
काठमाडौँ- आशिष ढकालको लेखन र निर्देशनमा बनेको फिल्म ‘मुगलान’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण पहिरनमा देखाइएको छ। प्रभातले बाँसुरी बजाउन लागेजस्तो देखिन्छन् भने स्मारिकाले हातमा पात लिएकी छन्। उनीहरू राधाकृष्णकाे शैलीमा उभिएका छन्। पोस्टरले उनीहरूबीचको प्रेमकथा झल्काएको छ।
फिल्म आगामी पुस १० मा प्रदशृन हुने भएको छ। रेहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।
निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ। फिल्मका निर्माता गोमन सिंह हुन्। तारा थापा ‘किम्भे’ले सम्पादन गरेको फिल्म जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन देवेन्द्र कुँवरको कोरियोग्राफी, अजय रेग्मीको छायांकन, किरण भुसालको संगीतमा बनेको छ।