महात्माको डिजिटल दृष्टि : संस्कारलाई एआईमा उतार्दै स्वामी केशवानन्द

हिमाल प्रेस ६ पुष २०८२ १५:२६
254
SHARES
महात्माको डिजिटल दृष्टि : संस्कारलाई एआईमा उतार्दै स्वामी केशवानन्द डा. स्वामी केशवानन्द

काठमाडौँ– नेपालमा महात्माहरूलाई जोगी भन्ने गरिन्छ। जोगी शब्दको अर्थ भिक्षा मागेर जीविका निर्वाह गर्ने र कष्ट सहेर बाँचिरहेका भिक्षार्थी हो। महात्माको तुलना झन्डै तिनै भिक्षार्थीसँग गर्न खोज्नु सही होइन। महात्माहरू त अति उत्तमा स्वभाव र विचार भएका मान्छे हुन्।

बेलाबेलामा नेपालको सभ्यता संस्कृति, संस्कार, वैदिक सनातन संरक्षण अभियानमा यस्ता महात्माको विशिष्ट योगदान रहँदै आएको छ। उदाहरणका लागि योगी नरहरिनाथ, स्वामी डा. रामानन्द गिरि, स्वामी प्रपन्नाचार्य, परमानन्द स्वामी, श्याम चैतन्यबाबा, शिवपुरीबाबा आदि। अहिले यस्तै महात्मा परम्परामा हामीले पाएका छौँ- स्वामी डा. केशवानन्द।

डा. केशवानन्द कहिले निजी स्कुलका कक्षाकोठामा बालबालिकालाई संस्कार शिक्षा पढाइरहेका भेटिन्छन्। कहिले स्थानीय सरकारका प्रमुखहरूलाई संस्कार शिक्षा पढाउनुको औचित्यबारे प्रशिक्षित गरिरहेका भेटिन्छन्। कहिले टेलिभिजनको पर्दामा संस्कार शिक्षाकै बारेमा विमर्श गरिरहेका देखिन्छन्।

अरूलाई शनिबार आउँदा छुट्टी मिल्छ, स्वामी केशवानन्द गौरीघाटस्थित सत्तलमा झन्डै तीन सय विद्यार्थी संस्कार शिक्षा दिन व्यस्त देखिन्छन्। स्वामीको संकल्पमा स्थापना भएको वैदिक अनुसन्धान गुठी (वाग) मा अमेरिका, अस्ट्रेलिया, क्यानडा, नेदरल्यान्डदेखिका बच्चा आएर संस्कृत र संस्कार शिक्षा अध्ययन गरिरहेका छन्।

यी त स्वामीका नियमित कर्म भए। यसभन्दा पनि बढी उनी त्यही सत्तलको एउटा कोठामा कम्प्युटर र ल्यापटपमा झुन्डिइरहेका हुन्छन्। उनको उद्देश्य छ, नेपाली सभ्यता, संस्कार, संस्कृति, भाषा, लिपिलाई कसरी कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स- एआई) मा समावेश गराउने।

सत्तलका चारवटा कोठा कम्प्युटरले भरिएका छन्। कोही स्वयंसेवकका रूपमा त कोही पारिश्रमिक लिएर प्रविधिमा काम गरिरहेका छन्। कसैले विदेशबाट सघाइरहेका छन्। स्वामी भन्छन्, ‘एआई कसरी हाम्रो पनि बनाउन सकिन्छ भनेर काम गरिरहेका छौँ। यसमा निरन्तर १० जना खटिएका छन्।’ गुठीसँग आफ्नै रेकर्डिङ स्टुडियो छ। यी सबै संरचना दाताबाट नै जुटाइएका हुन्। सत्तल पशुपति क्षेत्र विकास कोष मातहत रहेको छ।

आफ्नो डेटा नभएमा हाम्रै विषयमा पढ्न पनि विदेशीलाई पैसा तिर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता स्वामीको छ। नेपाली संस्कार संस्कृतिबारे अरूलाई कसरी बुझाउन सकिन्छ भनेर डेटाबेस बनाएर काम गरिरहेको उनले सनाए।

‘हामीले डेटाबेस बनायौँ। यसलाई ट्रन्ड गर्ने कम्प्युटर भने हामीसँग छैन। एआई ट्रेन गर्ने कम्प्युटरको डेढ/दुई करोड रुपैयाँ पर्दोरहेछ। यस्ता प्रविधि सरकारी निकायसँग पनि छैन’, स्वामीले भने।

यसैगरी नेपाल भाषा (नेवारी) को क्यालेन्डरलाई डिजिटलमैत्री बनाउन गुठी सक्रिय छ। ‘सरकारले सबै कार्यालयमा नेपाल संवत् लागू गर्ने निर्णय गरे पनि नेपाल संवत्को डेटा कम्प्युटरले पढ्न सक्दैन। हामी त्यसमा पनि काम गरिरहेका छौँ’, स्वामीले भने।

विदेशीले पशुपतिनाथको महत्त्वबारे अध्ययन गर्न कहाँ जाने भन्ने चिन्ता स्वामीलाई छ। ‘त्यसैले हामी गुठीलाई पशुपति अध्ययनसम्बन्धी केन्द्र बनाउने योजनामा छौँ। पशुपतिबारे केही जानकारी प्रविधिका माध्यमबाट दिने गरी तयारी गरिरहेका छौँ। सत्तलमै केही स्क्रिन राखेर एउटा की थिच्दा पाशुपत क्षेत्रका सम्पदा, धार्मिक स्थल आदिको पौराणिक र ऐतिहासिक जानकारी दिने गरी काम गर्दैछौँ’, उनले भने।

गुठी किन?

गुठी दर्ता गर्नुको औचित्य सुनाउँदै स्वामीले भने, ‘केही न केही संस्था चाहिने रहेछ। गुठी भनेको त हाम्रै हो, नेवारी संस्कृति र काठमाडौँको मूल संस्कृति बोक्ने गुठी नै हो। त्यसैले हाम्रो अपनत्व बढी हुन्छ भनेर यसो गरिएको हो। गुठीको मूल उद्देश्य शिक्षामा कसरी काम गर्न सकिन्छ भन्ने हो।’

अहिले नेपालीहरूबीच देवनागरी मेरो, रञ्जना तेरो, सम्भोटा तेरो, श्रीजंगा अर्को भनेर विवाद गरिरहेकोमा स्वामीलाई चित्त बुझेको छैन। उनी भन्छन्, ‘त्यो गलत हो। नेपालमा भएका सबै लिपि हाम्रै हुन्। देवनागरी जान्नेले पनि रञ्जना जान्न पाउनुपर्छ। रञ्जना जान्नेले पनि देवनागरी जान्न पाउनुपर्छ।’ उनले राष्ट्रिय अभिलेखालयमा रञ्जना, मैथिली, लिच्छवि, कुटिला, भुजीमौरीजस्ता लिपि सुरक्षित रहेको बताए। ‘यी सबै नजानीकन हामी कसरी नेपाली हुने?’ उनको प्रश्न छ।

केशवानन्दका अनुसार पशुपतिसम्बन्धी लेखिएका स्तोत्र र स्तुतिहरू रञ्जना लिपिमा लेखिएका छन्। उनले राष्ट्रिय अभिलेखालयमा रञ्जना लिपिमा लेखिएका शिवस्तुति रहेको बताए। उनले भने, ‘हामी भारतमा लेखिएका स्तुति पाठ गर्दै आएका छौँ। रञ्जना लिपि नपढीकन नेपालमा संस्कृतविज्ञ हुन सकिँदैन।’

स्वामीले यी सबै कामको अपनत्व आफूले नलिने बताउँछन्। उनी भन्छन्, ‘मेरो को छ र? मैले अपनत्व लिने? यो तपाईँहरूको ठाउँ हो। मेरो त कोही छैन नि! तपाईँहरूकै बच्चालाई राम्रोसँग पढाउन सकियो भने त राम्रो हुन्छ। त्यसैले यो ठाउँलाई विश्वभरिका मानिसले गर्व गर्ने ठाउँ बनाउन आवश्यक छ।’

अनुवाद चन्द्रिकाको तृतीय र चतुर्थ प्रकाश विमोचन

काठमाडौँमा आइतबार अनुवाद चन्द्रिका (तृतीय-चतुर्थप्रकाशौ) प्रकाशन गरिएको छ। पण्डितराज सोमनाथ सिग्द्यालद्वारा लिखित उक्त ग्रन्थका सम्पादक डा. स्वामी केशवानन्द र उपपप्राध्यापक चिरञ्जीवी खतिवडा हुन्।

गौरीघाटस्थित वैदिक अनुसन्धान गुठी (वागद्वारा विश्व ध्यान दिवसको पावन अवसरमा आयोजित विशेष समारोहमा गुठीका अध्यक्ष डा. स्वामी केशवानन्द, काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष आशाराम संगत, प्राध्यापक भवानीप्रसाद खतिवडाबाट उक्त ग्रन्थ विमोचन गरिएको हो।

वेदान्तका प्राध्यापक भवानीप्रसाद खतिवडाले अनुवाद चन्द्रिकाका नामबाट धेरै कृतिले नाम पाए पनि सही अनुवाद चन्द्रिका भनेको सोमनाथ सिग्द्यालकै रहेको बताए। उनले भने, ‘यो ग्रन्थ आधिकारिक हो। कृतिको गहिराइ सबै पाठकलाई बुझाउनुपर्छ। गुठीका कार्यलाई सामान्य रूपमा मात्र लिन सकिँदैन।’

वेदान्तका प्राध्यापक भवानीप्रसाद खतिवडाले गुठीले अहिलेसम्म गरेको अध्ययन, अध्यापन, प्रकाशन र अनुसन्धानका विषयमा गहिरो अध्ययन गर्न आग्रह गरे। ‘गुठीको गरिमा र उद्देश्य प्राप्तिका लागि सुकुलमा बसेर कस्ताकस्ता प्रतिभाले अध्ययन गरिरहेका छन्? उनीहरू कहाँबाट आएका छन्? के गरिरहेका छन्? भन्ने कुरालाई दर्शक भएर होइन, सही रूपमा बुझ्नुपर्ने बेला भएको छ।’ उनले नेपालको संस्कृति सभ्यतामा महात्माहरूको विशेष योगदान रहेको भन्दै स्वामी केशवानन्दजस्ता महात्माले गरिरहेको कार्य पनि त्यसकै निरन्तरता भएको बताए।

उनले भने, ‘स्वामी डा. केशवानन्दबाट अध्ययन, अध्यापन र अनुसन्धानका क्षेत्रमा भइरहेका काम अत्यन्त उदाहरणीय छ।’ एउटा व्यक्तिले मात्र होइन, यो त राष्ट्रले मात्रै होइन भारतवर्षमा पनि गर्न नसकिएको काम वागले गरिरहेको भनाइ खतिवडाको छ।

कमाठमाडौँ महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले गुठीले शान्तपूर्वक रोचक तरिकाले देशलाई संसारभर चिनाउन, राष्ट्रको संस्कार र संस्कृतिलाई अनन्तकालसम्म जोगाउन गरिरहेका कार्य अतुलनीय रहेको बताए।

उनले भने, ‘बाहिरबाट हेर्दा साधारण किताब लागे पनि यो नेपाल राष्ट्र र संस्कारसँगसँग गाँसिएको विषय हो। समय सँगसँगै प्रविधिमैत्री गएका छन्। गुठीले एआईमार्फत काम गरिरहेको थाहा पाउँदा निकै खुसी लाग्यो। यस्तो कार्यलाई नै शिर उच्च राख्ने गरी काम गरिरहेको छ।

गुठी रहेको भवन नजिकैको सुरक्षा संयन्त्रलाई उचित ठाउँमा व्यवस्थापन गरिने प्रतिबद्धता उनले व्यक्त गरे। ‘समाजका लागि सुरक्षा पनि नभई नहुने कुरा हो। समाजमा शान्तिसुरक्षाबिना केही हुँदैन’, उनले भने, ‘गुठीले गरिरहेका कर्मलाई हामी अठ्यारो पार्दैनौँ।’

रञ्जना लिपि शिक्षकको व्यवस्था गर्ने प्रतिबद्धता

काठमाडौँ महानगरपालिकाका सम्पदाको संरक्षण गर्ने जिम्मेवारीमा रहेका संगतले गुठीमा एकजना रञ्जना लिपि शिक्षकको व्यवस्था गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘यस विषयलाई काठमाडौँ महानगरपालिकासमक्ष प्रस्ताव गर्नेछु’, उनले भने। गुठीको अभियानमा वडाका तर्फबाट समन्वय र सहकार्य गर्न आफू तत्पर रहेको पनि उनले बताए। उनले भने, ‘सबैको साथ भयो भने विकास र संरक्षण दुवै हुन्छ’, उनले भने।

संगतले पशुपति र गुह्येश्वरीलाई पुर्खाले छाडेजसरी संरक्षण गर्न आवश्यक रहेको औँल्याए। यसैगरी भगवान् पशुपतिनाथको सम्पत्ति जोगाइराख्नु हामी सबैको कर्तव्य रहेको बताए।

कार्यक्रममा संगतलाई उपहारस्वरूप वेदको पुस्तक प्रदान गरिएको थियो। सो अवसरमा वाग गुरुकुलम्का छात्रा, आँचल बसेल, रोजा बसेल एवम् हेमन्त भट्टले भजन प्रस्तुत गरेका थिए। यसैगरी कार्यक्रममा आँचल बसेलको ‘घाम’ शीर्षकको बालगीतको अडियो-भिडियो सार्वजनिक गरिएको थियो।

सो अवसरमा गौरीनगर सुधार समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठ, नवजागरुक युवा क्लबका अध्यक्ष अमृतजंग थापा, वाग गुरुकुलम्का प्राचार्य अर्जुन खतिवडा, गुठीका सञ्चालक डा. बिनुबाबा अर्याल, गुठीका पदाधिकारीहरूको उपस्थिति थियो।

वाग्ले यसअघि छन्दशिक्षा, अनुवाद चन्द्रिकाको पहिलो र दोस्रो भाग, संस्कार शिक्षा भाग १ र २, रुद्राष्टाध्यायी, शुक्ल यजुर्वेद, दशशान्तिमन्त्र जस्ता ग्रन्थ प्रकाशन गरिसकेको छ। यसअघि प्रकाशित संस्कार शिक्षा भाग १ र २ देशका विभिन्न विद्यालयमा पठनपाठन हुँदै आएको छ। अनुवाद चन्द्रिका संस्कृत सिक्न चाहने पढ्न चाहने र बुझ्न चाहनेका लागि उपयुक्त ग्रन्थ मानिन्छ।

अनौठा आधुनिक जोगी : डा. केएन स्वामी

प्रकाशित: ६ पुष २०८२ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast