राष्ट्र पुनर्निर्माणमा सघाउन यूएईका नेपाली प्रतिबद्ध

हिमाल प्रेस २४ कार्तिक २०८२ १३:३३
8
SHARES
राष्ट्र पुनर्निर्माणमा सघाउन यूएईका नेपाली प्रतिबद्ध

काठमाडौँ- अबुधाबीस्थित नेपाली राजदूतावासमा आइतबार जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी संरचनाहरूको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि गैरआवासीय नेपाली समुदायको भूमिका र योगदान केन्द्रित ‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान र भूमिका’ विषयक छलफल भएको छ।

यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रममा यूएईमा रहेका विभिन्न संघसंस्था, पेसागत संघ र समुदायका प्रतिनिधिहरूले मातृभूमिको पुनर्निर्माणका लागि सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा राजदूत क्षेत्रीले नेपाल सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको जानकारी गराउँदै राष्ट्र पुनर्निर्माण अभियानमा गैरआवासीय नेपाली समुदायलाई योगदान दिन आग्रह गरे। राजदूत क्षेत्रीले भने, ‘नेपाल सरकारको आह्वानअनुसार सबै गैरआवासीय नेपालीले आफ्नो क्षेत्र र क्षमता अनुसार पुनर्निर्माण कोषमा सहयोग गरेर मातृभूमिको पुनर्निर्माणमा सहभागी हुनुपर्छ।’

उनले विदेशमा रहेका नेपालीहरूको सीप, दक्षता र ज्ञानलाई नेपालको विकासमा समेट्नका लागि परराष्ट्र मन्त्रालयले स्थापना गरेको ब्रेन गेन सेन्टरमा दूतावासले विवरण संकलन गर्दै आएको जानकारी दिँदै सबै पेसा र क्षेत्रका नेपालीहरूले दूतावासको क्यू आर काेडमार्फत आफ्ना विवरण उपलब्ध गराउन पनि अनुरोध गरे।

छलफलमा सहभागी नेपाली समुदायका प्रतिनिधिहरूले नेपाल सरकारले गरेको पुनर्निर्माण आह्वानको स्वागत गर्दै यूएईमा रहेका विभिन्न संघसंस्था र समुदायहरूले सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूले पुनर्निर्माण कोष पारदर्शी रूपमा सञ्चालन भएमा यूएईको नेपाली समुदायले सामूहिक रूपमा कुनै एउटा संरचना निर्माणमा सहयोग गर्न सकिने सुझाव पनि दिएका छन्।

सहभागीहरूले दूतावासको सेवा प्रवाहप्रति सन्तुष्टि जनाउँदै यूएईमा रहेका नेपालीलाई कानुनी चेतना र अनुशासनका विषयमा सचेतना अभियान सञ्चालन गर्न सुझाव दिए। साथै राहदानी सेवा ढिलो हुने समस्या समाधानका लागि दूतावासलाई ध्यानाकर्षण गराइएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (यूएई), नेपाल एसोसिएसन, आदिवासी जनजाति महासंघ, वैचारिक संगठनहरू, समाज तथा संस्थाका प्रतिनिधिहरू, व्यवसायी, डाक्टर, इन्जिनियर, सञ्चारकर्मी र समाजसेवीलगायत करिब ६० जनाको सहभागिता थियो। कार्यक्रमको सञ्चालन दूतावासका श्रम काउन्सेलर दिपेन्द्र पौडेलले गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast