चोटको बाबजुद खेलेका नाडाल अस्ट्रेलियन ओपनबाट बाहिरिए

हिमाल प्रेस ४ माघ २०७९ १३:२२ | Wednesday, January 18, 2023
चोटको बाबजुद खेलेका नाडाल अस्ट्रेलियन ओपनबाट बाहिरिए

काठमाडौँ- डिफेन्डिङ च्याम्पियन राफाएल नाडाल अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन्। बुधबार दोस्रो चरणको खेलमा अमेरिकी खेलाडी म्याकेन्जी म्याक्डोनाल्डसँग हारेसँगै नाडालको उपाधि रक्षा गर्ने अभियान अन्त्य भएको हो।

स्पेनका ३६ वर्षीय स्टारलाई अस्ट्रेलियन ओपनको वरीयतामा ६५ औँ स्थानमा रहेका म्याडोनाल्डले ६–४, ६–४, ७–५ ले स्तब्ध बनाए। नाडालका लागि यो सात वर्षयताकै खराब नतिजा हो। मेलबर्न पार्कको मुख्य कोर्ट रोड लेभर एरिनामा नाडाल असहज मानीमानी खेलिरहेका थिए। उनलाई ‘हिप इन्जुरी’ भएको हुनसक्ने शंका गरिएको छ।

नाडाल वर्षको पहिलो ग्रान्डस्लामबाट चाँडै बिदा भएपछि फाइदा उनका प्रतिद्वन्द्वी नोभाक जोकोभिचलाई हुनसक्ने देखिएको छ। सर्बियाका जोकोभिच एक वर्षपछि मेलबर्न फर्किएका छन्। जहाँ उनले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। सर्वाधिक पटक अस्ट्रेलियन ओपन जितेका जोकोभिच यसपालि पनि च्याम्पियन बने यो उनका लागि २२ औँ ग्रान्डस्लाम उपाधि हुनेछ। नाडालको नाममा पनि २२ ग्रान्डस्लाम छ।

अमेरिकी विपक्षीसँग भिड्दै गर्दा नै नाडालले प्रारम्भिक उपचार गराएका थिए। पहिलो सेट हारेपछि दोस्रो सेट जसरी पनि जित्ने दबाबमा परेका नाडालले दोस्रो सेट दौरान अप्ठ्यारो महसुस गरेको देखिएको थियो। उपचारपछि उनी खेलमा त फर्किए तर नतिजा आफ्नो पक्षमा पार्न सकेनन्। नाडालको यस्तो हालत देखेर उनी श्रीमती मेरी आँसुसरी बनेकी थिइन्।

‘नाडाल च्याम्पियन हुन्। उनी अन्तिम समयसम्म लड्छन्, हार मान्दैनन्। आज पनि उनले हार मानेनन्। बरु डटेर खेलिरहे। यस्ता खेलाडीसँग खेल्दा आफू मानसिक रुपमा बलियो हुनुपर्छ। जे होस् मैले धैर्यपूर्वक खेलेँ, जितको बाटो पहिल्याएँ,’ नाडाललाई पराजित गरेपछि म्याक्डोनाल्डले भने।

अस्टे«लियन ओपनबाट नाडाल चाँडै घर फर्किएकाे यो पहिलो पटक होइन। सन् २०१६ मा उनी पहिलो चरणमै पराजित भएका थिए। नाडाल म्याक्डोनाल्डसँग पछिल्लो पटक सन् २०२० को फ्रेन्च ओपनमा भिडेका थिए। त्यसबेला नाडाल सजिलै विजयी भए।

प्रकाशित: ४ माघ २०७९ १३:२२ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast