पितृकार्यकै बेला छोरा बिपिन अस्ताएको खबर सुनेका बुबा

हिमाल प्रेस २८ असोज २०८२ १७:०० | Tuesday, October 14, 2025
पितृकार्यकै बेला छोरा बिपिन अस्ताएको खबर सुनेका बुबा

महेन्द्रनगर- महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा बिपिन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो। गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा बिपिनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो।

सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा बिपिनबारे मिश्रित समाचार आइरहेका बेला बिपिनका बुबा महानन्द भने भीमदत्त नगरपालिका-१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध) मा व्यस्त थिए।

तीन दाजु/भाइमा महानन्द कान्छा हुन्। ‘उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला बिपिन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो’, जोशी परिवारका एक सदस्यले भने,‘कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ।’

सोमबार बिहान बिपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’ मा बिपिन नरहेको विषयमा छलफल भए पनि बिपिनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताएका थिए। तर बिपिन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिंगो गाउँ स्तब्ध छ।

भीमदत्त नगरपालिका–३ की वडा सदस्य मीना ठगुन्नाले बिपिनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिइन्। ‘बिपिन जिवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन’, वडा सदस्य ठगुन्नाले भनिन्,‘हिजोदेखिको बिपिनको खबरले सबैतिर सन्नाटा छाएको छ।’

उनले बिपिनका परिवारजन एक–दुई दिनभित्र काठमाडौँ जाने तयारी रहेको जानकारी दिइन्। बिपिनका आमा पद्म र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए। उनीहरू अझै स्वदेश फर्किसकेका छैनन्। रासस

प्रकाशित: २८ असोज २०८२ १७:०० | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast