काठमाडौँ- नेपाली सेनाका रथी (लेफ्टिनेन्ट जनरल) गणेशकुमार श्रेष्ठले दुई सुडान (सुडान र दक्षीण सुडान) ले दाबी गरेको अबेई क्षेत्रमा रहेको राष्ट्र संघीय अन्तरिम सुरक्षा बलको नेतृत्व गर्ने भएका छन्। उनलाई राष्ट्रसंघका महासचिव एन्टेनियओ गुटेरसले बुधबार अबेईस्थित राष्ट्रसंघीय सुरक्षा बल युनिस्फाको नयाँ फोर्स कमाण्डर नियुक्त गरेका हुन्।
श्रेष्ठले घानाका उपरथी मेजर जनरल रोबर्ट याव अफ्रामको स्थानमा जिम्मेवारी लिनेछन्। उनले यसअघि नै दक्षिण सुडानको सेक्टर कमाण्डर भएर काम गरेका थिए। दुई सुडानले दाबी गरेको त्यस क्षेत्रमा राष्ट्रसंघले जुन २०११ देखि नै राष्ट्रसंघीय फोर्स राख्दै आएको हो। अहिले पनि त्यहाँ बहुराष्ट्रिय सेना ३ हजार २ सय ५० र बहुराष्ट्रिय प्रहरी ६ सय ४० खटिएका छन्। विभिन्न मुलुकका सेना तथा प्रहरीलाई नेपाली सेनाका तीन तारे जर्नेलले आगामी एक वर्ष नेतृत्व गर्नेछन्।
राष्ट्र संघीय सुरक्षा परिषद्ले त्यस क्षेत्रको शान्ति सुरक्षाको लागि म्यान्डेटलाई नोभेम्बर १५, २०२६ सम्मका लागि पुनः विस्तार गरेकाले त्यहाँ नेपालीले नेतृत्व गर्ने अवसर पाएको हो। त्यसपछि पनि त्यहाँको समय थप भएमा एक वर्ष उनको पनि समय थप हुन सक्छ।
राष्ट्रसंघीय अन्तरिम सुरक्षा बल-अबेई जुन २७, २०११ मा स्थापना गरिएको मिसन हो, जसको उद्देश्य सुडान र दक्षिण सुडानको सीमावर्ती विवादित क्षेत्र अबियेलीमा नागरिकहरूको सुरक्षा गर्नु, सीमा अनुगमन गर्नु र मानवीय सहयोग सहज बनाउन सहयोग पुर्याउनु हो।
नेपाली सेनाले विसं २०१६ देखि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा भाग लिन थालेको हो। अहिलेसम्म एक लाख १० हजार जनाले मिसनमा भाग लिएका छन्। मिसनमा सहभागिताको तीन दशकपछि ०४९ देखि सेनाले मिसनको व्यवस्थापकीय तहमा स्थान बनाउन थालेको हो। हालसम्म एक लाख ६१ हजार नेपाली सेनाले विश्व शान्तिको लागि काम गरेका छन् भने अहिले पनि ५ हजार ४४ सेना विभिन्न १० मिसनमा खटिएर काम गरिरहेका छन्।
श्रेष्ठ हाल नेपाली सेनाको मुख्यालयमा रथी अर्थात् लेफ्टिनेन्ट जनरलका रूपमा मास्टर जनरल अफ अर्डनेन्सको जिम्मेवारी सम्हालिरहेका छन्। नेपाली सेनामा साढे तीन दशक भन्दा बढी समय बिताएका उनी सैन्य यात्रामा शान्ति र द्वन्द्व दुवै समयमा नेपाल र अन्तर्राष्ट्रिय तहमा उत्कृष्ट नेतृत्व र रणनीतिक क्षमताका लागि परिचित छन्।
अन्तर्राष्ट्रिय शान्ति सेनामा पनि उनको योगदान उल्लेखनीय छ। उनले चारवटा विभिन्न राष्ट्रसंघीय मिसनमा सेवा गरेका छन्यु- एनप्रोफोर (क्रोएसिया, १९९५) मा सहायक सञ्चालन अधिकृत, मोनुक (कंगो लोकतान्त्रिक गणतन्त्र, २००७) मा मिलिटरी अब्जर्भर, अनसाम (सोमालिया, २०१६) मा मिलिटरी एडभाइजर तथा यूएनमिस (दक्षिण सुडान, २०२१) मा सेक्टर कमाण्डरका रूपमा थिए। साथै उनले वाशिङ्टन डीसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको नियर ईस्ट-साउथ एसिया सेन्टरको एक्जिक्युटिभ सेमिनार तथा मलेसियामा आयोजित इन्डो-प्यासिफिक आर्मी चिफ्स’ कन्फरेन्स (आईप्याक) लगायतका उच्चस्तरीय सैन्य सेमिनार तथा सम्मेलनहरूमा नेपाली सेनाको प्रतिनिधित्व गरेका छन्।
उनले स्थानीय र अन्तर्राष्ट्रियस्तरको विभिन्न प्रकारको जिम्मेवारी सेनाभित्र सम्हालेका छन्। उनले सुदूरपश्चिम डिभिजनका डिभिजन कमाण्डरको रूपमा नेतृत्व गरेका छन्। त्यस्तै संयुक्त राष्ट्र शान्ति मिसनहरूमा पनि उनको योगदान उल्लेखनीय छ, विशेष गरी संयुक्त राष्ट्रसंघीय दक्षिण सुडान मिसनमा उनी सेक्टर कमाण्डरको रूपमा नै काम गरिसकेका छन्।
उनले यसअघि नेपाली सेना मुख्यालयमा अड्जुटेन्ट जेनरलका साथै वीरेन्द्र सैनिक अस्पतालका प्रशासनिक रजिष्ट्रार, नेपाली सेना मुख्यालयमा नीति तथा योजनाका निर्देशक तथा १६ र ९ नम्बर ब्रिगेडका ब्रिगेड कमाण्डरका रूपमा पनि सेवा गरेका छन्।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै संस्थाबाट विभिन्न सशस्त्र पेसागत तालिम तथा अध्ययन पूरा गरेका छन्। नेपाली सेनाभित्र उनले जुनियर स्टाफ कोर्स, कम्पनी कमाण्डर्स’ कोर्स, आर्मी कमाण्ड एन्ड स्टाफ कोर्स तथा नेपाली सेना युद्ध विद्यालयमा उच्च कमाण्ड तथा व्यवस्थापन कोर्स पूरा गरेका छन्।
अन्तर्राष्ट्रिय रूपमा करियरको सुरुआतमै बंगलादेशमा जुनियर कमाण्ड एन्ड स्टाफ कोर्स गरेका उनले अमेरिकाको फोर्ट लेभनवर्थ, क्यान्सासस्थित कमाण्ड एन्ड जनरल स्टाफ कलेजबाट स्नातक गरेका छन्। साथै चीनको नान्जिङस्थित आर्मी कमाण्ड कलेजमा बटालियन कमाण्डर्स’ कोर्स तथा बेइजिङमा राष्ट्रिय रक्षा कोर्समार्फत आफ्नो रणनीतिक ज्ञानलाई अझ गहिरो बनाएका छन्।
लेफ्टिनेन्ट जनरल श्रेष्ठले नेपाली सेनामा विभिन्न तहका कमाण्ड तथा स्टाफ पदमा कार्य गर्दै अनुभव हासिल गरेका छन्। उनले इन्फेन्ट्री कम्पनी, इन्फेन्ट्री ब्याटालियन, इन्फेन्ट्री ब्रिगेड, कम्ब्याट सर्भिस सपोर्ट ब्रिगेड तथा इन्फेन्ट्री डिभिजनको कमाण्ड गरेका छन्।
विशेष गरी २०७२ सालको विनाशकारी भूकम्पपछि राष्ट्रियस्तरमा खोज तथा उद्धार कार्यको योजना निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। मातृभाषा नेपालीका अलावा उनी अंग्रेजीमा दख्खल राख्छन् भने हिन्दी भाषामा कार्यगत ज्ञान छ। उनको श्रीमती मोनिला, एक छोरा गर्वित छन्।



