नियमित कि विशेष महाधिवेशनबाट सुरु भएको नेपाली कांग्रेसको विवाद यतिबेला चुनावअघि वा पछि भन्नेमा पुगेको छ। चुनावअघि महाधिवेशन गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्तवालाई ‘काउन्टर’ दिँदै सहमहामन्त्री महेन्द्र यादवको समानान्तर प्रस्ताव बैठकमा प्रस्तुत भएको छ। अन्य दलहरू महाधिवेशनको तयारीमा जुटिरहँदा कांग्रेस भने मिति तोक्ने विवादमै रुमलिएको छ। कांग्रेसभित्र देखिएको यो विवाद, यसको समाधान, पार्टी विभाजन हुनसक्ने आशंकालगायतका विषयमा केन्द्रित भएर प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासँग हिमालप्रेसकर्मी धैर्यकान्त दत्तले गरेको कुराकानीको सम्पादित अंशः
महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको देखिएको छ। यो विवाद किन उत्पन्न भएको होला?
बाहिर जे छलफल अथवा कुराहरू आएका छन्, त्यस्तो होइन। छलफल अलि गहिराइमा गएको हो। छिट्टै सहमति निकाल्न पाए राम्रो हुन्थ्यो। तर बैठकको सुरुमै हामीले यो विषम् परिस्थितिमा तोडफोड, आगजनी, लुटपाटलगायतका घटनाबाट प्रभावित भएका केन्द्रीय सदस्य साथी आउनुहुन्छ, उहाँहरूलाई बोल्न समय अलि धेरै दिऊँ भनेर १० मिनेट दिइएको हो। १६०/१७० जना साथीहरूले १० मिनेट बोल्ने हो भने बैठक लम्बिनु स्वाभाविकै हो। सभापति पनि बाहिर हुनुहुन्छ। बोल्नुहुने साथीहरूले बोल्दाबोल्दै ‘रातरहे अग्राख पलाए जस्तो’ प्रस्तावका अतिरिक्त कार्यतालिकाका विषयहरू पनि उठे। कार्यतालिकाका विषयमा नेता, केन्द्रीय सदस्यहरूले आ-आफ्नो मनमा लागेका कुराहरू राख्नुभयो। कसैले सामाजिक सञ्जालमा राख्नुभयो कसैले बैठकमा राख्नुभयो, कसैले हुन्छ, कसैले हुन्न भन्नुभयो। यिनै कुराहरूको लिखित प्रस्ताव नभए पनि मौखिक प्रस्तावउपर साथीहरूको आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। धारणा राख्ने सिलसिलामा समूह-समूहहरू पनि देखा परेका हुन्। बाहिर जतिसुकै विवाद देखिए पनि भित्र यो सामान्य हो। र, बैठकको एउटा नियम हुन्छ- प्रस्ताव, प्रस्तावको पक्ष वा विपक्षमा राखिने विचारहरूले निष्कर्षमा पुग्न सहयोग पुर्याउँछ भन्ने छ हामीलाई। तर बाहिर जति विवाद हो कि जस्तो देखिएको छ, त्यस्तो विवाद भित्र होइन।
केन्द्रीय समिति बैठकमा महाधिवेशनका सन्दर्भमा महामन्त्री र सहमहामन्त्रीको समानान्तर प्रस्ताव आएका छन्। तै पनि विवाद छैन भन्न मिल्छ?
त्यो त आएकै थियो। मौखिक रूपमा आएकै थियो। सुरुमा एकथरी साथीहरूले विशेष महाधिवेशन गरौँ भन्नुभयो। त्यसपछाडि विशेष महाधिवेशन हुँदैन, पदावधि नै सकिएको छ भनेर नियमित महाधिवेशन गरौँ न त भन्नुभयो, एउटा समूहले। अर्को समूहले ल नियमित महाधिवेशन गर्ने हो भने हाम्रो पनि समर्थन छ तर विशेषमा चाहिँ जाँदैनौँ भन्नुभयो। अर्को समूहले फागुन २१ मा चुनाव तोकिइसकिएकोले कसरी तीन महिनाभित्र महाधिवेशन गर्न सकिन्छ? चुनावमा भाग लिने कि महाधिवेशनमा? त्यसैले चुनावपछि महाधिवेशन गरौँ भन्नुभयो। अब अहिले आएर विशेष महाधिवेशन ओझेलमा परेर नियमित महाधिवेशन चुनावअघि कि पछि भन्ने कुरामा हामी थोरै सानो विषयमा पुगेका छौँ।
अब हिजोदेखि के विकसित भएर आएको छ भने महाधिवेशन पनि नियमित गर्ने, चुनाव भए चुनावमा जाने, महाधिवेशन पनि सुरू गर्ने, बीचमा चुनाव हुने भए महाधिवेशन स्थगित गरेर चुनावमा जाने, चुनाव सर्यो भने महाधिवेशन नसार्ने। यो विषयमा हामी सहमतिको नजिकनजिक पुगेका छौँ, एकआपसमा नजिकिएका छौँ। त्यसैले अरू साथीहरूले विवाद गरेको देख्नु हुन्छ म चाहिँ विवाद साँघुरिँदै गएको, विवाद सहमतिको नजिकमा पुगेको देखेको छु। त्यसैले हामी यसैको परिवेशमा निष्कर्षमा पुग्छौँ।
तपाईंले सहमतिमा पुग्ने भनिरहँदा महामन्त्री र सहमहान्त्रीका प्रस्तावहरू विपरीत देखिएका छन्। सहमतिका आधार के हुन्?
सहमहामन्त्रीको प्रस्ताव कुनै पक्ष वा विपक्षभन्दा पनि उहाँको पनि एउटा समूह हो। महामन्त्रीको पनि समूह हो। आधिकारिक प्रस्ताव हामीले ‘१५ औँ महाधिवेशनका सन्बन्धमा’ भन्ने छ। आधिकारिक प्रस्तावमा हामीले महाधिवेशन कहिले गर्ने भन्दा महामन्त्रीले भन्नुभयो- चुनावअगाडिको कार्यतालिका ल्याउँ। सहमहामन्त्रीले भन्नुभयो- कहाँ त्यो त हुनै सक्दैन, अलि पछाडि जाऔँ। भनेपछि अब पार्टीले चाहिँ त्यो दुवै तर्कलाई एक ठाउँमा ल्याउने वातावरण बनाउनुपर्ने छ। त्यो बनाउन हामी प्रयत्न गरिरहेका छौँ। त्यसैले जसले चुनावअगाडि भन्नु भएको छ, चुनावलाई असर नपर्ने गरी कार्यतालिका निस्किन्छ। जसले चुनावपछाडि भन्नु भएको छ, त्यसलाई विशेष महाधिवेशन गर्नु नपर्ने गरी हामी वर ल्याउँछौँ। अर्थात् चुनावअगाडि हामी महाधिवेशन प्रारम्भ गर्छौँ। चुनाव भयो भने महाधिवेशनका कार्यक्रमहरू स्थगित गरेर चुनावमा जान्छौँ। आमचुनाव स्थगित भयो भने महाधिवेशनका हाम्रा कार्यतालिकाहरू निरन्तर अगाडि बढ्छ।
जेनजी आन्दोलनका बेला सभापतिमाथि आक्रमण हुँदा एक ढिक्का देखिएको कांग्रेस अहिले किन चिराचिरा परेको होला?
हामी घटनामा एक भयौँ, प्रस्तावमा फरक मत राखेका मात्रै हौँ नि, त्यसमा अन्यथा के भएको छ र! कांग्रेसमाथि अथवा कांग्रेसको नेतृत्वमाथि, व्यवस्थामाथि, अहिलेको राजनीतिक प्रणालीमाथि जसरी आक्रमण हुँदा भयो हामी प्रणालीको पक्षमा एक ठाउँमा उभियौँ। अहिले प्रस्तावमा त मतमतान्तर त भइहाल्छ नि! त्यसैले पार्टी जीवनमा उठेका प्रश्नमाथि आ-आफ्नो धारणा हुन्छ, त्यो स्वाभाविक रूपमा राख्न पाइहालिन्छ।
जेनजी आन्दोलनको एउटा म्यान्डेट के थियो भने नेतृत्व हस्तान्तरण र पुस्तान्तरण। तर कांग्रेस अहिले पनि पुरानै नेताको नेतृत्वमा किन अगाडि बढ्न चाहिरहेको छ?
त्यसको संकेत त सबैभन्दा पहिले कांग्रेसले नै गर्यो त। त्यसलाई म आन्दोलन पनि भन्दिनँ। त्यो जेनजी प्रदर्शनमात्रै हो। आन्दोलन र प्रदर्शन फरक विषय हो। आन्दोलनको एजेन्डा हुन्छ, संगठन हुन्छ, माग हुन्छ, माग भएपछि संवाद हुन्छ, संवाद भएर माग पूरा नहुँदा अनि बल्ल प्रदर्शन हुन्छ। तर यो एक्कासि प्रदर्शन भयो। यसको न आयोजक छ, न निरन्तरता छ, न यसको समाधानको उपाय छ। त्यसैले यो भूकम्प र आँधीहुरीजस्तै एक्कासि भएकाले यसलाई म प्रदर्शन भन्ने गरेको छु। यो प्रदर्शन एक हिसाबले ‘नेपो किड्स’ विरूद्ध थियो। अर्थात् हामीले केही नपाउने अनि नेताका छोराछोरीले सुख पाउने भन्ने थियो। दोस्रो कुरा राजनीतिक, सरकारी, कानुनी पदमा बस्नेहरू अनुचित लाभ प्राप्त गरेर सुखी भए अनि हामी दुःखी भयौँ भन्ने थियो। राजनीतिक लाभ लिएर बसेका मानिहरूले भ्रष्टाचार गरे, भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने उहाँहरूको माग थियो।
भ्रष्टाचार कसरी अन्त्य हुन्छ त भन्दा सरकारी र राजनीतिक दलका कामकाज पारदर्शी हुनुपर्यो। यति भयो भने सुशासन हुन्छ भन्ने उहाँहरूको भनाइ छ। सुशासनका सन्दर्भमा सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने जुन कार्य गर्यो त्यसलाई तत्कालै खारेज गर्नुपर्छ भन्ने मागका साथ उहाँहरूले प्रदर्शन गर्नुभयो। त्यो कुरामा मंसिरमा हाम्रो पार्टीको कार्यसमितिको पदावधि सकिँदै थियो। हामी १५ औँ महाधिवेशनको सिलसिलामा अगाडि बढ्दै थियौँ। सभापतिमाथि आक्रमण भयो। सभापतिलाई स्वास्थ्यलाभको कामना गर्ने, उहाँप्रति सबैले एकखाले मायाप्रेम देखाउने बेला हो। तर, सभापतिले के गर्नुभयो भने आन्दोलनको कुराले भन्दा पनि आफ्नो स्वास्थ्यका कारण कार्यवाहक दिनुभयो। कार्यवाहक पनि पार्टीको विधानसम्मत ढंगबाट दिनुभयो। जसका कारण नेतृत्व हस्तान्तरण पनि भयो। उमेरकै हिसाबले हेर्ने हो भने झन्डै १२/१४ वर्षको उमेरको अन्तर छ दुई नेताको बीचमा, पुस्तान्तरण पनि भयो भन्ने हामीलाई लाग्छ।
त्यसैले नेपालकै सिंगो राजनीति र नेपालको मागलाई हामीले सम्बोधन गर्नुपर्छ भन्नेर सभापतिले सुरु गर्नुभयो। अब सबै पार्टीहरूको नेतृत्व हस्तान्तरण गर्ने आफ्नै विधि हुन्छ। जस्तो अहिले सुशीला कार्कीलाई बनाउँदा संविधानबमोजिम भएन भन्ने छ। त्यस्तै पार्टीहरूले नेतृत्व बदल्दा विधानबमोजिम बदल्नुपर्यो। हाम्रो पार्टीको विधानले के भन्छ भने महाधिवेशन, अरू पार्टीहरूको कहिले आउँछ थाहा छैन, हाम्रो पार्टीको आइसकेको छ। महाधिवेशनमा उपस्थित भएका साथीहरूले विधानसम्मत ढंगबाट नेतृत्व चयन गर्नुहुन्छ, नीति पास गर्नुहुन्छ, विधान पास गर्नुहुन्छ। यसमा कसलाई बनाउँदा नेतृत्व हस्तान्तरण हुने वा पुस्तान्तर हुने कसलाई नबनाउँदा हुन्न भन्नेभन्दा विधानमा भएको व्यवस्थाबमोजिम प्रतिनिधि साथीहरूले जसलाई छान्नु हुन्छ उहाँले नै नेतृत्व गर्ने हो। नेपाली कांग्रेस अरू पार्टीभन्दा संयोगले, रहरले होइन, रहरले हामी भएको होइन पहिले भएको छ। अरूले अडान लिएर त्यसमा प्रतिवाद गरेर बस्नुभएको छ, हामी सहज प्रक्रियामा प्रवेश गरेर नेतृत्व हस्तान्तरण पनि हुँदैछ, महाधिवेशन प्रतिनिधिले चाहे भने पुस्तान्तरण पनि अझ देखिने गरी हुने सम्भावना छ। संगठनलाई पनि समयानुकूल बनाएर अगाडि बढ्ने हाम्रो प्रतिबद्धता छ।
अहिले चलिरहेको रस्साकस्सीलाई अन्त्य गर्न चुनावअघि नै महाधिवेशनमा जाँदा के बिग्रिन्छ?
हो। मेरो आशय पनि बुझ्नुभयो। हामीले पदावधि नथप्ने भनिसकेपछि, हामीले विधानबमोजिमकै महाधिवेशन कार्यतालिका सुरु गर्नुपर्छ। मानिसलाई कहिलेकाहीँ मलामी र जन्ती एकै दिन जानुपर्ने हुन्छ। त्यस्तो अवस्थालाई पनि धान्नुपर्छ। कसरी जाने भन्ने कुरा सफल नेतृत्वले त्यसको व्यवस्थापन गर्छ। नेपाली कांग्रेस अनुभवी पार्टी हो, सबैलाई लोकतन्त्रमा डोर्याएर हिँड्ने पार्टी हो। यसले पार्टी, संगठनभित्रका साथीहरूको आकांक्षालाई सम्बोधन गर्न महाधिवेशन प्रारम्भ पनि गर्नुपर्छ, राष्ट्रिय राजनीतिको जिम्मेवारी बोध गरेर सबैलाई निर्वाचनमा पनि लिएर जानुपर्छ। पार्टीभित्रका साथीहरूलाई विधानसम्मत प्रक्रियामा लिएर जानुपर्नेछ, यो घरायसी कुरा भयो। बाहिर राष्ट्रिय राजनीतिको विषयमा फेरि लोकतन्त्रको रक्षाका लागि सबैलाई निर्वाचनमा पनि लिएर जानुछ।
यो दुईवटा दायित्व एकैपटक नेपाली कांग्रेसले पूरा गर्न सक्दैन भन्ने सन्देश त दिनुभएन। त्यसैले कांग्रेसले आफ्नो आन्तरिक जीवनलाई मजबुत बनाउँदै राष्ट्रिय राजनीतिमा सबैको नेतृत्व गर्नका लागि दुइटै कामलाई तालमेल मिलाएर लैजानुपर्नेछ। तालमेल मिलाएर जानु भनेको महाधिवेशनको मिति नै हो, किनभने चुनावको मिति त पहिले नै घोषणा भइसकेको छ। चुनावको मिति हाम्रो रहरले कायम भएको पनि होइन, हामीले चाहेर पनि सार्न सक्दैनौँ। तर महाधिवेशनको मिति त हाम्रो सुझबुझका साथ हाम्रो रहरले चाहनाले, क्षमताले सार्न पनि सक्छौँ नसार्न पनि सक्छौँ। त्यसैले भोलि सार्नुपर्ने बाध्यता पर्दा सारौँला, तर अहिले सार्नु नपर्ने समय चाहीँ उपयोग गरौँ भन्नेमा नै मध्यमार्गी राय छ।
चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने सन्दर्भमा लफडा चलिरहँदा तपाईँको व्यक्तिगत राय के हो?
मैले पार्टीको कार्यसम्पदानमा कुरा उठाइसकेको छु, मूल बैठकमा राख्न बाँकी छ, पछि राख्छु। कार्यसम्पदानमा वा समूहहरूमा वा पार्टीभित्र खुलेरै विभिन्न समूहहरू छ। सबैले सहमतिमा ल्याउन सहजीकरण गरिरहेको छ। हामी सबैलाई थाहा छ फागुन २१ गते निर्वाचन भयो भने एकदम युद्धस्तरमा बाढी थेगे जस्तो, भूकम्पमा उद्धार गरे जस्तो गरी काम गर्नलाई अहिले हाम्रो पार्टीभित्र अभ्यास भइसकेको छैन। तर गर्नुपर्छ, अभ्यास गरौँ, सिक्दै जानुपर्ने कुरा हो। असोजभित्र क्रियाशील टुंग्याउनुपर्ने थियो। तर, भएन।
भदौ २३ र २४ गतेको प्रदर्शनले समस्या गर्यो। ठीक छ त्यसलाई मंसिरको १०/१५ मा पुर्यायौँ। सँगसँगै नयाँ क्रियाशील पनि बाँडिदिऊँ। नवीकरण भएर आउँदै गर्दा नयाँ पनि बनेर आउँदै गर्छ। त्यसपछाडि निर्वाचन समिति बन्छ, विधान मस्यौदा समिति पनि बन्छ। ती समितिहरू क्रियाशील हुन्छ, काम गर्न थाल्छ। पुस १८÷१९ मा समानुपातिकको मनोयन छ, राष्ट्रिसभाको निर्वाचन माघ ११ गते छ। त्यो दुईटा निर्वाचनमा हाम्रो अन्त्य मोडिने गरी होइन, त्यसलाई पनि केन्द्रमा राखेर पुसको १५ सम्म हामी जेजे गर्न सक्छौँ महाधिवेशनका प्रक्रियाहरू त्यो गर्ने कोसिस गरौँ। विगतमा हामीले लामो आठ तहको अधिवेशन गथ्यौँ भने अहिले तीन तहको अधिवेशन वडा, निर्वाचन क्षेत्र र संघको गरौँ भन्ने मेरो भनाइ हो। यसो गर्न सकिएन भने सबै गर्ने हो भने एउटा कार्यतालिका बनाऔँ, हामीले जहाँजहाँसम्म गर्न सक्छौँ त्यसले सबैलाई क्रियाशील बनाउँछ, निर्वाचनलाई पनि बल पुर्याउँछ, एउटा मध्यमार्गी तर्क यो हो।
होइन भने एकथरीले विशेष महाधिवेशन गर्नुपर्छ तीन महिनाभित्र, अर्कोथरीले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्छ, अर्कोले सकिँदै सकिँदैन वैशाखमा पुर्याउँ भन्ने हो भने यसलाई विमति भनिन्छ। सबै विमतिलाई एकै ठाउँमा ल्याएर सहमति खोज्नुपर्छ। मेरो तर्क भने सहमतिको हो।
विगतमा पनि नेपाली कांग्रेसले विभाजनको पीडा भोगिसकेको छ। अहिले महाधिवेशनको विवादले फेरि विभाजनतर्फ उन्मुख त भएको होइन?
पार्टी विभाजन हुन्छ भन्ने मलाई लागेको छैन। म स्पोर्टसमा अलि रमाउने मान्छे। स्पोर्टसमा के हुन्छ भने– अपोनेन्टलाई इजी ट्याकलिङ भन्ने हुन्छ। एकदमै भयावह हो भने खेल्नै सकिँदैन। अपोनेन्ट जोसुकै आए पनि इजी ट्याकलिङ गर्न सक्यो भने खेल जित्ने आशा बढ्छ। त्यस्तै अहिलेको परिस्थितिलाई एकदम भयावह हो भन्न थाल्यौँ भने समाधान निकाल्न सकिँदैन।
विशेष महाधिवेशन गर्नुपर्यो भने विधानमै लेखिएको छ किन आत्तिनुपर्यो? लेखेकै कुरा हो। होइन निर्वाचनपछि जाउँ भने त्यसको पनि राम्रो पक्ष छ एउटा, निर्वाचनपछि महाधिवेशन गर्यौँ भने निर्वाचनमा अन्तर्घात हुँदैन, त्यो पनि सहज कुरा हो। होइन निर्वाचनअघि वा निर्वाचनपछिको कुरा संवादले टुंग्याउँ न, यो त हाम्रोबीचको कुरा हो। मैले इजी ट्याकलिङको प्रोसेसमा उहाँहरूलाई सुनाउँदा उहाँहरू यो बीचमा आउनु नै भयो। जसले गर्दा मंसिरमा भन्ने साथीहरू पुसको पहिलो हप्तामा आउनुभयो। पुसको पहिलो हप्ता भन्ने साथीहरू अहिले पुस १६/१८ तिर आउनुभएको छ। यसमा हामीले दुई चार दिन तलमाथि गर्न सक्छौँ। त्यसैले अहिले पार्टी फुटि हाल्छ भनेर कसैले नसोच्नुहोला। मलाई लाग्छ फुटेको पार्टी हाम्रो मात्रै होइन अरूको पनि राम्रो देखिएको छैन नि। कांग्रेस फुट्यो, प्रजातान्त्रिक भयो। एक चुनाव पनि आफ्नो छुट्टै अनुभव नगरेर कांग्रेसमा मिसियो। नेकपा एमाले फुटेर माले बन्यो। माले हराएर वामदेवजी अहिले राष्ट्रियसभामा आउनुभएको छ। माधव नेपालजी फुटेर अहिले विसर्जनमा पुग्नुभयो। मधेशवादी फुेटर अहिले मधेशी दल भेटिँदैन। मूलधारका पार्टी नै अस्तित्वमा रहेकोले पार्टी फुटाउनतर्फ साथीहरू लाग्नु हुँदैन भन्ने मेरो भनाइ हो। फुटेपछि पनि त्यसको भविष्य रहँदैन।
त्यही भएर अहिले म अहिले मिडियामा पनि धेरै बोलिरहेको छैन। परिस्थिति विश्लेषण गर्दै साथीहरूलाई कनभिन्स गर्न तर्फ लागेको छु। पार्टीको निर्णयमा पनि यो भयो त्यो भयो भनेर बाहिर नबोलेर पार्टीलाई विधानसम्मत चलाउने, राष्ट्रिय राजनीतिको अपनत्व लिनसक्ने जिम्मेवार पार्टी बनाउने, साथीहरूका बीचमा रहेका विमतिलाई अन्त्य गरेर एक ठाउँमा सहमतिमा ल्याएर विधानबमोजिम पार्टी चलाउने कुरामा भित्र बसेर भूमिका गरिरहेकैले मेरो आत्मविश्वास के हो भने पार्टी फुट्दैन, फुट्न दिइँदैन।
फागुन २१ मा घोषणा भएको चुनाव हुन्छ कि हुँदैन? चुनावको वातावरण बनाउन पुरानो लोकतान्त्रिक पार्टी भएको नाताले कांग्रेसले स्टेक होल्डरसँग छलफल बढाएको पनि देखिएको छैन नि!
हामीले भित्र हुटहुटी गरिरहेका छौँ। सरकारमा हामी छैनौँ। हाम्रा प्रधानमन्त्री पनि छैनन्, हाम्रा मन्त्री पनि छैनन्। हाम्राविरूद्धमा, दलका विरूद्धमा बनेको सरकार भएको हुनाले, सरकारमा बसेका मानिसले दलका विरूद्ध विषवमन गरिरहेका छन्। त्यसैले यो सरकारले निर्वाचन गराउँछ भन्नेमा व्यापक आशंका छ। यो आशंका निवारण गर्न दलसँग संवाद गर्नुपर्यो। अर्को जेलबाट भागेका अपराधीहरू, हजारौँ थान हातहतियार, लाखौँ थान गोलीहरू बाहिरै छन्। सरकार दलविरोधी हुने, बजारमा गाउँमा छ्यापछापी अपराधीहरूको गतिविधि रहिरहने, यस्तो अवस्थामा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका रहेकोले हामी के भनिरहेका छौँ भने कांग्रेसले निर्वाचन हुँदैन भन्न मिल्दैन किनभने बाटो विराएको संविधानलाई बाटोमा ल्याउन दुईवटा उपाय छन्। एउटा संवैधानिक उपाय हो, त्यो अदालतबाट हुने हो, यसको अभ्यास अदालतमा भइरहेको छ। अर्को राजनीतिक उपाय भनेको राष्ट्रपतिले निर्वाचनको मिति तोकिदिनु भएको छ।
न्यायालयको बाटो हामी जान्दैनौँ, अदालतले के फैसला गर्छ हामीलाई थाहा भएन। तर निर्वाचन समयमै भयो भने डिरेल भएको संविधान फेरि ट्र्याकमा आउँछ। त्यसैले यो निर्वाचन सफल गराउनतर्फ अग्रसर हुन, तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई दबाब दिन हामीले सबै राजनीतिक दलहरूलाई आग्रह गरिरहेका छौँ। कांग्रेसले छिट्टै बैठक सम्पन्न गरेर, आफ्नो घरको व्यवस्थापन गरेर अरू दलहरूसँग हातेमालो गर्न, एकताको वातावरण बनाउन समय धेरै गुज्रिसकेकोले अब ढिलो गर्नु हुँदैन।
कांग्रेसभित्र देखिएको अहिलेको विवाद कहिलेसम्म टुंगिएला?
विवाद त एक दुई दिनभित्रै टुंगिन्छ, बैठक केही लामो समय जाला। किनभने धेरै साथीहरूले १० मिनेट बोलिसक्नुभयो अरूलाई नदिने भन्ने हुँदैन। विवादित विषयको सहमति हामीले आज वा भोलिमा टुंग्याउँछौँ, एउटा मध्यमार्गी प्रस्ताव आउँछ। कि त बाँकी साथीहरूले भन्नपर्यो हामी बाोल्दैनौँ। सबै साथीले बाोल्नुभयो भने बैठक २२/२३ गतेसम्म चल्नसक्छ।
निर्णय बहुमत/अल्पमतको आधारमा हुन्छ भन्ने भनिएको छ नि!
हामी गर्दैनौँ। मैले एउटा कुराको के सुनिश्चतता गरौँ भने नेपाली कांग्रेसमा शेरबहादुर देउवा २०७२ सालमा सभापति बन्नुभयो, सभापति बनेदेखि अहिले २०८२ सालसम्म आइपुग्दा १० वर्षको अवधिमा एउटा पनि निर्णय चाहे त्यो सरल होस् वा जटिल विषय होस्, पार्टीभित्रको विषय होस् वा बाहिरको विषय होस्, राष्ट्रिय राजनीतिको विषय होस् वा स्थानीय कुनै पनि निर्णय अल्पमत बहुमतबाट गराउनु भएको छैन भने महाधिवेशन जस्तो विषय अल्पमत बहुमतबाट गराउनु भनेको कुनै पनि हालतमा उपयुक्त हुँदैन। त्यसैले हामी यसलाई सर्वसम्मत गराउँछौँ।




