क्यान्टोनमेन्ट घोटला छानबिन हुनुपर्छ, प्रचण्ड दोषी भए जेल हाल्नुपर्छ : माओवादी जेनजी रेडफोर्स

हिमाल प्रेस ९ कार्तिक २०८२ १३:३२ | Sunday, October 26, 2025
क्यान्टोनमेन्ट घोटला छानबिन हुनुपर्छ, प्रचण्ड दोषी भए जेल हाल्नुपर्छ : माओवादी जेनजी रेडफोर्स

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट युवाले गठन गरेको संगठन जेनजी रेडफोर्सले आफ्नो एजेन्डा सार्वजनिक गरेको छ। काठमाडौँ आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले संगठनका प्राथमिकता र योजनाहरू प्रस्तुत गरिन्। उनले जेनजी रेडफोर्स अहिले ६५ जिल्लामा र सातै प्रदेशमा संयोजक तोकेर विस्तार भइरहेको बताइन्।

तिमल्सिनाले संगठनका मुख्य एजेन्डामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र भ्रष्टाचारविरुद्ध अभियान रहेको बताइन्। उनले २००७ सालदेखि हालसम्म सत्तामा आएका सबैको सम्पत्तिको छानबिन आवश्यक रहेको बताइन्। उनले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भ्रष्टाचारमा दोषी देखिए जेल हाल्नुपर्ने बताइन्।

तिमल्सिनाले भनिन्,‘माओवादी केन्द्रमा भ्रष्टाचारी छैन भनेर भन्न सक्दिनँ। ती भ्रष्टाचारीलाई सरकारले छान्नुपर्छ। गल्ती देखिए वा दोषी ठहर भए हाम्रो सुप्रिम कमाण्डरसमेतलाई जेल हाल्न सकिन्छ। रेडफोर्स भ्रष्टाचारविरुद्ध आवाज उठाउँछ र कुनै पनि भ्रष्टाचार सहने छैन।’

रेडफोर्सले आफ्नै पार्टीभित्रै सरसफाइको अभियान सञ्चालन गर्ने उनले बताइन्। क्यान्टोनमेन्ट घोटालासम्बन्धी प्रश्नहरू समय समयमा उठिरहेका कारण त्यसको समेत छानबिन हुनुपर्ने उनको माग छ।

तिमल्सिनाले थपिन्,‘क्यान्टोनमेन्ट घोटलामा को को थिए, समितिमा को को बसेका थिए भन्ने छानबिन हुनुपर्छ। मेरो बुबा त्यतिबेलाको जनमुक्ति सेनामा हुनुहुन्थ्याे। यदि दोषी भए जेल हाल्नुपर्छ। यदि मेरा बुबा नै भ्रष्ट छन् भने पनि कारबाही हुनु पर्छ। रेडफोर्स २०६४ सालको माओवादीभन्दा अझ सक्षम भएर आउनेछ।’

प्रकाशित: ९ कार्तिक २०८२ १३:३२ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast