काठमाडौँ- भट्टी धाउनेको कथामा नाटक ‘भट्टी टेल्स’ मञ्चन हुने भएको छ। नाटक जेम्स ढकालको लेखन र निर्देशनमा मञ्चन हुन लागेको हो।
शीर्षकअनुसार नाटक भट्टी पसलमा आउने मानिसहरूको केन्द्रियतामा बनेको निर्देशक ढकालले बताए। ‘ ‘भट्टी टेल्स’ मौलिक रंगमञ्चीय कृति हो। सामान्यतया भीड, धुँवा र हल्का संगीतले भरिएको स्थान भट्टी हो। जहाँ ठट्टा, पीडा, संघर्ष र आशा एउटै टेबुलमा बस्छन्। यही ठाउँ नाटकको मुख्य पृष्ठभूमि बनेको छ,’ उनले भने।
नाटकले सतहमा नदेखिने मानिसहरूको जीवनभित्रको सपना, सम्बन्ध, निराशा र दैनिकी संघर्षलाई वास्तविकता र काव्यमय अभिव्यक्तिको संयोजनमार्फत प्रस्तुत गरिएको उनले जानकारी दिए।
नाटक आगामी पुस १६ देखि माघ ३ सम्म मञ्चन गरिनेछ। नाटक सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजकाे साधनाघर थिएटरमा मञ्चन हुने निर्देशक ढकालले जानकारी दिए।
उनका अनुसार नाटकमा कलाकार सुदाम सिके, बेदना राई, रुपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, तान्डव, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटि र थार्चेन लामाले अभिनय गर्नेछन्। अहिले नाटककाे रिहर्सल चलिरहेकाे छ।
ओस्कार इन्टरनेसनल कलेजको प्रस्तुति रहेको नाटकमा फ्रयान्क्लिन एडुकेसनल कन्सल्टेन्सिले सहकार्य गरेको छ।



