जेनजीमाथि आक्रमण गर्नेलाई कारबाही, शान्त छ सिमरा

हिमाल प्रेस ६ मंसिर २०८२ ११:२१
16
SHARES
जेनजीमाथि आक्रमण गर्नेलाई कारबाही, शान्त छ सिमरा

जनकपुरधाम- बाराको सिमरामा गत तीन दिनदेखि जारी तनाव स्थानीय प्रशासनसँगको मौखिक सहमति पछि अन्त्य भएको छ।

जेनजी समूहका युवाहरूसँग शुक्रबार सांझसम्म भएको वार्तापछि आन्दोलनलाई तत्काल सोमबारसम्म स्थगित गर्ने निर्णय गरिएको छ । शुक्रबार पथलैया स्थित सशस्त्र प्रहरी बलको प्राविधिक शिक्षालयमा सुदन गुरूङको उपस्थिितिमा जेनजी प्रतिनिधि र स्थानीय प्रशासनबीच वार्ता भएको थियो।

वार्तामा प्रशासनले जेनजीमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्ने, घाइतेहरूको उपचारमा समन्वय गर्ने तथा आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्ने प्रतिवद्धता आएपछि आन्दोलन स्थगित गरिएको छ ।

जेनजी बारा संयोजक सम्राट उपाध्यायका अनुसार नेकपा एमाले निकट कार्यकर्ताबाट आक्रमण भएको भन्दै उनीहरूले राखेका माग पूरा गर्ने आश्वासन पाएपछि शनिबार र आइतबार पर्खने निर्णय गरिएको हो। उनले भने, ‘यदि सोमबारसम्म सहमति कार्यान्वयनमा ढिलाइ भयो भने आन्दोलन पुनः तीव्र बनाइनेछ।’

सिमरा घटनापछि प्रहरी प्रधान कार्यालयले बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई फिर्ता बोलाएको छ। उनको स्थानमा एसपी नरेन्द्र कुँवरलाई काज सरुवा गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले पुष्टि गरेका छन्।

बुधबार सिमरामा नेकपा एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु समेत लगाएको थियो। बिहीबार प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोलीसमेत चलाएको थियो। जेनजी समर्थकमाथि कुटपिट भएको आरोपमा प्रदर्शनकारीहरूले ९ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्। प्रहरीले तीमध्ये केहीलाई पक्राउ गरेको छ।

जितपुर–सिमरा उपमहानगरपालिका–२ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमुद्धिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: ६ मंसिर २०८२ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast