काठमाडौँ- १० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो।
२०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ। यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ संस्करण हुनुपर्ने हो। यद्यपि निर्धारित समयमा गर्न नसक्ने रोगका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल १० औँ संस्करण हुँदै छ। त्यसको पनि पाँचौँ पटक मिति तय भएको हो।
२०७९ कात्तिक ३ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको थियो । त्यसबेला १० औँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको थियो तर अहिलेसम्म १० औँँ संस्करण हुन सकेको छैन।
पोखरामा तोकिएको मिति सुरुवातमै अलपत्र पर्यो। चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने गरी दोस्रो पटक तोकिएको मितिमा पनि राष्ट्रिय खेलकुद हुन सकेन। राखेपले २०८२ जेठ ३ देखि १० गतेसम्म घरेलु खेलकुदको महाकुम्भ हुने भनी अर्को मिति तोकयो। त्यो पनि भएन।
त्यसपछि राखेपले गत चैत २९ गते १० औँ राष्ट्रिय खेलकुद स्थगित गरेको थियो। सो समय राखेपले नयाँ मिति पनि तोक्न सकेको थिएन। सो बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जितबहादुर केसीलाई २५ लाख रुपियाँ पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ।



