काठमाडौँ- नेपाली कांग्रेसका बौद्धिक तथा अनुभवी नेता सुरेन्द्रप्रसाद चौधरी नेपाली राजनीतिमा दशकौँ समर्पित भएका पात्र हुन्। प्रतिनिधिसभा सदस्यमा पर्सा-३ बाट चारपटक निर्वाचित र तीनपटक मन्त्रीको जिम्मेवारी वहन गरेका चौधरी आज पनि राजनीति, समाजसेवा र अध्ययनलाई समान रूपमा अघि बढाइरहेका छन्।
शिक्षा, विज्ञान प्रविधि र वाणिज्य तथा आपूर्ति मन्त्रालय सञ्चालनका क्रममा उनले प्राप्त गरेका अनुभव, सन्त नेता कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासँग काम गर्दा सिकेका मूल्यमान्यताले उनलाई विचारशील र विश्लेषणात्मक नेताको रूपमा चिनाएको छ। लोकतान्त्रिक आन्दोलनका क्रममा आठ वर्ष जेल बस्नुपरेको संघर्षमय इतिहासले उनको राजनीतिक यात्रालाई अझ परिपक्व बनाएको छ।
चौधरी अहिलेको नेपाली राजनीति गम्भीर विचलनको अवस्थामा रहेको बताउँछन्। सेवा, विचार र नैतिकतामा आधारित हुनुपर्ने राजनीति गलत प्रवृत्ति र मानसिकताका मानिसहरू राजनीतिमा प्रवेश गर्दा समग्र वातावरण दूषित बन्दै गएकोमा उनी चिन्तित छन्। चौधरी भन्छन्, ‘बिचौलियाले राजनीति नियन्त्रण गर्न थाल्यो, अपराध र राजनीति बीचको दूरी घट्यो र नेताहरूमा सत्ता, धन र दुरुपयोगको लालसा बढ्यो।’
चौधरीको दृष्टिमा अहिले भएका समस्या समाजका कमजोरी नभई नेतृत्वकै असफलता हो। ‘कमाउने, लुटपाट गर्ने, भ्रष्टाचार गर्ने नेताहरू स्थापित भए, पुस्तान्तरण रोकियो,’ उनले भने। पुराना नेताहरूको सोच अझै ५० वर्षअघिका मान्यतामै अड्किएका कारण नयाँ पुस्ताको आकांक्षा, विचार र आलोचनात्मक सोचाइलाई बुझ्न नसकिएको चौधरीको ठहर छ। उनी भन्छन्, ‘सबै नेताको एउटै छवि बनाइयो- चोर, भ्रष्ट। किनकि नेतृत्वले नै जनविश्वास गुमायो।’
आर्थिक अवनति, कुशासन र चरम भ्रष्टाचारले देशलाई डिप्रेसनको अवस्थामा पुर्याएको उनको मूल्यांकन छ। सामाजिक सञ्जाल बन्द गर्ने तत्कालीनप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयलाई चौधरीले डिजिटल लोकतन्त्रमाथिको गम्भीर आक्रमणका रूपमा लिएका छन्।
केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पुरानो पुस्तामा रहेका शीर्ष नेताहरूले डिजिटल अधिकार, अभिव्यक्ति स्वतन्त्रता र नयाँ पुस्ताको आवाज के हो भन्ने नै बुझ्न नसकेको चौधरीको टिप्पणी छ। ‘उनीहरूको घरमा आक्रमण हुँदा लोकतन्त्रमाथि आक्रमण भएको ठान्छन् तर सामाजिक सञ्जाल बन्द गर्दा लोकतन्त्रमा आक्रमण भयो भन्ने बुझ्दैनन्,’ उनी भन्छन्।

आजको पुस्ताले प्रश्न गर्न सिकेको, आलोचनात्मक सोचाइ विकास गरेको र यही परिवर्तनलाई पुरानो नेतृत्वले नबुझ्दा राजनीतिक अवरोध गडबडी थपिएको उनको भनाइ छ। गत भदौ २३–२४ को आन्दोलनलाई विदेशी शक्तिले गराइदियो भन्ने तत्कालीन सरकार र नेताहरूको भनाइमा कुनै सत्यता नभएको पनि चौधरीले बताए। उक्त घटना तत्कालीन सरकारको सामूहिक मूर्खताको परिणाम भएको उनको भनाइ छ।
चौधरीले अहिलेका शीर्ष नेताहरू ओली, देउवा, प्रचण्डसहितलाई अब नेतृत्वबाट अलग हुन सुझाव दिएका छन्। उनका अनुसार यी नेताहरूले नयाँ पुस्ताको भाषा, माग र राजनीति बुझ्नै सकेका छैनन्। ‘अब तिनीहरूले केही चमत्कार गर्छन् भनेर सोच्नु दिवास्वप्न हो,’ चौधरीले भने। उनीहरूले नेतृत्व छोडे मात्र पार्टीमा नयाँ विचार, नयाँ ऊर्जाको बहाव सम्भव हुने उनको चौधरीको तर्क छ। चौधरीले नेल्सन मन्डेलालाई उदाहरण दिँदै उचित समयमा राजनीतिबाट बाहिरिन सक्ने संस्कृति नेताको महानता हो भन्ने दृष्टिकोण पनि राखे।
नेता चौधरीले नेपाली कांग्रेसको नेतृत्वबारे बोल्दै महामन्त्री गगन थापालाई आशालाग्दो, सक्षम र भावी प्रधानमन्त्रीका रूपमा टिप्पणी गरे। थापालाई अझ परिष्कृत बनाउन राजनीतिक अभीमुखीकरण, नेतृत्व तालिम आवश्यक रहेको र उनीभित्र क्षमता र इमानदार ऊर्जा दुवै रहेको चौधरीको बुझाइ छ। आलोचना लोकतन्त्रको स्वाभाविक हिस्सा भएकाले गगनमाथि हुने आलोचना उनले सामान्य रूपमा लिनुपर्ने चौधरीले बताए। यसैगरी उनले नेताहरू राजा बन्न खोज्दा र राजा नेता बन्दा मुलुकको राजनीतिमा गलत प्रवृत्ति भित्रिएको बताए।
देश अहिले ठूलो भूराजनीतिक तथा आन्तरिक संकटतर्फ धकेलिँदै गएकोमा उनले चिन्ता जनाए। चौधरी भन्छन्, ‘कुनै पार्टी वा नेताको अस्तित्व संकटमा पर्नु ठूलो कुरा होइन, राष्ट्र र राष्ट्रियता नै संकटमा पर्न थाल्नु अत्यन्त गम्भीर हो।’
भिडियो


