‘वैकल्पिक शक्ति’सँग हातेमालो गर्ने प्रयत्नमा बाबुराम-जनार्दन, को को छन् संवादमा?

हिमाल प्रेस ४ मंसिर २०८२ ११:३५
102
SHARES
‘वैकल्पिक शक्ति’सँग हातेमालो गर्ने प्रयत्नमा बाबुराम-जनार्दन, को को छन् संवादमा?

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, विघटित नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, विघटित केन्द्रका सचिव राम कार्कीसहितका नेताहरूले  आगामी आइतबार राष्ट्रियसभा गृहमा एकता गर्दैछन्।

जनार्दन प्रगतिशील राष्ट्रिय अभियानलाई पार्टीमा रूपान्तरण गर्दै वैकल्पिक पार्टीको रूपमा अघि बढाउने योजनामा छन्। उनीहरूले पार्टीलाई थप सशक्त बनाउन अन्य पार्टी/अभियान/ व्यक्तिलाई जोड्न अहिले दौडधूपमा छन्।

निकट नेताहरूका अनुसार मधेश केन्द्रित दल, नागरिक पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरू, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीलगायतसँग निरन्तर छलफल भएको छ। बुधबार मात्रै लेखक खगेन्द्र संग्रौलासँग छलफल भएको थियो।

‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा अघि उनीहरूले त्यसअघि छरिएर रहेका वैकल्पिक शक्ति, समूह, व्यक्ति, अभियन्तालाई पार्टीमा गोलबद्ध गर्न लागेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का एक नेताले जानकारी दिए।

उनका अनुसार कुलमान घिसिङको उज्यालो नेपाल, पार्टी, नागरिक पहिलोका डम्बर खतिवडा, विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बाँस्कोटा, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालसँग छलफल भइरहेको छ।

रास्वपा छाडेकी सुमना श्रेष्ठसँग पनि छलफल भइरहेको ती नेताले जानकारी दिए। उनको भनाइमा डा.तोसिमा कार्कीसहित ठूलो समूह प्रगतिशील लोकतान्त्रि पार्टीमा आबद्ध हुँदैछन्।

यसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग पनि छलफल अघि बढेको बताउँदै ती नेताले बिहीबार हिमालप्रेससँग भने, ‘रास्वपाबाट ठूलो संख्यामा प्रगतिशील पार्टीमा आबद्ध हुँदैछन्। अशोक राई, रेशम चौधरीलगायत मधेश केन्द्रित दल, समूह तथा व्यक्तिसँग छलफल भएको छ।’

पछिल्लो समय स्वायत्त मधेशको माग राख्दै आएका जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग भने छलफल नभएको ती नेताले जानकारी दिए। विगतमा राउतसँग वैकल्पिक राजनीतिको विषयमा बाक्लो संवाद तथा छलफल भएको थियो।

प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामूहिक नेतृत्व प्रणालीको चर्चा छ। नेसपा नयाँ शक्तिका नेता रूपनारायण श्रेष्ठले भने,‘अहिलेसम्म सामूहिक नेतृत्व प्रणालीमा जाने कुरा भएको छ। टुंगिएको भने छैन।’

रास्वपा छाडेर प्रगतिशील पार्टीमा जोडिएका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक दुर्गा सोब सामूहिक प्रणालीको नेतृत्वमा रहने बताइएको छ।

त्यस्तै, पछिल्लो समय जेनजी अगुवासँग छलफल चलाइरहेको प्रगतिशील राष्ट्रिय अभियान, नेसपा नयाँ शक्तिले जेनजीका केही समूहलाई पनि जोड्ने तयारी गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८२ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast