यी हुन् तिहारका १० चर्चित गीत

सुस्मिता बजगाईं ३ कार्तिक २०८२ १६:५८ | Monday, October 20, 2025
2
SHARE
यी हुन् तिहारका १० चर्चित गीत एआईको सहयोगमा बनाइएको तस्बिर।

काठमाडौँ- नेपालीको अर्को महान् चाड तिहार सुरु भइसकेको छ। सडक अनि घरमा सजाइएको झिलीमिली बत्तीले तिहारको उल्लास थपेको छ। रेडियो-टेलिभिजनमा तिहार विशेष गीत घन्किन थालिसकेका छन्।

वर्ष फेरिएपछि बर्सेनि संगीतकर्मीहरूले तिहार गीत सार्वजनिक गरिरहेका हुन्छन्। जसमा देउसी भैलो खेल प्राथमिकतामा परिरहन्छन्। तर ती गीत अर्को वर्ष बझेको खासै सुनिँदैन। तर केही यस्ता गीत छन् जुन कालजयी बनेर पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएको छ। ती गीतले अहिलेका वयस्क पुस्तालाई बालापनको तिहारको स्मरण गराउँछ।

यस्ता छन् तिहारका पुराना १० गीत

दियो बाली साँझको

‘दियो बाली साँझको’ बोलको गीत लक्ष्मीपूजाको दिन बर्सेनि बज्ने गीत हो। गीतले तिहारमा माटाको पालामा बत्ती बालेर उज्यालो बनाएको घरको रौनकको स्मरण गराउँछ। जुन आज इलेक्ट्रोनिक्स किसिमका रंगीचंगी बत्तीले उक्त गीतलाई ब्युँताइरहेको छ।

गीत भारतीय गायिका आशा भोस्लेले गाएकी हुन्। कुसुम गजमेरको शब्द रहेको गीतमा रञ्जित गजमेरले संगीत भरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अहिले यही गीतमा टिकटक र रिल्स बनाइरहेका हुन्छन्। यो गीत तुलसी घिमिरे निर्देशित ‘चिनो’ फिल्ममा समावेश छ।

भैलेनी आए आँगन

‘भैलेनी आए आँगन’ तिहारमा खेलिने भैलोसँग सम्बन्धित छ। तिहारमा भैलो खेल्नेहरूले यही गीतबाट सुरु गर्छन्। गीत आज पर्यन्त पनि उत्तिकै चर्चा छ र कालजयी बनेको छ। यादव खरेलको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ। यो गीत शम्भु प्रधान निर्देशित ‘स्वर्ग’ फिल्ममा समावेश गरिएको छ।

आहै झिलीमिली झिलीमिली

अर्को कालजयी बनेको छ पूर्वेली लोकभाका शैलीको तिहार गीत ‘आहै झिलीमिली झिलीमिली’। अरुण उपत्यकाले सार्वजनिक गरेको गीत नवीनकुमार खड्का र लक्ष्मी पराजुलीले संकलन गरेका हुन्। गीतमा नवीनकुमार खड्का, पुस्तक खड्का, बलराम समाल, अच्युत दवाडी, एमी खड्का र भीम बस्नेतको स्वर छ।

निधारमा लर्काएर सप्तरंगी टीको

तिहारमा सदाबहार बज्ने अर्को गीत हो ‘निधारमा लर्काएर सप्तरंगी टीको’। गीतले दाजुबहिनीको प्रेम झल्काएको छ। यो गीत राजेन्द्र शलभले निर्देशन गरेको फिल्म ‘विजय पराजय’ समावेश छ। दिनेश अधिकारीको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीत गायिका हेम लताको स्वर छ।

यसपालिको तिहारै रमाइलो
सुन्दर श्रेष्ठको शब्द रहेको ‘यसपालिको तिहारै रमाइलो’ बोलको गीत पनि निकै चर्चित छ। जुन हरेक वर्ष तिहारमा घन्किन्छ। शम्भुजित बाँस्कोटाले संगीत भरेको गीत प्रमोद खरेल र अञ्जु पन्तले गाएका छन्। यो गीत आकाश अधिकारीको निर्देशनमा बनेको फिल्म ‘कोहिनूर’मा समावेश छ।

हाँसेर बोल बहिनी

‘हाँसेर बोल बहिनी’ बोलको तिहार गीत पनि बर्सेनि घन्किन्छ। रिसाएकी बहिनी फकाउँदै गरेको गीतको भिडियोमा नायिका निरुता सिंह, स्व. श्रीकृष्ण श्रेष्ठको अभिनय छ। यो गीत अनिल संग्रौलाको निर्देशनमा बनेको फिल्म ‘माइती’ को हो। आनन्द कार्की, उदितनारायण झा, दीपा झा, दयाराम दाहाल र नगेन्द्र श्रेष्ठले स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन्।

अधरमा आज उनकै छ गीत

‘अधरमा आज उनकै छ गीत’ बोलको गीत पनि तिहारसँग सम्बन्धित छ। यो गीत पनि तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ मा समावेश छ। रत्नशमशेर थापाको शब्द रहेको गीत मनिला सोताङले गाएकी छन्। गीतमा रञ्जित गजमेरले संगीत छ।

भाइटीकामा भेट्न आउँला

राजु लामाको स्वर रहेको ‘भाइटीकामा भेट्न आउँला’ तिहारमा घन्किनेमा पर्छ। गीतमा विवाह गरेर घर जान लागेकी चेलीलाई माइतीले भाइटीकामा भेट्न आउने बाचा गरेको कथा प्रस्तुत गरिएको छ। शुक गुरुङको शब्द रहेको गीतमा गायक लमाले नै संगीत भरेका छन्।

झिलीमिली रातमा साथीभाइ साथमा

अक्षता अधिकारी र नवाज अन्सारीको स्वर रहेको ‘झिलिमिली रातमा साथीभाइ साथमा’ पनि दर्शकले निकै रुचाएको गीत मध्येमा पर्छ। गीत र्याप मिश्रित गीत लोक र पप जनरामा छ।

पैंयूँ फुल्दा

दिदीभाइको बिछोडको कथामा बनेको गीत ‘पैँयूँ फुल्दा’ पनि बर्सेनि तिहारमा गुञ्जिन्छ। गीतमा निलिमा पुनको स्वर छ। गीतले तिहारमा फुल्ने फुलेको कुरा गर्दै गीतमा भाइको सम्झनामा रहेकी एक दिदीको कथा भनिएको छ। भाइको खोजी गरिएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १६:५८ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast