
काठमाडौँ- अन्तरिम सरकारले जेनजी आन्दोलनका लक्ष्य र उद्देश्य बेवास्ता गरेको सहिद परिवार र घाइतेहरूले आरोप लगाएका छन्। बिहीबार काठमाडौँको माइतीघर मण्डलामा आयोजित शान्त दबाबमूलक कार्यक्रममा उनीहरूले सरकार जेनजीको भावनाअनुरूप अघि नबढेको बताएका हुन्।
कार्यक्रममा उपस्थित सहिद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेनजीहरू एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले भने,‘हामीले आज सहिद परिवार, घाइते र देशभरका जेनजीहरूलाई एक ठाउँमा ल्याएर सरकारलाई सम्झाउने प्रयास गरेका हौं। सहिदहरूले जुन उद्देश्यका लागि रगत बगाएका थिए, त्यो लक्ष्य पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ।’
सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका मुद्दामा कुनै ठोस काम नगरेको उनले बताए। ‘यो सरकार जेनजीको भावनाअनुरूप चलेको छैन। भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन, सुशासनको अनुभूति छैन। त्यसैले हामी सडकमा आउन बाध्य भएका हौं,’ सुवेदीले भने।
उनले दोषीमाथि कारबाही, संविधान संशोधन र प्रत्यक्ष कार्यकारी प्रणालीमा जाने माग पनि दोहोर्याए। कार्यक्रमको क्रममा जेनजी युनाइटेडले आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको तस्बिर माइतीघरमा राखी भाइटीकाको दिन माल्यार्पण गरेको थियो। सहभागीहरूले सरकारलाई सहिदहरूको बलिदान र मागको सम्मान गर्न र ती उद्देश्यहरू कार्यान्वयनमा लैजान आग्रह गरेका छन्।