासको महत्त्वप्रति जोड दिँदै पर्यटन, हरित ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, प्रविधि हस्तान्तरण र जनसम्पर्कको क्षेत्रमा प्रवर्द्धन गर्दै दुई देशबीचको मित्रतालाई अझै गहिरो बनाउनुपर्ने औँल्याए।

तीन सत्रमा बाँडिएको कार्यक्रममा दुई देश बीच उच्चस्तरीय भ्रमण तथा आदानप्रदानले आपसी विश्वास, सम्मान र मित्रतालाई गहिरो बनाउन भूमिका खेल्ने उल्लेख गर्दै चिनियाँ वक्ताहरूले बेल्ट एण्ड रोड पहल र नेपाल र चीनबीचका अन्य संयन्त्रहरूमार्फत् साझा समृद्धिको सम्भाव्यताप्रति जोड दिए। साझा समृद्धि र आपसी लाभका लागि दुई देशका नेताहरूबाट प्राप्त सहमतिलाई कार्यान्वयनको आवश्यकता भएको उल्लेख गरे।

गोष्ठीको आरम्भमा सीआईआईएसका उपाध्यक्ष लिऊ छिङले नेपाल चीन बीचको मित्रवत् सम्बन्धमा मुख्य विशेषताको रूपमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू’ रहेको बताउँदै उनले नेपाल र चीनबीच मानवजातिको साझा समृद्धि र जीत-जीतको सहकार्यका सम्भावित अवसरहरूमा जोड दिए। उनले नेपालको दोस्रो ठूलो व्यापारिक साझेदारका रूपमा रहेको चीनसँग हिमाल पार हुने रेल निर्माण सम्पन्न भयो भने यसबाट कायापलट हुने पनि बताए।

नेपाली कार्यवाहक राजदूत रोशन खनालले मञ्जुश्रीको किंवदन्तीबाट सुरु गरी दुई देशबीचको सौहार्द मित्रवत् सम्बन्ध हाल रणनीतिक सहयोग साझेदारमा रूपान्तरण भएको बताइन्। नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहँदै आएको बताउँदै पछिल्लो समय दुवै देशबाट भएका उच्चस्तरीय राजनीतिक भ्रमण तथा बीआरआई फ्रेमवर्कमा हस्ताक्षरपछि आपसी सम्बन्धको नयाँ चरण सुरु भएको औँल्याइन्।

गोष्ठीको समापन गर्दै कार्यवाहक राजदूत खनालले दुई देश बीच व्यापार, लगानी, ऊर्जा, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र जनस्तरीय सम्बन्धले विकासको क्षेत्रमा पुगेको सहयोगप्रति प्रशंसा गर्दै भविष्यमा ती क्षेत्रको सहयोगमा अझै विस्तार हुने सम्भावना रहेको बताइन्।

सीआईआईएसका उपाध्यक्ष लिऊ छिङले समापनमा दुई देश बीचको सम्बन्ध आगामी दिनमा व्यापक रूपमा विस्तार हुने र संयुक्त रूपमा साझा भविष्यका लागि नेपाल चीन समुदायको निर्माण हुनेमा आशावादी रहेको औँल्याए।

हामी ग्रेगोरियन पात्रोअनुसार, वर्षान्तमा छौँ। यसै घडीमा अभिएर दुई देशबीचको सम्बन्धको विश्लेषण गर्दै ज्ञाता, विश्लेषक तथा अनुसन्धानविद्ले इतिहासदेखि वर्तमानसम्मको सम्बन्धका विविध आयाम बारे प्रकाश पारे र भविष्यमा हुनसक्ने आपसी सहकार्यका बारेमा चर्चा गरे।

निर्देशक चाङको बुझाइमा नेपाली पक्षको कार्यान्वयन फितलो छ। साथै चीन र चिनियाँ नेपालको समग्र विकास चाहन्छन् तर यो बिना स्थायित्व सम्भव छैन वा कठिन छ। यो कुरा सबै पक्षले बुझेका छन्। यतातिर विशेष ध्यान दिनु अत्यावश्यक छ।

डा. खड्ग केसीले भनेजस्तै दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ तर अझै सफलता प्राप्त गर्न बाँकी छ। त्यो सफलतालाई पछ्याउनु अबको खाँचो हो। प्रायशः वक्ताले भनेजस्तै जबसम्म पूर्वाधारको निर्माण हुँदै तबसम्म व्यापार घाटा भइरहने छ। त्यसकारण, सडकबाटो, रेलबाटो, विकासको बाटो जतिसक्दो छिटो बिछ्याउने काममा लाग्नु सबैभन्दा महत्त्वपूर्ण छ। व्यापार, पर्यटन, कृषि, ऊर्जा, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार निर्माण तथा औद्योगिक विकासमा चिनियाँ सहयोग उल्लेखनीय रहेको छ।

अन्तमा, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति चीनले सदैव समर्थन गर्दै आएको छ र नेपालले पनि एक चीन सिद्धान्तलाई सदा समर्थन गर्दै आएको छ। कूटनीतिक सम्बन्धको ७० वर्षसम्मको यात्रामा कुनै ठूलो झगडा वा मनमुटाव भएको छैन। यो पनि मित्रताको गर्विलो विषय हो र आगामी वर्ष र दशकहरूमा यसरी नै निरन्तर रूपमा असल छिमेकी मित्र र मित्रतालाई अगाडि लैजान सकियोस्। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध रणनीतिक सम्बन्ध साझेदारमा रूपान्तरण भएको छ। नेपाल-चीनबीच आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदान अझै बलियो र व्यापक बन्दै जाओस्।

सुमधुर सम्बन्धको इतिहासको आधारमा उभिएर दुई देशले आगामी दिन, वर्ष र दशकहरूमा विकास तथा प्रगतिका साथै मित्रवत् सम्बन्धमा सगरमाथा सरहको एउटै उचाइमा पुग्ने नयाँ सुन्दर कथाहरू लेखिरहन सकोस्। पञ्चशील सिद्धान्तमा आधारित दुई देशबीचको सम्बन्ध व्यवहारिक सहयोग, लगानी तथा व्यापार, जनसम्पर्क आदानप्रदान र उच्चस्तरीय भ्रमणबाट थप बलियो बन्दै जाओस्। शुभकामना। नेपाल चीन मित्रता अमर रहोस्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast