काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टीको झण्डामा प्रयोग गरी आएको पाँचकुने तारा चिह्न अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिह्न वा अन्य चिह्नका रूपमा प्रयोग नगर्न हुन आग्रह गरेको छ। पार्टीले मंगलबार विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेको हो।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलले एकीकृत पार्टीको निर्वाचत चिह्न पाँचकुने तारा राख्ने निर्णय गरेपछि जसपा नेपालले यस्तो आग्रह गरेको हो।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँचकुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चुनाव चिह्न दाबी गर्ने सम्बन्धी सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ’, जसपा नेपालका प्रवक्ता मनिषकुमार सुमनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराइएको सुमनले जनाएका छन्। माओवादीसहित मिलेर बन्न लागेको एकीकृत पार्टीको नाम नेकपा समाजवादी र नेपाली कम्युनिस्ट पार्टीमध्ये एउटा रहने पक्कापक्कीजस्तै भएको छ। पार्टीको चुनाव चिह्न भने पाँचकुने तारा राख्ने निर्णय भएको छ।



