
काठमाडौँ- नेपालीको पहिचानलाई विश्वभर चिनाउने प्रतीकमध्ये ढाका टोपी विशेष स्थानमा छ। हाम्रा लागि ढाका टोपी स्वाभिमान र संस्कृतिको पहिरन हो। टोपीको नामकरण कसले गर्यो भन्ने ठ्याक्कै प्रमाण छैन। साथै कहिलेदेखि लगाउन थालियो भन्ने पनि खोजीको विषय छ।
टोपीका लागि संस्कृत भाषामा ‘शिरअस्त्र’ शब्द प्रयोग भएको पाइन्छ। नेपाली शब्दकोशमा पनि टोपीलाई ‘शिर छोप्ने, शोभा बढाउने वा रक्षा गर्नका निमित्त सिँचिएको वस्त्र’ शिरपोस भन्ने गरिएको छ। यसलाई शिरको सुरक्षा र शोभाका लागि लगाइने आवरणका रूपमा लिइन्छ।
बिस्तारै ढाका टोपी पहिरन मात्र नभई नेपाली पहिचानको प्रतीक बन्न पुग्यो। त्यो पहिचानलाई काठमाडौँको एउटा कुनामा तीन दशकदेखि निरन्तर बुनिरहेका छन् मोहनप्रसाद पौड्यालले। मैतीदेवीको एउटा कुनामा ‘पौड्याल पाल्पाली ढाका’ लेखिएको साइनबोर्डभित्र पस्दा देखिन्छ ढाकाको रंगीन संसार। जहाँ रातो, हरियो, नीलो, बैजनी रङका ढाका टोपी, ब्याग, टाई र खादा छन्। त्यसका सर्जक पौड्यालले २०४३ सालदेखि निरन्तरता दिइरहेका छन्। उनी ढाका टोपी र अन्य हस्तनिर्मित सामानको व्यापार गर्दै आएका छन्।
‘म पाल्पामा पढ्दै थिएँ,’ उनी सम्झिन्छन्, ‘परिवारमा जेठो भएकाले जिम्मेवारी मेरो काँधमा आयो। बुबा बाहिर हुनुहुन्थ्यो। मलाई सबै हेरचाह गर्नैपर्ने भयो। आईए सकेपछि स्वर्गीय गशेणमान महर्जनको ढाका उद्योगमा गएँ, त्यतैबाट सिकेँ अनि यही बाटो रोजेँ।’ त्यो सिकाइबाट सुरु भएको यात्राले अहिले उनलाई देशैभर चिनाएको छ। पाल्पाको तानसेनमा उनको आफ्नै ढाका कारखाना छ। त्यहाँ करिब ७०-८० जना कामदार छन्। ‘हातैले बुनेको ढाका हो, त्यसैले प्रत्येक बुट्टामा मिहिनत मिसिएको हुन्छ,’ पौड्याल बताउँछन्।
ढाकाको व्यापार, पहिचान र परिश्रम
पौड्यालको पसलमा टोपी मात्र होइन, ढाकाबाट बनेका ब्याग, टाई र खादा पनि भेटिन्छन्। ती सबै हस्तनिर्मित छन्। उनी गर्वका साथ भन्छन्, ‘ढाका टाई गिफ्ट दिन साह्रै राम्रो हुन्छ, हातैले बुनेको हुन्छ। अहिले ढाकाको टाईले राम्रो बजार लिएको छ।’
उनका उत्पादन नेपालमै सीमित छैनन्। ‘लाइसेन्स लिएर बाहिर पठाउने भनेर गरेका छैनौँ तर हाम्रा उत्पादन युरोप र अमेरिकासम्म पुग्छन्,’ उनी भन्छन्, ‘गुणस्तर राम्रो भएकोले विदेशीहरूले पनि रुचाउँछन्। प्रतिस्पर्धामा हामी धेरै माथि छौँ।’
उनका ग्राहकमा सामान्य नागरिकदेखि प्रधानमन्त्रीसम्म छन्। पौड्याल गर्वका साथ सुनाउँछन्, ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै पटक टोपी लैजानुभएको छ। विष्णु पौडेल आउनुहुन्छ, रामहरि खतिवडा आउनुहुन्छ, माओवादीका शक्ति बस्नेत पनि आउनुहुन्छ। कांग्रेस, एमाले, माओवादी सबै पार्टीका नेताहरू यहाँ आइपुग्छन्।’ उनको सबैभन्दा अविस्मरणीय क्षण भनेको भारतीय अभिनेता नितिश भारद्वाज (महाभारत टेलिशृंखलाका श्रीकृष्ण) को आगमन रहेछ। ‘महाभारतमा कृष्णको भूमिकामा अभिनय गरेका भारद्वाज मेरो पसलमा आएर टोपी लिएर जानुभयो। त्यो सम्झना अहिले पनि ताजा छ’, उनले भने।
टोपीको मूल्य र बजारको चलन
उनको कारखानामा उत्पादित ढाका टोपीहरूको मूल्य १५० रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म पर्छ। ‘महँगो टोपीमा महँगो धागो र सानो बुट्टा हुन्छ, त्यसैले उत्पादन कम र लागत बढी हुन्छ। बनाउनेलाई पनि ज्याला बढी दिनुपर्छ,’ पौड्याल थप्छन्, ‘अचेल पैसाको मानिसलाई ठूलो कुरा छैन, महँगो टोपी पनि सहजै किन्दिन्छन्।’ उनको पसलबाट खरिद गरेर इन्द्रचोकका केही व्यापारीले १५ हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ।
टोपी बिक्रीमा सिजनको ठूलो भूमिका छ। उनी भन्छन्, ‘तीजपछि बिक्री बढ्छ, असार-साउनमा घट्छ। चाडपर्व, बिहे र जाडोको समयमा त निकै व्यापार हुन्छ। अहिले त तिहार हो, यो नै हाम्रो व्यस्त समय हो।’
तीन दशकभन्दा बढी समय उद्योगमा बिताएका पौड्याल भन्छन्, ‘असन्तुष्ट भएर के फाइदा? सबै कुरा पूर्ण हुँदैन। तर म सन्तुष्टि लिन्छु, किनकि मैले आफ्नै उद्योग खोलेको छु र त्यसैले मलाई सबैले चिन्छन्।’
उनका उत्पादनमा महिलाका सल, हाफ सल, ब्याग पनि छन्। उनी ढाकाको प्रयोगलाई परम्परागत सीमाबाट निकालेर आधुनिक रूप दिन चाहन्छन्।
भिडियो