काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेनजी आन्दोलनको म्यान्डेटविपरित अघि बढ्न खोजेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका माग जेनजी आन्दोलनको रहे पनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको बताए। वर्तमान सरकार ८४ को निर्वाचन ८२ मा गर्न मात्रै गठन नभएको हेक्का राख्न उनले सुुझाव दिए।
शाहीले जनेजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भए पनि वर्तमान सरकारले समेत शान्ति, सुशासन र अमनचयनमा ध्यान दिन नसकेको बताए। वर्तमान सरकारबाट जेनजी युवाहरुमाथि धोका भएको उनको भनाइ छ। शाहीले देशले जित्ने गरी राजा, जेनजी र दलहरुबीच गोलमेच सम्मेलन गरी संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिए। अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आए पनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ।
उनले प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था कायमका लागि दबाब दिन राप्रपाले मंसिर २३ गते उपत्यकामा प्रदर्शन गर्न लागेको जानकारी दिए।
राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभइ सवै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनता सडकमा आउने उनको भनाइ छ।



