
तयारी त महिनौंको हुँदो हो, तर नेपाली जनतामाझ विद्रोहको स्वर आकस्मिक रूपमा गुञ्जिन आइपुग्यो। अर्थात् सतहमा देखिंदा,सुनिंदा स्वर घातक शैलीमा प्रकट भयो। त्यो पनि आत्मघाती ढङ्गमा। फुटबलको खेलमा आत्मघाती गोल प्रहार हुँदा पराजय बेहोर्नुपरेको अवस्थासँग तुलना गरे हुने हिसाबले। किनभने भदौ २३ गतेको ‘शान्तिपूर्ण’ विरोध-प्रदर्शन शान्त रहन सकेन,रक्तरञ्जित हुन पुग्यो। युवापुस्ताले आफ्नै तर्फका १९-२० होनहार सदस्यलाई प्रारम्भमै गुमाउनुपर्यो। विद्रोही टोलीका सञ्चालकहरूले तिनको क्रियाको तात्तातो प्रतिक्रिया कस्तो हुनसक्छ भन्ने आकलन गरेका रहेनछन्। मुलुकलाई नालायक र भ्रष्टाचारी शासकहरूबाट छुटकारा दिलाउने युवापुस्ताको सदाशय प्रशंसालायक भए पनि अभियान सञ्चालनमा तिनीहरूको कार्यशैली भने आलोकाँचो देखियो। भदौ २३ गतेअघि ‘जेन-जी’ राम्रोसित चिनिएको समूह थिएन, तथापि जनअसन्तुष्टिको अभिव्यक्तिले जनस्तरको समर्थन पायो। त्यस्तो पहल अन्य कुनै कोण वा समूहबाट आएको भए पनि पाउने स्थिति थियो। परिस्थिति विस्फोटक भइसक्दा पनि खप्र ओली नेतृत्वको सरकार र त्यसमा सहभागी शेरबहादुर देउवाको काँग्रेस बेखबर रहनुको परिणाम सुखद हुने कुरै थिएन। सत्तासीन गठबन्धनलाई हुत्याउन सके आफू त्यो ठाउँमा पुगिन्छ भनेर मौका पर्खेर बसेका माओवादी र अन्य समूहले युवा-आक्रोशको अनुचित लाभ लिन सफल भए।
भदौ २३ को गोलीकाण्ड २४ गते दोहोरियो र अझ धेरै मानिस मारिए,अङ्गभङ्ग हुनेहरूको संख्या थपियो। सिंहदरबार,संसद् र सर्वोच्च अदालतमा आगजनी हुँदा लोकतन्त्रका मुख्य स्तम्भ मासिए, मुलुकका सम्पदा र सम्पत्तिको अपूरणीय क्षति भयो। समय भेड्किएपछि मात्र देखापरेका जेन-जीका अगुवा हौँ भन्नेमध्येका धेरैजसोले सार्वजनिक रूपमा कबुल गरे- राष्ट्रिय सम्पत्तिमा आगो लगाउने हाम्रो नीति र योजना थिएन।
थिएन पनि होला, तर यतिकसो जनधनको क्षतिको जिम्मा कसले लिने त? जसले अभियान/आन्दोलनको उद्घोष गर्यो त्यसैले दायित्वबोध गर्न सक्नुपर्छ। खालि ‘प्रदर्शनकारीहरूको बीचमा बाहिरका अपरिचित मानिस छिरेछन्’ भनेर पन्छिन कसरी सम्भव होला? सिङ्गो देश हाँक्ने जिम्मेवारीसम्म लिन सक्छौं भनेर अघि सरेको युवापङ्तिले आफ्नै अभियान ठीकसँग हाँक्न किन सकेनन्? जेन-जी समूहले गम्भीर आत्मसमीक्षा गरेर जन-जिज्ञासा सम्बोधन गर्नु अति आवश्यक छ।
परिपक्वताको कमी
घटनाक्रमले प्रष्ट पार्यो, जेन-जी भनिने युवापुस्तामा जोश र बल प्रशस्त रहेछ तर होश र सावधानी पर्याप्त रहेनछ। जनधनको ठूलो नोक्सानी बेहोरेपछि तिनमा देखिएको परिपक्वता सुशीला कार्कीमा प्रकट त भयो तर भदौ २७ गते उनको नेतृत्वमा गठित सरकारले युवापुस्ताका माग र आग्रह सम्बोधित हुने कुरामा सन्देह पैदा भइसकेको छ। किनभने फागुन २१ मा संसदीय चुनाव गराउने बाहेक भ्रष्टाचार नियन्त्रणलगायतका कुनै पनि दह्रो काम गर्ने कार्यादेश (म्यान्डेट) आफूसँग नभएको कुरो कार्की मुखबाट नेपालीजनले पटक-पटक सुनिसकेका छन्। भदौ २३-२४ का संघर्ष र बलिदानलाई ‘क्रान्ति’ ठानेकाहरूले हिस्स पर्नुपर्ने भएको छ।
यसबीच जेन-जी पुस्ता नै आपसी विवादमा तानिएका छन्, एक दर्जनभन्दा बढीको संख्यामा समूहीकृत भएका छन्। आरोप-प्रत्यारोपको सिलसिला चालू छ। एक समूहको अगुवाले अर्को समूहको भनाइ नमान्ने,नसुन्ने प्रवृत्ति देखापरेको छ जसले पाकाहरूको पुस्तालाई समेत चिन्तित गराउँदै छ। भनौं नाति-नातिनी पुस्ताका क्रियाकलापले बाबु र बाजेको पुस्ता पिरलोमा पारेका छन्। यस हरफको लेखकको २०६८ साल जेठमा जन्मेको नाति छ जसले परिवारको स्नेह र संरक्षणको अतिरिक्त दैनिक रूपमै मार्गदर्शनको अपेक्षा गरिरहेको हुन्छ। आठ कक्षाको विद्यार्थीले अरूका बारेमा त छोडौं, आफ्नै भविष्यका बारेमा समेत उचित निर्णय गर्न सक्दैन।
भन्नु परोइन, ‘जेन-जी’ मौलिक मान्यतामा आधारित उमेर समूह होइन। बाहिरबाट नेपालमा आयातीत सोच र शैली हो। स्पष्टै छ, यसमा सन् १९९७ देखियता २०१२ सम्ममा जन्मेका पुरुष र महिला पर्दछन् भनिएको छ। यसको सोझो अर्थ हुन्छ यस समूहमा १३ वर्षदेखि २८ वर्ष उमेरका नरनारी हुन्छन्। तर यो विभाजन कति वैज्ञानिक हो ? हाम्रो परिप्रेक्ष्यमा यो कति सुहाउँदो व्यवस्था हो। किनभने १६ वर्षसम्मका किशोर,किशोरी कानूनतः नाबालिग मानिन्छन् र यो नै मान्यता विश्वका अधिकांश देशको मान्यता हो।
नाबालिगको हातबाट कुनै अपराध वा अवाञ्छित काम भयो भने त्यो बाल-बिज्याञी मानिन्छ र दण्डको मात्रा पनि कम हुन्छ। र, तिनलाई कारागार (झ्यालखाना) मा थुनिँदैन, सुधारगृहमा राखिन्छ। ऐनकानूनहरू तदनुसार बनेका हुन्छन्। घर-परिवारमा नाबालिग बालक र बालिकालाई बाआमा वा अन्य अभिभावकको रेखदेखमा राखिन्छ। यसो गरेको ती नाबालिगमा आफ्नो सुरक्षा र भलाइबारे निर्णय गर्ने क्षमताको विकास भएको हुँदैन भनेर हो। यस्तै सामाजिक अवधारणाकै आधारमा ऐनकानूनहरूको निर्माण हुँदै आएको छ।
परन्तु यो यथार्थतिर आँखा चिम्लेर स्कूले पोशाकमा रहेका नाबालिग केटा-केटीलाई जुलुस प्रदर्शनमा लैजानु वा बाबु-आमाको अनुमतिबेगर बहकिन दुरुत्साहन गर्नु आफैंमा अपराध हो। १६-२८ वर्ष उमेर समूहका जेन-जी कहलिनेहरूले यसको उत्तर कसरी देलान् ? ढिलोचाँडो दिनु त पर्ने नै हुन्छ। नेपालको सन्दर्भमा, १६ वर्ष पुगेपछि नागरिकताको प्रमाणपत्र पाउने र १८ वर्षपुगेपछि चुनावमा मतदाता हुन पाउने कानूनी व्यवस्था गरिएको छ। बिहावारीको उमेर २० वर्ष नै हो। अर्थात् एक हिसाबले २० वर्ष पूरा नहोउञ्जेल छोरा-छोरीहरू नाबालिग नै कहलिन्छन्। तिनको सही रेखदेख गर्नु अभिभावकको पनि दायित्व हो। यसमा लापरबाही हुन, गर्न मिल्दैन। अहिलेसम्मको प्रचलन यही हो, हेरफेर भए त्यसै बखत यथोचित् हुने नै छ।
जेन-जी चल्मलाएको एक महिना बित्न लाग्यो। तर यसबीचका घटनाको लेखाजोखा त्यही समूहले मात्र गरेर हुँदैन, पुग्दैन। किनभने त्यसको असर एउटै उमेर समूहका मानिसलाई मात्र परेको छैन। बालिग, वयस्क, पाका, ज्येष्ठ नागरिक सबैलाई परेको छ। पीडा र वेदनाको अनुभव सर्वत्र छ। रोजगारी र अध्ययनको खोजीमा विदेशिएका नेपालीमा उस्तै व्यग्रता हुनु अपरिहार्य छ। राजनीति खल्बलिएको छ,सुरक्षा निकायहरू असमञ्जसमा परेका छन्। अर्थतन्त्रका परिसूचकहरू उत्साहप्रद हुने कुरै आएन।
बितेका तीन-चार सातायता सामाजिक सञ्जालभरि ‘जेन-जी’ हौँ भनेर परिचय खुलाउनेहरूका धारणा,भावना र आग्रहहरू छताछुल्ल भई पोखिएका छन्। उद्देश्य र लक्ष्य पवित्र छन् तर सार्वजनिक भएका श्रव्य-दृश्य सामग्री (विशेष गरेर भीडियोका अंश अर्थात् क्लिप) का केही नमूना टिपेर केलाउँदा जोशिला भाइबहिनीहरूमा देश-काल-परिस्थिति बुझ्ने र नेपालको इतिहास तथा भूगोलको बाध्यता ठम्याउने प्रयत्न हुन नसकेको देखिन्छ। इच्छा,आकांक्षा असीमित छन् तिनलाई पूरा गर्न नपाएको रिस, आवेग, प्रतिद्वन्द्विता सबैथोक मिसिएर बाहिर आएको छ।
नमूना
*कानूनको विद्यार्थी हुँ भन्ने एक किशोरीले ‘सुदन गुरुङको हैसियत के हो ?’ भनेर प्रश्न गर्ने क्रममा सरोबरी अंग्रेजी मिसिएको नेपालीमा भनिन् ‘हामी फुल (fool) होइनौं।’ अनि उनको जानकारीअनुसार सात सालको परिवर्तनको लगत्तै पछि बीपी प्रधानमन्त्री थिए, त्यस बखतको क्याबिनेट बैठकमा भारतीय राजदूत उपस्थित रहन्थे। ‘फरेन इन्भेजन’ को बाटो त्यसै बेला खुल्यो। (तथ्यः बीपी २०१६ सालमा मात्र प्रधानमन्त्री भएको)
*अर्का एक युवाको कथनः बालेन साह र सुशीला कार्कीको ‘कालो कर्तुत’ बाहिरिएको छ, उनीहरूको ४० लाख भूटानीलाई नागरिकता दिने योजना छ। (भूटानको जनसंख्या अहिले पनि १० लाख पुगेको छैन। २०४५-४६ सालतिर नेपालीभाषीलाई लखेट्दा पाँच लाखको हाराहारी हुँदो हो।)
*जेन-जी आन्दोलन हुँदा मिराज ढुङ्गानालाई तर्साएर भूमिगत बनाइयो। (शिकायत हो वा तथ्य हो,स्पष्ट छैन)
* एक जेन-जी फुत्त भिडियोमा देखापरेर भन्दै थिएः- एम्सीसी स्टिकर टाँसेका मोटर-गाडीहरूलाई जाँच नगर्नू भन्ने निर्णय भएको रहेछ। नेपालमा विदेशी सेना भित्र्याइएको छ। (सूचनाको स्रोत के हो, अत्तोपत्तो छैन)
*कासिम खान नाम बताउने जेन-जी भन्दैथिएः- शान्तिपूर्ण विरोध (पिस प्रोटेस्ट) गर्ने योजना हो, बिगार्ने भत्काउने (डेस्ट्रोय) गर्ने उद्देश्य थिएन। (कसको उद्देश्य थिएन?)
*जेन-जी बारे जानकार हौं भन्ने एकजनाको कथन यस्तो थियोः- बालेन नेपालीका मेयर होइनन्। भारतीय दूतावास र अमेरिकी दूतावास धाए मात्र मन्त्री हुन पाइने।
*भदौ २३ गतेको घटनामा कल्कलाउँदो उमेरको छोरो गुमाएका पिताको पीडा यसरी पोखिएको थियोः- एउटा छोरो त गयो गोली लागेर, म अर्को …गोलीको लागि यहाँ छाती थाप्न तयार छु।
माथि उल्लेख भएका कुरा भिडियोमा उपलब्ध केही अंश (क्लिप) मात्र हुन्, तर यतिले नै औसत नेपालीलाई रनभुल्लमा पर्छ। अनि प्रश्न उठ्छः- यो जेन-जी अभियानका असली सञ्चालक को हुन् त ? किन प्रकट हुँदैनन् ? रहस्यमाथि रहस्यको पत्रैपत्र भएको निष्कर्ष निस्कन्छ। जेन-जी आन्दोलनको आडमा सत्तारुढ भएकाहरूको भनाइ के छ?
भनिन्छ, जेन-जीमध्ये एकथरी हिन्दू अधिराज्य कायम नगराईकन नछोड्ने, अर्कोथरी धर्मनिरपेक्ष संविधान कायम राखेर सुशीला कार्कीको रेखदेखमा गराइने निर्वाचनबाट सन्तुष्ट हुने र तेस्रो समूहचाहिँ संविधान खारेज गरेर नयाँ थिति बसेपछि मात्र विश्राम लिने अडानमा छन्। स-साना स्वार्थसमूहका माग-दाबी बेग्लाबेग्लै होलान्। यस क्रममा क-कसले कता-कताबाट आड भरोस पाएका हुन् त्यतैतिर मुखापेक्षी भएको अनुमान गर्न सकिन्छ; पृष्ठभूमि नियाल्दा अडकल गर्न गाह्रो छैन।