सबै तस्बिरः पारिवारिक स्रोत।
सत्यको ज्योति बोकेर हिँडेका, न्यायको मसाल उज्यालो पार्दै जीवनभरि डटेर लड्ने एक साँचो योद्धा यो संसारबाट बिदा भएका छन्। ८९ वर्षको जीवनयात्रापछि ललितपुरको मेडिसिटी अस्पतालमा शनिबार साँझ प्रा. सुरेन्द्रबहादुर श्रेष्ठले सदाका लागि आँखा बन्द गरेका हुन्।
उनको देहले सोमबार पशुपति आर्यघाटको चितामा विश्राम लिए पनि उनले छोडेर गएको विचारको उज्यालो, सिद्धान्तको अडान र प्रेमको गहिराइ कहिल्यै निभ्ने छैन। उनका दुवै छोरा अमेरिकामा रहँदै आए पनि पछिल्ला वर्षमा बुबाआमालाई एक्लै कहिल्यै छाडेनन्। हिपको शल्यक्रियापछि त एक छोरा सधैँ साथमै हुन्थे। ७९ वर्षीया आमा र बुबालाई उनीहरूले माया र कर्तव्यको सुन्दर सन्तुलनमा राखेका थिए। कान्छा छोरा केही साता अघिमात्र हेरचाह गरेर फर्केका थिए। उनी अन्तिम दर्शनका लागि आउने भएकाले सुरेन्द्रबहादुरको अन्त्येष्टि दुई दिन ढिला गरिएको हो।

‘बुबाको हात समातेर बसेको त्यो अन्तिम क्षण, छोराहरूको आँखाबाट खसेका आँसु र आमाको मौन प्रार्थना’ ती दृश्यहरू आज हाम्रा सामु नाचिरहेछन्। उनको जीवन एउटा खुला किताब थियो – जसको हरेक पाना सत्यले लेखिएको थियो, हरेक हरफ न्यायले सजिएको थियो।
राजा महेन्द्र र वीरेन्द्रले विश्वास गरेका व्यक्ति तर दरबारको काखमा बसेर पनि दरबारलाई प्रश्न गर्न डर नमान्ने साहसी हृदय थियो श्रेष्ठको। राजाको जन्मोत्सवमा भव्य कार्यक्रम नगरेको भनेर दरबारमा उनीविरुद्ध उजुरीसमेत परेको थियो। त्यसमा उनले राजालाई भनेको प्रसंग उनका छोरा सञ्जय स्मरण गर्छन्, ‘भव्य समारोह गर्न एथेष्ट बजेट थिएन। बजेटले भ्याउने गरी समारोह गरेकै हो। हजुरको जन्मोत्सव मनाउन मारवाडी वा अन्य व्यापारीसँग चन्दा उठाउन मन लागेन, अनि जे सकिन्छ त्यही गरेँ भन्दा राजा मुस्कुराउँदै भन्नुभएछ, जे छ त्यही गर्यौ ठिक गर्यौ सुरेन्द्र।’
छोराहरूको बिहेमा राजारानी आफैँ सानेपाको घरमा आउने बाचा गर्थे। सानो छोराको बिहेमा बन्दहडतालका बीच राजा वीरेन्द्रले मोटर आफैँ हाँकेर रानी ऐश्वर्यलाई लिएर आइपुगेका थिए। ‘अनि घर त राम्रो रहेछ नि भन्दा श्रेष्ठले सरकार यो घर मैले पढाएर बचाएको पैसाले बनाएको, अञ्चलाधीश हुनुअघि नै बनेको हो है हजुर’ भन्दा राजाले ‘आइ नो, आइ नो’ भन्दै मुस्कुराएको पनि सञ्जय स्मरण गर्छन्।

किनकि विदेशको छात्रवृत्तिको कमाइले बनाएको इमानको घर थियो। ‘रानी ऐश्वर्यले ठूलो छोराको बिहेमा बन्दका कारण आउन पाएनौँ, सानोकोमा पनि आउन पाइन्न कि भन्ने थियो, पछि महाराज आफैँले मोटर हाँकेर भए पनि आयौँ भन्दा सबै परिवार दंग परेका थियौँ,’ सञ्जयले सुनाए।
लुम्बिनी अञ्चलाधीशको जिम्मेवारी पहिलो प्रस्तावमा अस्वीकार गरेका उनले राजाले दोस्रोपटक बोलाउँदा मात्र स्वीकार गरेका हुन्। सो जिम्मेवारी बहन गर्ने क्रममा दरबार निकटस्थका जग्गासमेत अधिग्रहण गरे। कोशी अञ्चलाधीश हुँदा २०३६ को आन्दोलनमा गोली नचली शान्ति कायम राख्ने एक मात्र अञ्चल कोशी बनेको थियो। तर जनमतसंग्रह घोषणा हुनासाथ उनले पद त्यागे, किनभने उनी सधैँ लोकतन्त्रको मुटुमा बाँच्ने मान्छे थिए। त्यहाँ जालसाजी हुन्छ भन्ने उनलाई पहिल्यै पत्तो थियो।

साउदी अरेबियामा राजदूत हुँदा खाडीका १० मुलुक एक्लै हेरिन्थ्यो। तत्कालीन युवराज सलमान (हालका राजा) लाई नेपालको राष्ट्रिय दिवसमा निम्त्याएर उपस्थित गराउने साहस उनीबाहेक अरू कसले गर्थे होला? अन्य मुलुकको राजदूतले उनलाई सोधेका थिए- सल्मानलाई कसरी ल्याउनु भयोर? हुन त अहिले पनि केही स्थानमा मुलुकले राम्रो राजदूत पाएकै छ। तर अधिकमा प्रभाव कम छ।
२०४६ को परिवर्तनपछि ११ जना राजदूतमध्ये राजीनामा दिने दुई जनामा सुरेन्द्र पनि एक थिए। डा. मोहनमान सैजुको राजीनामा स्वीकृत भयो, उनको चाहिँ दरबारले रुचाएको व्यक्ति भए पनि लोकतान्त्रिक धारका हुनाले लोकतन्त्रलाई अँगालो हालेका बीपीलाई विराटनगरमा सहजरूपमा ल्याउन सहयोग गरेका कारण होला उनलाई पुन: नियुक्ति दिएकाले उनले कार्यकाल पुरा गरेर नै फर्केका थिए।
गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले ‘उहाँलाई यहीँ राखौँ’ भनेपछि उनी लगातार राजदूत भएका हुन्। उनी शक्तिको पछाडि कहिल्यै दौडेनन्। खानेपानी आयोगको अध्यक्ष, निर्वाचन आयोगको अध्यक्ष, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको प्रमुख, गिरिजाप्रसाद र शेरबहादुर देउवाको सल्लाहकार- जति ठूला अफर आए, सबैलाई मुस्कानसाथ ‘मलाई पढाउन र पढ्न मन पर्छ’ भन्दै फर्काइदिन्थे।

राजासँग बसेर वाइन खाने कुरा हुँदा ‘मैले अल्कोहल कहिल्यै छोएको छैन’ भनेर पानीको गिलास उठाउने साहस उनीमा मात्र थियो। अन्य सहभागीले भने राजाको आग्रहलाई अस्वीकार गर्न हुन्न भन्थे तर राजा हाँसेर भन्थे, ‘ठीक छ सुरेन्द्रले भनेझैं, जसलाई जे मन पर्दैन त्यही भन्न सक्नुपर्छ।’
उनले सरस्वती कलेजको जग हाले, नेपाल प्रशासनिक स्टाफ कलेजलाई उचाइ दिए, त्रिचन्द्र-पाटन-त्रिविमा हजारौँ विद्यार्थीको जीवन उज्यालो पारे। राष्ट्रपति रामचन्द्र पौडेल, कमल थापा, अर्जुननरसिंह केसी, केशरबहादुर विष्ट लगायत उनका विद्यार्थीहरू आज देशका कुनाकन्दरामा छरिएर बसेका छन्।
उनी भन्थे, ‘बीलासी जीवन होइन, सहज जीवन जिउनुपर्छ, अनिमात्र मानिस साँच्चै खुसी हुन्छ।’ त्यही सहज जीवन उनले जिए, त्यही सन्देश उनले छोडेर गए। उनका दुई पुस्तक- ‘नेपालको प्रशासनिक विकेन्द्रीकरण’ र ‘समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध’ आज पनि पाठ्यपुस्तक बनेका छन्।

नेपाल विश्वसम्बन्ध परिषद्का पूर्वअध्यक्षका रूपमा अन्तर्राष्ट्रिय सम्बन्धमा उनको गहन दृष्टि प्रस्ट देखिन्थ्यो। विशेष गरी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले परिषद्मा सम्बोधन गरेको ऐतिहासिक अवसरमा उनले देखाएको भूमिका संस्थाको प्रतिष्ठालाई अभूतपूर्व रूपमा माथि उचाइ दिएको मानिन्छ।
संयुक्त राष्ट्रसंघको महासभामा दुईपटक नेपालको प्रतिनिधिमण्डलमा विज्ञ सदस्यका रूपमा सहभागी भएर उनले विश्व राजनीति र बहुपक्षीय कूटनीतिक प्रक्रियाको वास्तविक गतिशीलतामा सम्बोधन गरेका थिए, त्यतिबेला चार वा पाँच जना मात्र राष्ट्रसंघ महासभामा जान्थे।

विकेन्द्रीकरण आयोगमा सदस्यका रूपमा स्थानीय तह सशक्तीकरण र प्रशासनिक अधिकार वितरणका विषयमा उनले प्रस्तुत गरेका सुझावहरू आज पनि सान्दर्भिक मानिन्छन्। २०३६ सालको जनमतसंग्रह घोषणा र २०३७को जनमतसंग्रह पछि गठित संविधान आयोगमा उनले राज्य संरचना, प्रजातान्त्रिक अभ्यास र संवैधानिक व्यवस्थासम्बन्धी महत्त्वपूर्ण विमर्शलाई दिशानिर्देश गर्ने काम गरे।
इमान्दारिता, सिद्धान्तनिष्ठा, अनुशासन र सार्वजनिक हितप्रतिको प्रतिबद्धता– यी चार स्तम्भमा उभिएको उनको जीवनले कहिल्यै निजी स्वार्थलाई प्राथमिकता दिएन। उनले मुलुकमा बहुदल आएपछि उनलाई निर्वाचन आयोगको अध्यक्षको प्रस्ताव आएको थियो तर उनले अस्वीकार गरे। त्यसपछि उनलाई परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानको प्रमुख हुन भनिएको थियो त्यो पनि त्यागेर अध्यापनमा नै निरन्तर लागिरहे।
अधिक पुस्तक पढ्न रुचाउने उनी डा. भेषबहहादुर थापाका पनि प्रिय मित्र थिए। दुवै जना खुब मिल्थे। उनको निधन हुनु केही दिनअघि मात्र डा. थापाले श्रेष्ठलाई भेटेका थिए। उनै श्रेष्ठको प्रत्येक कदमले असंख्य मानिसमा प्रेरणाको ज्योति जगाइरह्यो। निर्भीक सोचका पहरेदार, कर्मप्रति समर्पित चिन्तक र सार्वजनिक हितप्रतिको अटल प्रतिबद्धता उनमा रहेको डा. थापा स्मरण गर्छन्।
छिमेकी भारतको इलाहावाद विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै उनले आफ्नो बौद्धिक यात्राको मजबुत पारिसकेका थिए। यही अध्ययनले उनको विश्लेषणशक्ति, निर्णयक्षमता र विषयप्रतिको गहिराइलाई जीवनभर मार्गदर्शन गर्यो। राजनीतिक चिन्तनदेखि अन्तर्राष्ट्रिय सम्बन्ध, प्रशासनदेखि शिक्षाको आधुनिक दृष्टिकोण- उनी सबै क्षेत्रमा समान रूपले जिज्ञासु र समर्पित रहे।
त्यतिबेला दरबारले अधययन गरेको अनुशासित व्यक्तिहरूलाई अघि बढाउँथ्यो। तर अहिले आफ्नालाई। यही फरक छ। उनी लोकतान्त्रिक धारका व्यक्ति थिए। कतिपय जिम्मेवारी उनलाई दिन खोज्दा पनि उनले लिएनन्।

खानेपानी आयोगको प्रमुख हुन उनलाई अनुरोध गरिएको थियो तर उनले सीधै अस्वीकार गरे। मेरो फिल्ड नै होइन भने। तत्कालीन रानी ऐश्वर्याकी आमाले समेत फोन गरेर ‘हामीलाई तपाईंले पानी नखुवाउने?’ भनेकी थिइन्। जबाफमा उनले भनेका थिए, ‘पानीको मानिस म होइन।’ त्यही खानेपानीको निहुँमा राजा इतरका लोकतान्त्रिक धार एकत्रित भइरहेका थिए। सायद उनले त्यही बुझेर नलिने भनेको पनि हुन सक्छ।
एक वर्षभन्दा बढी अमेरिकाका विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा सेवा गर्दै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली शैक्षिक क्षमताको प्रतिनिधित्व पनि गरे। उनी अमेरिकाको लिडरसिप कार्यक्रममा सहभागी भएका व्यक्ति हुन्।
प्रशासनिक भूमिकामा पनि उनी समान रूपले प्रभावशाली थिए। जावलाखेलस्थित नेपाल प्रशासनिक स्टाफ कलेज स्थापनामा उनको भूमिका लोभलाग्दो थियो। उनले त्यहाँ पनि आफ्नो योगदान दिए। पछि त्यहीँ उनी उपप्राचार्यका रूपमा कार्यरत रहँदा उनले संस्थालाई आधुनिक प्रशासनिक अध्ययन र क्षमता विकासको केन्द्रीय थलो बनाउन महत्त्वपूर्ण योगदान गरे। तत्कालीन प्राचार्य गोरक्षबहादुर न्हुछे प्रधानसँगको सहकार्यले संस्थामा नयाँ ऊर्जा भरेको थियो।

नेपालको शैक्षिक यात्रामा उनले विशेष छाप छाडे। शशीनारायण शाह र शंकरराज पाठकसँग मिलेर उनले सरस्वती कलेज (हाल सरस्वती मल्टिपल क्याम्पस) को जग बसाले। पछि सोही क्याम्पसको प्रमुख समेत भएर काम गरे। यद्यपि उनी त्रिचन्द्र, पाटन र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पनि अध्यापन गर्थे। अनुशासन, गुणस्तर र आधुनिक शैक्षिक दृष्टिकोण कायम गर्दै यो कलेजलाई उत्कृष्ट शिक्षाको आधारस्तम्भ बनाउने काममा उनी अग्रणी रहे।
मृत्युको केही दिनअघिसम्म लेखिरहेका थिए। उनको अन्तिम लेख ‘संघीयताको सत्र वर्ष : प्राप्ति र चुनौती’ हो। अब उनका नयाँ लेखहरू हामीले पढ्न पाउने छैनौँ। उनका आवाजहरू फेरि सुन्न पाउने छैनौँ। तर उनले छोडेर गएको इमानको बत्ती भने कहिल्यै निभ्ने छैन। प्रा. श्रेष्ठ संसारबाट बिदा भए पनि हाम्रो मुटुबाट भने कहिल्यै बिदा हुने छैनन्। उनको आत्माले चिरशान्ति पाओस्। ओम शान्ति।





