मधेशका मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन सकस, मतविभाजन टार्ने प्रयास

हिमाल प्रेस २२ कार्तिक २०८२ १७:२०
4
SHARES
मधेशका मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन सकस, मतविभाजन टार्ने प्रयास

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत प्राप्त गर्न सकस भएको छ। विश्वासको मत प्राप्त गर्न संकट उत्पन्न भएपछि मुख्यमन्त्री सोनलसहित दुई जना मन्त्री प्रदेशसभा बैठक छाडेर सभाकक्षबाट बाहिरिएका हुन्।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सकिएर सभामुख रामचन्द्र मण्डलले निर्णायार्थ प्रस्तुत गर्न खोज्दा मुख्यमन्त्री सोनलसँगै जनमत पार्टीबाट मन्त्री बनेका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेल सभाकक्षबाट बाहिरिएका हुन्।

सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै सत्तापक्षकै सांसदहरूले नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्। सभामुख मण्डलको कार्यकक्षमा बैठक सञ्चालनका लागि सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।

विश्वासको मत पाउने सम्भावना नदेखेपछि सत्तापक्षले नियतवश मत विभाजन प्रक्रिया रोक्न खोजेको प्रतिपक्षले आरोप लगाएको छ।

सरकारलाई समर्थन जनाएको माओवादी केन्द्रका रहबर अन्सारी र माला कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने बताएका छन्। माओवादी केन्द्रका दुई सांसदले सभाबाटै विद्रोह गरेपछि मुख्यमन्त्री सोनललाई विश्वासको मत प्राप्त गर्न सकस भएको हो।

त्यस्तै जनमत पार्टीले सोनलाई समर्थन जनाए पनि निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह प्रदेशसभामा उपस्थित छैनन्। उनीहरूले जनमतबाट विभाजन भएर बनेको जनस्वराज पार्टीको पक्षमा सनाखत गरेका छन्।

चार जना सांसदले विश्वासको मत नदिने पछि सोनलाई बहुमत संख्या पुर्‍याउन संकट उत्पन्न भएको छ।

सत्ता गठबन्धनमध्येको लोसपासँग ८, जसपा नेपालको १८, जनमतको ११ (सतिश सिंह र त्रिभुवन साहबाहेक), नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ। एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निर्णय गरेको छ। तर, विश्वासको मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी बैठकमा उपस्थित भएकी छैनन्। यो पार्टीको एउटा सांसद छ।

मुख्यमन्त्री सोनलले शनिबार विश्वासको मत लिने भन्दै बिहीबार आफैँले प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए।

प्रकाशित: २२ कार्तिक २०८२ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast