
काठमाडौँ- अफगानिस्तानले जवाफी कारबाहीमा पाकिस्तानका ५८ सैनिक मारिएको दाबी गरेको छ।
अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले गरेको आक्रमणको जवाफी कारबाहीमा ५८ सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेका हुन्।
काबुलमा आइतबार पत्रकार सम्म्ेलनमा मुजाहिदले जवाफी कारबाहीअन्तर्गत २० वटा पाकिस्तानी चौकीहरू कब्जा गरे पनि लडाइँ सकिएपछि ती चौकीहरू फिर्ता गरेको बताए।
मुजाहिदले गरेको दाबीप्रति हालसम्म पाकिस्तानको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले शनिबार राति अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको बताएका थिए।
तालिवान सरकारका प्रवक्ता मुजाहिदले भिडन्तका क्रममा ९ तालिबान सदस्य मारिएको र २० भन्दा बढी घाइते भएको बताएका छन्।
इस्लामिक स्टेट (आईएसआईएस) का प्रमुख पाकिस्तानमै रहेको र यो समूह अझै पनि खैबर पख्तुख्वा र बलुचिस्तानमा सक्रिय रहेको उनले आरोप लगाए।
अफगानिस्तानबाट आईएसआईएसको अन्त्य भइसकेको उनले दाबी गरे। आईएसआईएसका प्रशिक्षण केन्द्रहरू पाकिस्तानमा स्थापना गरिएको भन्दै उनले अन्तर्राष्ट्रिय समूदायले यसतर्फ ध्यान दिनुपनेै जिकिर गरे।
अफगानिस्तानका विदेशमन्त्रीको भारत भ्रमण कुनै देशविरूद्ध नरहेको र यसमा कसैले नि आपत्ति जनाउन नहुने मजाहिदले बताए।
गएको बिहीबार काबुलमा भएको विस्फोट पाकिस्तानले गरेको अफगानिस्तानले दाबी गरेको थियो। अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेको आरोप लगाएको छ। रक्षा मन्त्रालयले स्थिति जतिसुकै गम्भीर भए पनि पाकिस्तानी सेनाले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो।