काठमाडौँ- देशका सक्रिय राजनीतिक दलहरूबीच एकता हुने क्रम बढेको छ। जेनजी आन्दोलन, प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति घोषणापछि दलहरूबीच एकता हुन थालेको हो। एकता प्रक्रियामा वामपन्थी दलहरू अगाडि देखिएका छन्।
नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी नयाँ शक्ति, विवेकशील साझा पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूको पहिचान अन्त्य भएको छ। तीमध्ये नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ। विवेकशील साझाले भने राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय हुने निर्णय गरेको छ।
कात्तिक ११ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायत वाम दलबीच एकता घोषणा गरिएको थियो। एकता पश्चात् पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ र चुनाव चिह्न तारा तोकिएको छ। पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने सहसंयोजक माधवकुमार नेपाल छन्। झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावललगायत नेता क्रमशः वरीयतामा छन्।
मंसिर ११ गते पुनः नेपाली कम्युनिस्ट पार्टीमा जनता समाजवादी पार्टी (एकीकरण पक्षधर समूह), जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह विलय भएका छन्। सहमतिपत्रमा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र जसपाका तर्फबाट संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
मंसिर ७ गते पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री राम कार्की, पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री सुदन किराती, सन्तोष परियारलगायतले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको बृहत् एकता घोषणा गरिएको छ। माओवादी परित्यागपछि प्रगतिशील राष्ट्रिय अभियान चलाइरहेका जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी नयाँ शक्तिका डा. भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकताले यो नयाँ पार्टी बनेको हो।
पार्टीलाई संयुक्त अध्यक्ष मण्डलले नेतृत्व गर्नेछ। १५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ। डा. भट्टराई संरक्षक रहनेछन् भने नेता शर्मा र कार्की नीति परिषद्मा रहनेछन्। पार्टीको चुनाव चिह्न आँखा तोकिएको छ।
घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (पुनर्गठन अभियान) र नेकपा (संयुक्त) बीच पनि एकता भएको छ। बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्तबीच एकता घोषणा गरिएको हो। पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी संयुक्त राखिएको छ र चुनाव चिह्न हँसिया तय गरिएको छ। सहमतिपत्रमा चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन्। दुई महिनाभित्र राष्ट्रिय सम्मेलन गर्ने सहमति भएको छ।
यसैगरी विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले पार्टी उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारद्वारा प्रस्तुत ‘वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’ लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरणको निर्णय पारित गरेको हो। एकीकरण घोषणा कार्यक्रम आइतबारका लागि तय गरिएको छ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जसपाबीच एउटै चुनाव चिह्न जाँतो लिएर चुनावमा जाने कार्यगत एकता भएको छ। जाँतो नाउपाको निर्वाचन चिह्न हो।
यता, एकीकृत समाजवादीबाट नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) सहितका नेता एमालेमै फर्किएका छन्। झाँक्री र श्रेष्ठ २०७८ सालमा एमाले विभाजन हुँदा एकीकृत समाजवादीतर्फ गएका थिए।
कात्तिक २४ गते एमालेले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘घर फर्क’ राष्ट्रिय अभियानअन्तर्गत झाँक्री र श्रेष्ठ पुरानै घर नेकपा एमालेमा फर्किएका हुन्। सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायत पनि एमाले प्रवेश गरेका थिए।
आयोगमा दर्ता कायम दलको संख्या १३७
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरिएको छ। निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थप गरिएको बताएको छ।
निर्वाचन आयोगमा दर्ता कायम दलहरूको संख्या १३७ पुगेको छ। नयाँ दल दर्ताका लागि प्राप्त निवेदनमाथिको कारबाहीसमेत जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि २०८२ मंसिर १४ गतेसम्म थपेको छ।
मंसिर १ गतेदेखि १० गतेसम्मका लागि दल दर्ताको समय तोकिएकोमा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ दलबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ।


